काठमाडौँ — सन् १९७९ मा आजकै दिन अर्थात् अप्रिल ११ मा युगान्डाका क्रूर शासक इदी अमिन सत्ताच्युत भएका थिए । तान्जानिया र युगान्डा नेसनल लिबरेसन फ्रन्टको फौज युगान्डाको राजधानी कम्पाला पुगेसँगै अमिन देश छाडेर भागेका थिए ।
१९६६ मा युगान्डाको सेना तथा हवाई फौजको प्रमुख बनेका अमिनले १९७१ को जनवरी २५ मा सैनिक ‘कु’ मार्फत शासन सत्ता हालमा लिएका थिए । युगान्डामा करिब ८ वर्ष शासन गरेका अमिनले विभिन्न जातीय समूहका मानिसहरूमाथि अत्याचार गरेका थिए । अमिनले उनको शासनकालमा कम्तीमा ३ देखि ६ लाख मानिसको हत्या गरेका बताइन्छ ।
उनलाई विश्वकै क्रूर तानाशाही शासकका रूपमा चिनिन्छ । अमिनले सुन्दर युवतीहरूलाई विवाह तथा यौन प्रस्ताव राख्ने र नमानेको खण्डमा जबर्जस्ती गर्नेदेखि हत्यासम्म गर्ने गर्थे । उनले मानिसहरूलाई केही जिउँदै गाडेर वा गोहीको सिकार बनाएर हत्या गर्ने गर्ने । उनको फ्रिजमा मानिसका टाउकासँगै अन्य अंग पनि भेटिएकाले उनले अमिनले मान्छेको मासु खाने गरेका बताइन्छ । उनलाई ‘युगान्डाको कसाही’ भन्ने गरिन्छ ।
१९७९ मा सत्ताच्युत भएसँगै अमिन साउदी अरब गएर बसेका थिए । उनका कम्तीमा ६ श्रीमती र ४३ जना छोराछोरी रहेका बताइन्छ । १९२५ मा युगान्डाको कोबोकोमा जन्मिएका अमिनको २००३ को अगस्ट १६ मा साउदी अरबको जेद्दाहमा मृत्यु भएको हो ।
