आफैं दिग्भ्रमित च्याट जीपीटी

च्याट जीपीटीका अनेक कमजोरीमध्ये मनगढन्ते साइटेसनलाई प्रमुख मानिएको छ । यसले त्यस्ता झूटा लिंक र साइटेसन उपलब्ध गराउँछ, जसलाई मेसिन लर्निङको भाषामा ‘हलुसिनेसन’ वा ‘होसमा नहुने’ कार्य भनिन्छ ।
सजना बराल

काठमाडौँ — करिब पाँच महिनाअघि च्याट जीपीटी सार्वजनिक भएयता बेलायतको द गार्डियन पत्रिकामा छापिएका पुराना लेखबारे खोजी गर्न धेरै अध्येता, विद्यार्थी र अनुसन्धानकर्ता पत्रिकाको कार्यालय पुगेका छन् ।

फलानो पत्रकार वा लेखकले लेखेको फलानो शीर्षकको लेख आर्काइभबाट झिकिदिन उनीहरू आग्रह गर्छन् । तर धेरै पटक यस्तो भएको छ, उनीहरूले मागेका लेख भने आर्काइभमा भेटिँदै–भेटिँदैनन् ।

‘विशेषतः डिलिट गरिएका वा कानुनी मुद्दासँग जोडिएका र बाँकी सबै सामग्रीहरूको हामीले विस्तृत रेकर्ड राख्ने गरेका छौं,’ द गार्डियनको एडिटोरियल इन्नोभेसनका प्रमुख क्रिस मोरन भन्छन्, ‘तैपनि केही लेख कसै गरी फेला परेनन् । किन होला ? किनभने ती लेख कहिल्यै लेखिएकै थिएनन् ।’ क्रिसका अनुसार च्याट जीपीटीले कहिलेकाहीं यस्ता स्रोत सामग्री निर्माण गरिदिन्छ, लेखक स्वयं आफूले लेखेको हो कि होइन भनेर झुक्किन्छन् । उनीहरूले लेख्दै आएका विषयमा उस्ता–उस्तै देखिने झूटो स्रोत सामग्री तयार गरिदिने भएकाले लेखक दोधारमा पर्छन् ।

च्याट जीपीटीले दिएको स्रोत सामग्रीहरूको सूचीमा आफ्नो आर्टिकल समावेश भएको भन्दै द गार्डियनकै एक पत्रकारले उक्त आर्टिकल आर्काइभमा हेर्न खोजेका थिए । धेरै तरिकाले खोजी गर्दा पनि नभेटिएपछि उनी अचम्ममा परे । निकै दिन घोत्लिएपछि उनले त्यो आर्टिकल आफूले कहिले पनि नलेखेको बुझे । द गार्डियन मात्रै होइन, अन्य सञ्चारमाध्यममा आबद्ध पत्रकार र स्वतन्त्र लेखकहरूले समेत च्याट जीपीटीले बटुलेका स्रोत सामग्रीहरूमा आफ्ना नाम जोडिएको फेला पारेका छन् । रुसी–अमेरिकी पडकास्टर लेक्स फ्रिडम्यानका कडा आलोचकहरू को–को हुन् भनेर खोजी गर्दा च्याट जीपीटीले लेखक केट क्रफोर्डसँग जोडिएका लिंक र साइटेसन उपलब्ध गराउँछ । ती सबै साइटेसन बनिबनाउ भएको क्रफोर्डले मिडियाहरूलाई बताएकी छन् ।

च्याट जीपीटीका अनेक कमजोरीमध्ये मनगढन्ते साइटेसनलाई प्रमुख मानिएको छ । यसलाई मेसिन लर्निङको भाषामा ‘हलुसिनेसन’ वा ‘होसमा नहुने’ कार्य भनिन्छ । यस्ता हलुसिनेटेड साइटेसनहरू आधिकारिक वा विद्वत् देखिने भए पनि ती वास्तविक नहुने ड्युक विश्वविद्यालयकी लाइब्रेरियन हाना रोजियरले बताएकी छन् । ‘जसरी पूर्ण रूपमा होसमा नभएको व्यक्तिले आत्मविश्वासका साथ तर्कहीन कुराहरू बोल्न सक्छ, आर्टिफिसियल इन्टेलिजेन्सले पनि आवश्यक तथ्यहरूबेगर नै प्रतिक्रियाहरू उपलब्ध गराउन सक्छ भन्ने कुरा हामीले याद गर्नुपर्छ,’ विश्वविद्यालयकै वेबसाइटमा हानाले लेखेकी छन्, ‘एआईले उपलब्ध गराएका स्रोतहरूबारे गुगल वा लाइब्रेरीमा खोजी गर्‍यो भने केही पनि नभेटिन सक्छन् ।’

च्याट जीपीटी हामीकहाँ पनि अचेल असाध्यै प्रयोग गरिने एआई टुल बनेको छ । विद्यालयको गृहकार्यदेखि पीएचडीका विद्यार्थीले शोधपत्र लेख्नलाई समेत च्याट जीपीटीको मद्दत लिने गरेको अनुभव सुनाउँछन् । अनुसन्धाताहरू पहिले–पहिले माइक्रोसफ्ट वर्डमा एक–एक विवरण राखेर म्यानुअल्ली रिफरेन्स लेख्दा झन्झट हुनेमा अहिले च्याट जीपीटीका कारण सहज भएको बताउँछन् । ’आफूलाई जुन फर्म्याटमा चाहिएको हो, त्यही फर्म्याटमा च्याट जीपीटीले साइटेसन तयार गरेर दिन्छ,’ त्रिभुवन विश्वविद्यालयका एक छात्रले भने, ‘पहिला साइटेसन खोजेर त्यहीअनुसार लेख्यो भने सजिलो हुन्छ । नत्र आफूले खोजेका सूचनाको स्रोत र यूआरएलहरूको सूची माग्न सकिन्छ । पछि त्यसैलाई साइटेसन गर भनेर पनि निर्देशन दिन मिल्छ ।’

आफूले लेखिरहेको स्नातकोत्तरको शोधपत्रको लिटरेचर रिभ्युका लागि च्याट जीपीटीको भर परिरहेको अर्की एक विद्यार्थीले बताइन् । पत्रकारिता संकायकी उनले पुस्तकालय धाएर वा वेबसाइट चहार्नुको सट्टा आफ्ना रिसर्च क्वइस्चन र हाइपोथेसिसअनुसारका विवरण च्याट जीपीटीमा खोजेर त्यसलाई मिलाउन छिटो र सहज हुने अनुभव सुनाइन् । ‘त्यसले साइट गरेका किताब र डकुमेन्टहरू गुगलमा सर्च गरेर भेरिफाइ गर्ने गरेकी छु,’ उनले भनिन्, ‘जस्ताको त्यस्तै कपी–पेस्ट गर्ने, क्रसचेक नगर्नेहरूलाई मात्र नराम्रो हो, अलि होस पुर्‍याएर प्रयोग गर्‍यो भने च्याट जीपीटीले काम सरल बनाइदिन्छ ।’

शैक्षिक प्रयोजनका लागि एआईको नैतिक प्रयोगबारे लेखहरू लेख्ने र शैक्षिक लेखनलाई सरलीकृत गर्न सिकाउने फुलब्राइट स्कलर मुस्तक बिलाल शैक्षिक लेखनका लागि च्याट जीपीटी प्रयोग नगर्ने सल्लाह दिन्छन् । केही दिनअघि मात्रै उनले यस विषयमा लेखेको ट्वीट थ्रेड निकै चर्चित भएको थियो । ‘च्याट जीपीटी शैक्षिक प्रयोजनका लागि बनाइएको होइन र यसले झूटो साइटेसन जेनेरेट गर्छ,’ उनले लेखेका छन्, ‘त्यसको सट्टा एआईमै आधारित एक एडिटर टुल माइक्रोसफ्ट वर्डमा इन्स्टल गर्न सकिन्छ ।’

बिलालले सिंगापुरस्थित क्याक्टस कम्युनिकेसन्सले बनाएको पेपरपाल नामक एआई ल्यांग्वेज टुल प्रयोग गर्न सुझाउदै त्यसलाई वर्डमा इन्स्टल गर्ने तरिका पनि उल्लेख गरेका छन् । एड–इन्सका रूपमा इन्स्टल भएपछि पेपरपालले सम्पादनका लागि सुझाव दिनुका साथै भाषा अनुवादसमेत गरिदिन्छ । महिनामा ५ सयवटा सुझाव निःशुल्क उपलब्ध गराउने यो टुलले हाल २५ वटा भाषा अनुवाद गर्ने कम्पनीले जनाएको छ । प्रति पान्डुलिपि २९ अमेरिकी डलर खर्च गरेमा यसले भाषा, शुद्धाशुद्धी, तथ्यगत त्रुटिलगायतमा सम्पादनका लागि सुझाव दिन्छ ।

‘एआई भनेको कुनै जादुको छडी होइन,’ पेपरपलका प्रमुख प्रविधि अधिकृत निश्चय शाहले भनेका छन्, ‘यसले गर्ने सबै छाँटकाँट विवेकसम्मत नहुन सक्छ । यसले दिएका सुझावमा अनुसन्धानकर्ताले आफ्नो पनि विवेक प्रयोग गर्नुपर्छ । तर तीन चौथाइ सुझाव सही ठाउँमा हुन्छन् र यसलाई थप सुदृढ बनाउन हामी काम गरिरहेका छौं ।’ पेपरपालसँगै ग्रामर्ली, राइटफुल, डीपएल ट्रान्सलेटजस्ता टुलले पनि शैक्षिक लेखनमा सघाउन सक्ने उनको सुझाव छ ।

(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित : वैशाख ३, २०८० ११:३४
प्रतिक्रिया
पठाउनुहोस्

थला परे पुतली बाजे

गोविन्द पोखरेल, दीपक परियार

पोखरा — नेपालमा पाइने पुतलीहरूको अभिलेखीकरण गर्नेमा कोलिन स्मिथको नाम पहिलो नम्बरमा आउँछ । पुतली बाजे भनिने स्मिथले पुतलीको खोजीमा ५० वर्ष बिताए । उनी केही २ वर्षयता बिरामी छन् । स्वास्थ्य बिग्रँदै गएपछि पोखराको हरियोखर्क अस्पताल धाइरहेका छन् । स्मरण शक्ति घटेको छ । बोलेको कुरा एकै क्षणमा बिर्सन्छन् । 

८६ वर्षीय स्मिथ २०२२ सालमा नेपालमा नेपाल आएका थिए । युनिभर्सिटी अफ लन्डनबाट एमएस्सी सकेर त्यहींको विश्वविद्यालय अध्यापन गराउने क्रममा उनी युनाइटेड मिसन टू नेपालमार्फत पढाउनका लागि भनेर आएका थिए । गोरखाको अमरज्योतिमा पढाएका थिए । सानैदेखि पुतली संकलन गरेर जम्मा गरेका स्मिथले डोरोथी मिरोकोसँग सहकार्य गरेर पुतली संग्रहालयका लागि पुतली संकलन गरेका थिए । स्मिथले नेपालको प्राकृतिक विज्ञान संग्रहालयमा राखिएको पुतली उनले संकलन गरेका हुन् । उक्त संग्रहालय स्थापनाका लागि उनले २५ हजारभन्दा बढी पुतली संकलन गरिदिए । त्यही मेसोमा मुलुकका ४० भन्दा बढी जिल्लाहरू घुमे । स्मिथले लामो समय पुतलीको अध्ययन र अनुसन्धानमै बिताए ।

‘चार महिनायता झन् गाह्रो हुन थालेको छ । मुत्र नलीमा पाइप राखेर पिसाब संकलन गर्नुपर्छ । उहाँ अब सधैंलाई ओछ्यानमै बस्नुपर्ने बाध्यता छ,’ उनका सहयोगी मीनबहादुर परियारले भने । बुढ्योलीसँगै स्मिथको स्वास्थ्य कमजोर भएको छ । पुतली खोज्दै जीवन बिताएका कोलिनले बिहे गरेनन् । आफन्तसँग बेलाबेला कुराकानी हुने मीनबहादुरले बताए । कोलिनका दाजुका नातिहरूले बेलाबेला फोन गर्छन् । एक नातिले उनको नेपाल र बेलायत बसाइका बारेमा जीवनी लेख्दै छन् । हजुरबा भेट्न ती नाति केही महिनाअघि भेट्न नेपाल आएका थिए । परियार ३५ वर्षदेखि स्मिथसँगै छन् ।

जीवनको ऊर्जाशील समय नेपालमा खर्चेका स्मिथ नेपाली नागरिकता चाहन्थे । योगदानको कदर गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले २०७६ मंसिर १६ मा मानार्थ नेपाली नागरिकता प्रदान गर्दा उनी औधी खुसी भएका थिए । नेपाल सरकारले मानार्थ नागरिकता प्रदान गरेको उनी तेस्रो व्यक्ति हुन् । त्यसअघि अन्वेषक एवं भूगोलविद् टोनी हेगन र पर्वतारोही एडमन्ड हिलारीलाई नेपाल सरकारले मानार्थ नागरिकता दिएको थियो ।

प्रकाशित : वैशाख ३, २०८० ११:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×