काठमाडौँ — आगामी जेठ ५ गते रिलिज हुने नेपाली फिल्म ‘गणपति’ को टिजर रिलिज गरिएको छ । आस्थाका रूपमा रहेका भगवान् र भौतिक रूपमै पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाइएको फिल्मको टिजरमा प्रमुख कलाकारलाई देख्न सकिन्छ ।
टिजरमा एक व्यक्तिको अस्वाभाविक रूपमा जन्म, बाल्यकाल र युवावस्थाको उतारचढाव देखाइएको छ । बच्चा जन्मेपछि खुसी मनाउँदै भजनकीर्तन गरिएको र बाल्यकालको प्रेम तथा युवावस्थाको आक्रोश पनि टिजरमा देख्न सकिन्छ ।
सविन अधिकारीको निर्देशनमा तयार भएको फिल्ममा मुकुन भुसाल, मेनुका प्रधान, कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीकाभक्त जिरेल, देवेन्द्र बब्लु, सुशील पोखरेललगायतको अभिनय छ ।
‘गणपति’ ले हाम्रो समाजको चरित्र चित्रण गरेको निर्देशक अधिकारीको दाबी छ । कुनै व्यक्ति कुनै बेला त्यही समाजको भगवान् बन्ने र समयसँगै त्यही व्यक्तिलाई समाजले कसरी नारकीय व्यवहार गर्छ भन्ने विषय फिल्ममा प्रस्तुत गरिएको उनले बताए ।
‘गणपति’ नाम धार्मिक सुनिए पनि चलचित्रमा कुनै पनि धर्मको विरोध वा प्रचार नगरिएको निर्देशक अधिकारीले बताएका छन् । फिल्ममा अभिनेता भुसाल टाइटल क्यारेटरमा छन् । ‘गणपति’ मा आफूलाई दर्शकले अहिलेसम्मकै भिन्न भूमिकामा देख्न पाउने भुसालको भनाइ छ ।
फिल्मको सम्पूर्ण छायांकन तनहुँको बन्दीपुर गाउँपालिकाको थारूवासमा भएको हो । एबिगम्यान फिल्मस्को ब्यानरमा लक्ष्मण थापाले निर्माण गरेको ‘गणपति’ मा हरिबहादुर घलेले छायांकन गरेका हुन् । फिल्मका गीतमा अनिश अधिकारी र देवेन्द्र बब्लुले आवाज दिएका छन् ।
