‘कैदीको पत्र’ मा प्रेम र रोमान्स

चैत्र ३०, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — सनमकुमार बैरागको निर्देशनमा तयार भएको फिल्म ‘कैदीको पत्र’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलर ओएसआर डिजिटल युट्युब च्यानलमार्फत बुधबार सार्वजनिक गरिएको हो । एक युवकको प्रेम सम्बन्धमा आउने उतारचढावलाई ट्रेलरमा चित्रण गरिएको छ । 

प्रेम र रोमान्सको कथालाई मुख्य विषयवस्तु बनाएर फिल्म निर्माण गरिएको निर्देशक बैरागले बताए । मानिसले जीवनमा पाएको खुसी सम्हाल्न नसक्दा व्यहोर्नुपर्ने उतारचढाव र भोग्नुपर्ने कठिनाइलाई फिल्मले चित्रण गरेको उनले बताए । 

फिल्मको सम्पूर्ण छायांकन स्कटल्यान्डमा गरिएको हो । ईश्वर मानन्धरको कथामा आधारित ‘कैदीको पत्र’ को पटकथा तथा संवादका साथै गीत निर्देशक बैरागले नै लेखेका हुन् । फिल्ममा कुनाल विश्व, बेलायती अभिनेत्री म्याडिसन लाजारस, सलिना थापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनीष श्रेष्ठ, सुस्मिता थापा, क्यारी डोड्स, किरण कार्की, चरण प्रधान, विजेता श्रेष्ठ, फौस्तास तलग्का, लारेन वेस्टबरी, तपस्या शिवाकोटीलगायत कलाकारले अभिनय गरेका छन् । 

दिल घले, नानी बैराग, कैलाश विश्वकर्मा र हिराल जोशी निर्माता रहेको फिल्म रामेश्वर कार्कीले छायांकन गरेका हुन् । अर्जुन जीसीको सम्पादनमा तयार फिल्मको गीतमा सुरेश सेन्चुरी र विनम्र कर्माचार्यले संगीत भरेका छन् । त्यस्तै, प्रताप दास, अन्जु पन्त, सागर आले, प्रविशा अधिकारी, सुबानी मोक्तान र अभिषेक कार्कीले गीतमा स्वर दिएका छन् । फिल्म वैशाख १५ गतेदेखि प्रदर्शनमा आउनेछ ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully