प्रयोगपछि रोप्न मिल्ने क्यालेन्डर

चैत्र ३०, २०७९

बुनु थारु

काठमाडौँ — घरमा प्रयोग भइसकेका क्यालेन्डर यत्तिकै थुपारिन्छ वा फालिन्छ । तर प्रयोग भइसकेका क्यालेन्डरलाई पनि रोप्न मिल्छ भन्दा अचम्म लाग्ला । २८ वर्षीय निखिल अग्रवाल र २७ वर्षीय अरुण अग्रवालले ‘सिड पेपर क्यालेन्डर’ ल्याएका छन् । निखिल आर्किटेक्ट हुन् भने अरुण इन्जिनियर । उनीहरूले यही नयाँ वर्ष लक्षित गरेर प्लान्टेबल इको क्यालेन्डर ल्याउन लागेका हुन् । 

७ वर्षदेखि ‘मस्तकला’ नामक कर्पोरेट तथा पर्सनलाइज्ड गिफ्ट कम्पनी चलाइरहेका उनीहरूले वातावरणमा सकारात्मक प्रभाव पार्ने उद्देश्यले यो क्यालेन्डर ल्याएको बताए । कम्पनीका सहसंस्थापक निखिल भन्छन्– ‘आफ्नो आशा, आकांक्षा, कृतज्ञता र प्रेमको साथ यो क्यालेन्डर रोप्नुहोस् र यसलाई सुन्दर हरियो बोटमा फुलेको हेर्नुहोस् ।’

जब क्यालेन्डरको आवश्यकता सिद्धिन्छ, यसलाई माटोमा रोप्न सकिन्छ, र बीउ स्वस्थ बिरुवाहरूमा अंकुरिने उनले बताए । यो पेपर क्यालेन्डर पुनः प्रयोग गरिएको कपासको कपडाबाट बनाइएको हो जसमा तुलसी, सयपत्री र टमाटरको बीउहरू समावेश छन् । चिन्न सजिलो होस् भनेर क्यालेन्डरमा बिरुवाको चित्र पनि बनाइएको छ । सानो र ठूलो गरी दुई आकारमा बनाइएको क्यालेन्डर टेबलमा राख्न मिल्ने खालको बनाइएको छ ।

निखिल भन्छन्– ‘रूखबाट कागज बन्छ तर हामीले कागजबाट रुख (बिरुवा) बन्न मिलोस् भन्ने सोच्यौँ । रिसाइकल भइराखोस् ।’ प्रयोग भइसकेको क्यालेन्डरलाई कोकोपिट र मलको साथ मिश्रित माटोको पातलो तहमुनि राख्नुपर्छ । त्यसपछि हल्का ओसिलो बनाइ घाममा राखेपछि केही समयमा बिरुवा अंकुरिन्छ ।

विदेशमा प्लान्टेबल क्यालेन्डरको प्रयोग भइरहेको भए पनि नेपालमा भने यो पहिलो प्रयोग भएको यी दुई युवाहरूको दाबी छ । कम्पनीका अर्का सहसंस्थापक अरुणका अनुसार अहिले मानिसहरू वातावरणमैत्री बन्नुपर्छ भन्नेमा सचेत छन् ।भन्छन्– ‘क्यालेन्डर प्रयोग गरेर फाल्नुभन्दा पुनः प्रयोगमा आओस् भन्ने हो । फाल्दा पनि केही आउटपुट आओस् ।’

उनले भविष्यमा कम्पनीले प्लान्टेबल नोटबुक तथा पेन्सिलहरू पनि ल्याउने बताए । नेपालमै प्लान्टेबल क्यालेन्डर बने पनि कागज भने अहिले भारतबाट ल्याइरहेको छ । निकट भविष्यमा कागज पनि नेपालकै प्रयोग गर्ने उनीहरूको योजना छ ।‘ यो क्यालेन्डर एउटा व्यावहारिक उपहारको रूपमा लिन सकिन्छ । दिगोपनप्रति आफ्नो प्रतिबद्धता देखाउनेले रुचाउँछन् भन्ने लागेको छ । परीक्षण गरेर नै ल्याएका हौँ,’ उनले भने ।

यो प्लोन्टेबल क्यालेन्डरले प्राप्तकर्ताहरूलाई दिगो अभ्यासहरूमा संलग्न हुन प्रोत्साहित त गर्छ नै आफूले रोपेका बिरुवाहरू बढ्दै र फस्टाएको देख्न पाउँछन् । गार्डेनिङ मनपराउने जोकोहीलाई पनि यो एक रमाइलो गतिविधि हुन सक्छ ।

युवा ग्यालरी

बुनु थारु विगत ७ वर्षदेखि पत्रकारिता गरिरहेकी छिन् । उनी स्वास्थ्य तथा सामाजिक विषयमा लेख्न रुची राख्छिन् ।

Link copied successfully