निःशुल्क ट्युसन

चैत्र २६, २०७९

अनिश तिवारी

सिन्धुपाल्चोक — अध्ययन गर्ने तह जुनसुकै होस्, परीक्षाका बेला विद्यार्थीमा छटपटी हुनु स्वाभाविकजस्तै हो । त्यसमाथि ‘आइरन गेट’ मानिने एसईई उत्कृष्ट ग्रेड ल्याएर पास गर्ने हरेक विद्यार्थीको एउटै उद्देश्य छ । तर, आर्थिक अभावकै कारणले अधिकांश विपन्न विद्यार्थीले आफ्नो अध्ययनलाई सोचेअनुसार भने अघि बढाउन पाएका छैनन् । महँगो ट्युसन शुल्क बुझाउन नसक्नेहरूका लागि भने नायक नै भएका छन् गणित विषयका शिक्षक ‘मास्टर साजन’ ।

अर्थात् निःशुल्क ट्युसनका ‘हिरो’ बाह्रबिसे नगरपालिका–३ ठूलोपलाती तामाङ टोलका २१ वर्षे साजन तामाङ । एसईई नजिकिँदै गर्दा बाह्रबिसे नगरपालिकास्थित किस्टोन पब्लिक एकेडेमीमा उनले साँझ ५ देखि ६ बजेसम्म करिब २५ जना विद्यार्थीलाई ‘फ्रि ट्युसन’ पढाए । अन्य विषयसँग सम्बन्धित समस्या पनि समाधान गरिदिने भए पनि आफूले खासगरी अनिवार्य र ऐच्छिक गणितको ट्युसन दिएको तामाङले बताए । ‘निःशुल्क ट्युसन दिन पाउनु मेरो लागि धेरै खुसीको कुरा हो, भौतिक रूपमा उपस्थित हुन नसक्ने टाढाका विद्यार्थीका लागि सहज अध्ययन गर्न युट्युब च्यानको लिंक पनि दिने गरेको छु,’ साजनले भने । 

आफूले आर्थिक र विभिन्न समस्याले पढ्न नपाएको क्षण सम्झिएर भावुक बन्ने तामाङको आफ्नै संघर्षको कथाव्यथा छ । बाह्रबिसे बजारबाट लामै दूरी पार गरेपछि पुगिने तामाङटोलमा उनी हुर्किएर पढलेख गरे । अनेक अभाव र समस्याबीच भूकम्प र परकम्पनले घरसहित कृषि पेसामा निर्भर उनको परिवारको आर्थिक अवस्थालाई झनै धराशायी बनायो । आहिले निःशुल्क एसईई ट्युसन दिएर सबैका प्रिय भएका आफैंलाई कक्षा १२ सम्म आइपुग्न खुबै पापड बेल्नुपरेको उनले बिर्सिएका छैनन् ।

आर्थिक भारकै कारण कक्षा दससहित १२ देखि स्नातक तहसम्म उनले धेरै वर्ष ग्याप गरे । हाल बाह्रबिसे नगरस्थित प्रमुख कलेज अरनिको कलेजमा बीएड सेकेन्ड एयरका विद्यार्थी रहेका उनले निःशुल्क ट्युसन अभियान सुरु गरेको पहिलो पटक भने होइन । त्यस्तै लोकप्रियताका कारण पनि उनले केही समयअघि अरनिका कलेजमा स्ववियु निर्वाचनमा एमालेनिकट अनेरास्ववियुबाट सचिव पदमा विजयी हुन सफल भए । यसअघि केही स्थानमा उनले विपन्न बालबालिका र विद्यार्थीका लागि ट्युसन पढाइसकेका हुन् । काठमाडौंस्थित ०७४ मा होम ट्युसन, ०७५ मा पाइथोगोरस इन्स्ट्युट, अन्नपूर्ण इंग्लिस बोर्डिङ स्कुल हुँदै ०७७ सालमा बल्ल यहाँको किस्टोनमा जोडिएर उनले तीन वर्ष बिताए । ‘यहीबीच हरसम्भव धेरैजसोलाई निःशुल्क सेवा गर्ने प्रयास गरे, तर आफ्नो समस्याले त्यतिखेर पूर्ण रूपमा निःशुल्क गर्न सकिएन, अहिले भने सक्ने अवस्थामा फुल टाइमर भएर यही काम पनि गरेको छु,’ उनले भने । 

सिन्धुपाल्चोकको बाह्रबिसेमा निःशुल्क ट्युसन पढाउँदै रम्भा पौडेल (माथि) र साजन तामाङ ।

बाह्रबिसे नगरपालिका–९ को घुडे, चुल्ठेका बालबालिका गृहकार्य, पढाइ र ‘होम ट्युसन’ भनेपछि सम्झिहाल्छन्, रामचन्द्र पौड्याललाई । ओठ कपाउने लेकको चिसोमा करिब ५ किलोमिटरको पैदल यात्रापछि मात्रै पुगिन्छ बाह्रबिसे नगरको शिर घुडे र चुल्ठे । आफ्नो घुमाङ गाउँबाट विद्यालय समयबाहेक पनि उनी यहाँका बालबालिकाको अतिरिक्त विषयको समस्या समाधान गर्न विद्यालयमा निःशुल्क ट्युसन समय दिन्छन् । शनिबार होस् या आइतबार, अधिकांश समय दैनिक बालबालिकालाई निःशुल्क ट्युसन दिने भएपछि बालबालिकाले आफ्नो पठनपाठनबारे केही समस्याले अड्किन परेको छैन । 

‘अध्यापन भनेको पाठपूजा हो, यसलाई हामीले सकेको गर्नुपर्छ,’ पौडेलले भने । पौडेल शिक्षक रहेको सीताराम माविमा भने एकदेखि पाँच कक्षासम्म ३० जना बालबालिका अध्ययन गर्छन् । फुर्सदको समयलाई उनकी श्रीमती रम्भा ढकालले पनि पौडेलको सिको गरेकी छिन् । गाउँभर भने धेरै बालबालिका पनि छन् । नौ वडाको धनी बाह्रबिसे नगरको शिरभेगमा पर्ने विकट घुडे, चुल्ठे, दमार, सुइरेजस्ता दर्जनौं लेकाली गाउँमा बालबालिका नियमित नहुने र विद्यालय छाड्ने विकराल समस्या देखिएको थियो । त्यही समस्या मेटाउन दुई करोड ६० लाख बजेट छुट्याएर बाह्रबिसे नगरले १२ सम्म अध्ययन र आठसम्म दिवा खाजा निःशुल्क गर्दै सबै विद्यालयलाई परिपत्र गर्‍यो । उनले त्यही समस्यालाई न्यूनीकरण गर्न विद्यालयको समयबाहेक कहिलेकाहीं घरमा र अरू बेला विद्यालयमा ‘फ्रि ट्युसन अभियान’ सुरु गरेका हुन् । २०६७ सालबाट शिक्षण पेसामा लागेका पौडेलले यसअघि जिल्लाको दुर्गम स्थानीय तह पाँचपोखरी थाङपाल गापाको भोताङ गाउँकै स्थानीय विद्यालयमा लामो समय पढाएर आएका हुन् । यसअघि शैक्षिक गुणस्तर उकास्न र शिक्षामा आकर्षणका लागि हेलम्बु सरकारले टिचिङ सेन्टर स्थापना गरेको थियो । जुन आहिले मेलम्ची भ्याली ग्याल्थुममा चल्दै छ ।

सामुदायिक विद्यालयदेखि निजी बोर्डिङका शिक्षकले महँगो शुल्क लिएर ट्युसन पढाइरहँदा शिक्षक साजन र पौडेलले गरेको काम उत्कृष्ट र उदाहरणीय रहेको जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख कृष्ण सुवेदीले बताए । ‘यो कामले अभिभावक र विद्यार्थी सन्तुष्ट छन् । एकदमै राम्रो काम हो,’ उनले भने । उनका अनुसार यस वर्षको एसईईमा एक सय ५२ विद्यालय सामेल भएकोमा ४ हजार २० परीक्षार्थीले २४ वटा परीक्षा केन्द्रमा परीक्षा दिएका छन् । 

युवा ग्यालरी

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully