दोहोरो अर्थ लाग्ने गीतको बढ्दो प्रवृत्तिले सिर्जनात्मक स्वतन्त्रता, सामाजिक उत्तरदायित्व र नयाँ पुस्तामाथिको प्रभावबारे प्रश्न र बहस सुरु भएको छ ।
What you should know
काठमाडौँ — समाजका पीडा, प्रेम, संघर्ष र परिवर्तनका कथा सुनाउने नेपाली गीत-संगीत अहिले धेरैजसो भ्युज, भाइरल र बजारको प्रतिस्पर्धामा छन् । दोहोरो अर्थ लाग्ने शब्द, उत्तेजक प्रस्तुति र सस्तो लोकप्रियताको होडले सिर्जनात्मक स्वतन्त्रता र सामाजिक जिम्मेवारीबीचको बहसलाई झन् तीव्र बनाएको छ ।
केही दिनअघि मात्रै दुर्गेश थापाको 'मास्टर्नी' गीत सार्वजनिक भएलगत्तै लाखौं दर्शकमाझ पुग्यो । यसमा प्रयुक्त पात्र र द्विअर्थी शब्दले आलोचना बढ्दै गयो । सामाजिक सञ्जाल पक्ष र विपक्षमा विभक्त भयो । यतिसम्म नेपाल शिक्षक संघले शिक्षिकाको मर्यादामाथि चोट पुर्याएको भन्दै विज्ञप्ति नै जारी गर्नुपर्यो ।
गीतलाई लिएर धेरै विवाद आएपछि दुर्गेशले दर्शकसामु माफी माग्दै उक्त भिडियो आफ्नो युट्युब च्यानलबाट हटाए । तर टिकटक, फेसबुक प्रयोगकर्ताहरु भने यही गीतमा टिकटक, रिल्स बनाइरहेका देखिन्छन् ।
यो त प्रतिनिधि गीत मात्रै हो, पछिल्ला वर्ष नेपाली गीतसंगीतमा समाज र परिवारले पचाउन नसक्ने यस्ता अनेक गीत नै 'भाइरल बन्ने प्रवृत्ति बढ्दो छ ।
गायिका लोचन भट्टराई अहिलेका केही गीत बजारमुखी र छिटो लोकप्रियता कमाउने उद्देश्यले बनाउने गरिएको बताउँछिन् । ‘हाम्रो समयमा साधना, रियाज, शब्दको छनोट, संगीतको अध्ययन र मेहनतपछि मात्रै गीत रेकर्ड गरिन्थ्यो । अहिले छिटो लोकप्रियता कमाउन डबल मिनिङका शब्द धेरै प्रयोग हुन थालेका छन्,’ उनले भनिन्,‘यसको मुख्य कारण भ्युज, लोकप्रियता र पैसा नै हो । अहिले धेरैलाई तुरुन्तै भाइरल हुनुपर्छ, मानिसले चिन्नुपर्छ भन्ने चाहना छ । हामीलाई कलाप्रति लगाव र रुचि थियो । सबैले चिनून् भन्ने थिएन ।’
क्षणिक सफलता कमाउने निहुँमा जस्ता पनि सिर्जना हुन हुन थालेको उनलाई लाग्छ । ‘गीतसंगीतले समाजमा गहिरो प्रभाव पार्छ । यसको कलाकार भन्दा पनि सामाजिक सभ्यतामा असर पार्छ,’ उनले भनिन्, ‘समाजलाई कसरी अघि बढाउने, नयाँ पुस्तालाई कसरी सभ्य र जिम्मेवार बनाउने भन्नेमा गीतसंगीतको महत्वपूर्ण भूमिका हुन्छ । तर अहिले धेरैले त्यसबारे खासै सोचिरहेको देखिँदैन ।’
समाजमा परिवर्तन गर्न सक्ने क्षमता कलाकारमा हुने उनको बुझाइ छ । ‘गीत भनेको ठट्टा मात्र होइन । गीतसंगीत र साहित्य समाजका संवाहक हुन् । यिनले समाजलाई कुन बाटोमा हिँड्ने भन्ने दिशा दिन सक्छन्,’ उनले भनिन्, ‘विचार र चेतनामा परिवर्तन ल्याउने शक्ति कला, साहित्य र गीत, संगीतसँग हुन्छ ।’
उनी गीतसंगीतको प्रभावलाई स्लो पोइजनसँग तुना गर्छिन् । संगीतकै कारण बालबालिकामा नकारात्मक असर पर्ने, समाजमा विकृति बढ्ने र महिला हिंसामा वृद्धि हुने समस्या पनि आउन सक्ने उनी बताउँछिन् ।
संगीतकर्मीहरूका अनुसार यस्तो प्रवृत्ति कुनै एक कलाकार वा एउटा गीतमा सीमित छैन । डिजिटल प्लेटफर्ममा छोटो समयमै धेरै दर्शक तान्ने प्रतिस्पर्धाले गीतको शब्द, प्रस्तुति र विषयवस्तुमै परिवर्तन ल्याइरहेको उनीहरूको बुझाइ छ । तर यसको प्रभाव लोकप्रियतामा मात्र सीमित नरही समाज र नयाँ पुस्ताको सोचमा समेत पर्ने चिन्ता बढ्दै गएको छ ।
गीतसंगीतले दिएको सन्देशले आउँदो पुस्ताका लागि ठूलो महत्व राख्ने गायक कुलेन्द्र विश्वकर्मा बताउँछन् । ‘अहिले आएका केही गीतमा डबल मिनिङ मिसाउनुका पछाडि छोटो समयको लोकप्रियता, युट्युब भ्युज र विशेषगरी पैसा कमाउने उद्देश्य हो,’ उनले भने, ‘यस्ता गीतले सबैभन्दा बढी नकारात्मक असर नयाँ पुस्ता र साना बालबालिकामा पार्छ । गलत अर्थ लाग्ने गीतले कस्तो सन्देश दिएका छ भन्ने सोच्नुपर्ने कुरा हो ।’
दोहोरो अर्थ लाग्ने गीतलाई प्राथमिकता नदिन र प्रचारमा सहयोग नपुर्याउन हरेक मान्छे आफै सचेत हुनुपर्ने उनी बताउँछन् । ‘तर त्यस्तै गीतले स्थान पाएका छन् । कलाकारलाई ठूला स्टेज, प्लेटफर्म र ब्रान्डसँग जोडेर थप प्रचारप्रसार गर्नु दु:खद हो । यसले गलत प्रवृत्तिलाई अझ बढावा दिन्छ र समाजमा नकारात्मक प्रभाव विस्तार हुन्छ,’ उनले भने, ‘त्यसैले यस्ता कलाकारलाई समाजले प्रोत्साहन गर्नु हुँदैन ।’
गीत सिर्जना गर्दा समाजमा त्यसले पार्ने प्रभावदेखि लिएर धेरै कुराको ख्याल गर्नुपर्ने उनी बताउँछन् । ‘गीतले समाजका पीडा, दुःख, माया, प्रेम र जनजीवनका वास्तविक भाव बोल्न सक्छन् । यस्ता सिर्जनाले सन्देश पनि दिन्छन् र छिट्टै आममानिससम्म पुग्छन्,’ उनले भने, ‘साहित्यिक, मर्यादित र समाजले स्वीकार गर्ने भाषामा पनि उत्कृष्ट गीत सिर्जना गर्न सकिन्छ ।’
गीतसंगीत परिवारका सबै सदस्य बसेर आनन्द लिन सक्ने माध्यम भएको कारण सर्जकले उमेर समूहले सहज रूपमा हेर्न, सुन्न र स्वीकार गर्न सक्ने विषयवस्तु र भाषा प्रयोग गर्नुपर्ने उनी बताउँछन् ।
गीतको भाषामाथिको बहससँगै त्यसले समाजमा निर्माण गर्ने दृष्टिकोणबारे पनि प्रश्न उठ्न थालेका छन् । विशेषगरी महिलाको प्रस्तुति, लैंगिक भूमिकाको चित्रण र दोहोरो मापदण्डबारे अधिकारकर्मीहरूले लामो समयदेखि आवाज उठाउँदै आएका छन् ।
पितृसत्तात्मक सोच अहिलेका गीतहरुमा बढी देखिन थालेको महिला अधिकारकर्मी रीता साहको टिप्पणी छ । ‘हाम्रो समाज, राज्य र परिवार पितृसत्तात्मक सोच, संरचना र मूल्यमान्यताबाट प्रभावित छन् । त्यसको झल्को फिल्म, गीत–संगीत, जोकसम्म पनि देखिन्छ,’ उनले भनिन्,‘फिल्ममा महिलालाई कमजोर र पुरुषको संरक्षण आवश्यक पर्ने पात्रका रूपमा प्रस्तुत गरिन्छ भने धेरैजसो गीत महिलाको शरीर र यौनिकतालाई केन्द्रमा राखेर बनाइएका हुन्छन् । यसले महिलालाई उपभोगको वस्तुका रूपमा हेर्ने मनोविज्ञान निर्माण गर्छ ।’
गीतसंगीतमा पनि महिला र पुरुषमा दोहोरो मापदण्ड लाग्ने गरेको उनको भनाइ छ । ‘एउटा गीतमा पुरुषले श्रीमती हुँदाहुँदै सालीलाई जिस्काउँदा समाजले सहज रूपमा स्वीकार गर्छ,’ उनले भनिन्, ‘तर महिलाले त्यही शैलीमा देवरबारे गीत गाइन् भने उनलाई चरित्रहीन भनिन्छ । यही दोहोरो मापदण्डले समाजमा महिलाप्रतिको दृष्टिकोण निर्माण गर्छ ।’
अहिले प्रायः गीतसंगीतमा सिर्जनात्मक अभिव्यक्तिभन्दा पनि बजारमुखी र महिलालाई वस्तुकरण गर्दै जाने प्रवृत्ति देखिएको उनले बताइन् । ‘महिलाको शरीरलाई केन्द्रमा राखेर गीत बनाउने, त्यसलाई भाइरल बनाउने र आर्थिक लाभ लिने प्रवृत्ति बढेको छ,’ उनले भनिन्, ‘मास्टर्नीजस्ता गीतको विवादले पनि यही प्रवृत्ति देखाउँछ । यस्ता सामग्री नै समाजले रुचाउँछ भन्ने विश्वासका कारण निर्माण भइरहेका छन् ।’
कुनै गीत बारम्बार सुन्दा त्यसका सन्देश सामान्य लाग्न थाल्ने र त्यसले समाजमा हिंसा तथा असमानतालाई पनि सामान्यीकरण गर्ने जोखिम हुने उनको भनाइ छ । महिलालाई वस्तुकरण गर्ने अभिव्यक्ति र उत्तेजक दृश्य बढ्दै जानु पीडाको विषय रहेको साह सुनाउँछिन् ।
यस्ता गीत किन निरन्तर बनिरहेका छन् भन्ने प्रश्नमा कलाकारलाई मात्र दोष दिन पर्याप्त नहुने संगीत क्षेत्रका अगुवाहरू बताउँछन् । उनीहरूका अनुसार डिजिटल बजार, व्यावसायिक दबाब र प्रभावकारी नियमनको अभावले पनि यस्तो प्रवृत्तिलाई बढावा दिएको छ ।
राज्यको ठोस नीति नभएका कारण गीतसंगीतमा मनपरी देखिन थालेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगर बताउँछिन् । ‘दोहोरो अर्थ लाग्ने गीत बढ्नुको कारण कलाकार मात्र होइनन् । सानो संगीत बजार, सामाजिक सञ्जालमा भ्युज र लाइकको प्रतिस्पर्धा, व्यावसायिक दबाब र राज्यको प्रभावकारी नियमनको अभाव पनि उत्तिकै जिम्मेवार छन्,’ उनले भनिन्, ‘कलाकार बजारमा बिक्न र टिक्न चाहन्छन्, तर लोकप्रियताको नाममा मौलिकता र नैतिकता गुमाउनु दीर्घकालीन रूपमा नेपाली संगीतकै लागि घातक हुन्छ । असल सिर्जनालाई प्रवर्धन गर्ने, विकृतिलाई निरुत्साहित गर्ने र प्रभावकारी नियमन गर्ने राज्यको ठोस नीति देखिँदैन ।’
डिजिटल माध्यम र सार्वजनिक मञ्चमा देखिने भद्दा तथा अश्लील सामग्री नियन्त्रण गर्न प्रतिष्ठान सरकारसमक्ष धेरै पटक गएको उनी सुनाउँछिन् । ‘प्रतिष्ठानले गृह मन्त्रालय, साइबर ब्युरो र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग समन्वय गर्दै अश्लील, भद्दा र सम्प्रदायलाई असर पार्ने गीत बनाउनेलाई कानुनबमोजिम कारबाहीको माग गर्दै आएको छ,’ उनले भनिन्, ‘उहाँहरुलाई भेटेर नेपाली लोक तथा दोहोरी संगीत क्षेत्रका अवसर, चुनौती र समग्र अवस्थाबारे जानकारी गराएका थियौँ ।’ नेपाली संगीतको भविष्य बचाउन कलाकार, श्रोता र राज्य सबैको समान जिम्मेवारी आवश्यक रहेको उनको भनाइ छ ।
समाजशास्त्रीहरू भने यो परिवर्तनलाई गीतसंगीतको मात्र समस्या मान्दैनन् । उनीहरूका अनुसार संगीत समाजबाट अलग अस्तित्व होइन । समाज, प्रविधि र बजारमा आएको परिवर्तनको प्रभाव गीतका विषय, भाषा र प्रस्तुतीमा स्वाभाविक रूपमा देखिन्छ ।
अहिलेका गीतसंगीत क्षणिक मनोरञ्जनका माध्यम बनिरहेको बताउँछिन्, त्रिभुवन विश्वविद्यालयकी समाजशास्त्री मेनुका केसी । नयाँ पुस्ता समाजलाई शब्दले कस्तो प्रभाव पार्छ भन्दा पनि स्वकेन्द्रित बन्दै गएको उनको बुझाइ छ । ‘अहिलेको समाज परम्परा धान्नेभन्दा पनि सेल्फ–फोकस्ड छ, जहाँ नयाँ पुस्ताले आफ्नो खुसीलाई प्राथमिकता दिन्छ,' उनी भन्छिन्, 'दर्शकको ध्यान तुरुन्तै तान्न र सामाजिक सञ्जालमा भाइरल हुनका लागि अहिले दोहोरो अर्थ लाग्ने वा जिस्क्याउने खालका गीत बढी बनाइने गरेको छ ।'
समाज जस्तो हुन्छ, गीतले पनि त्यही समाजलाई प्रतिनिधित्व गर्छ भन्छिन् उनी । त्यसैले समाजले सहज रूपमा स्वीकार्न नसक्ने, अपाच्य वा गलत सन्देश दिने विषयलाई मनोरञ्जनका नाममा सामान्य बनाउँदा त्यसले विशेषगरी नयाँ पुस्ताको भाषा, सोच र व्यवहारमा असर पार्न सक्ने उनको भनाइ छ । ‘पुराना गीतमा सुनिने पीडा र संघर्ष करिब ४० वर्षअघिको पुस्ताको भोगाइ थियो । त्यसयता समाजमा शिक्षाको क्षेत्र विस्तार भएको छ,’ उनले भनिन्, ‘सरकारले महिला शिक्षालाई प्राथमिकता दिने नीति लिएपछि उनीहरूमा चेतना बढ्यो, जसले गर्दा गीतका विषयवस्तुमा पनि क्रमिक परिवर्तन आएको पनि देखिन्छ ।’ विगतमा संयुक्त परिवारमा रहँदा बुहारीहरूले भोग्नुपर्ने दबाब र माइती जाँदा मात्र पाइने स्वतन्त्रताका कारण दुःखका गीत सिर्जना हुने गरे पनि अहिले स्वतन्त्रताका गीत बज्नु सकारात्मक रहेको उनी सुनाउँछिन् ।
पछिल्ला वर्षमा विवादित बनेका गीतहरूको सूची हेर्दा यो बहस नयाँ होइन भन्ने देखिन्छ । फरक यति हो कि सामाजिक सञ्जालको विस्तारसँगै यस्ता गीत केही घण्टामै लाखौं दर्शकमाझ पुग्छन् र त्यसको समर्थन तथा विरोध दुवै तीव्र रूपमा देखिन्छ । यसले सिर्जनात्मक स्वतन्त्रता, सामाजिक उत्तरदायित्व र बजारको प्रभावबीचको बहसलाई थप जटिल बनाएको छ ।
गत वर्ष शान्तिश्री परियारको स्वरमा रहेको ‘बिस्ताराले पोल्यो’ गीत पनि विवादित बन्यो । शान्तिश्रीले विज्ञप्ति जारी गर्दै दर्शक र दोहोरी प्रतिष्ठानसँग माफी मागेकी थिइन् । कुमार बस्नेतको पुरानो गीत 'आमाभन्दा छोरी तरुनी'माथि पनि बेलाबेला विमर्श भई नै रहन्छ । त्यो समयमा मनोरञ्जन र ठट्टाका रुपमा हेरिए पनि अहिले पहिचान, समानता र लैङ्गिक चेतनाबारे समाज बढी सचेत र बलियो बन्दै गएकाले ती गीतमाथि पनि विश्लेषण हुनुपर्ने अध्येताहरु बताउँछन् ।
मानवशास्त्री विष्णु अधिकारी अहिलेको व्यवस्थामा संगीत सिर्जना गर्नु भनेको पुँजीवादी उत्पादन चक्रमा एउटा वस्तु उत्पादन गर्नु रहेको टिप्पणी गर्छन् । ‘हिजो समाज सामन्ती व्यवस्थामा हुँदा राजा-महाराजाका प्रशस्तीगान, भक्ति उपासनाका गीत मूलधारमा हुन्थे, अहिलेको व्यवस्थामा संगीत होइन वस्तु उत्पादन भइरहेको छ ।'
संगीत पूर्ण रूपमा पृथक् नभई हाम्रो समग्र सामाजिक व्यवस्थाकै एक अंश रहे पनि प्रत्येक व्यवस्थामा संगीत सिर्जनाको उद्देश्य र तरिका फरक हुने उनी बताउँछन् । ‘यहाँ गीतको सामाजिक, सांस्कृतिक, सौन्दर्यात्मक मूल्यको अन्त्य हुन्छ र भ्युज, वाच टाइम, सेयर आदिमार्फत कति पैसा र चर्चा कमायो भन्ने नयाँ मूल्यको मानक तयार हुन्छ,’ उनले भने, ‘सर्जकले त्यही मूल्यका खातिर संगीत सिर्जना गर्ने हो । यसका लागि गीतमा छाडा र द्विअर्थी शब्दको प्रयोग एउटा सजिलो उपाय बनेको छ ।’
पुँजीवादी मूल्यमा सचेतनात्मक गीतको चर्चा नहुने गरेको विडम्बनाप्रति उनी चिन्तित छन् । 'सर्जक यही अर्थ–राजनीतिक व्यवस्थाका उपज हुन्,’ उनले भने, ‘तर समाजको स्वास्थ्यलाई हानि नपुर्याउने, सचेत बनाउने, आशावादी बनाउने संगीत राजनीतिक रुपमा सचेत सर्जकले मात्र सिर्जना गर्न सक्छ तर पुँजीवादी मूल्यका मानकभित्र यी गीत नपर्न सक्छन् ।’
