१० वर्षपछि अस्ट्रेलियामा ‘मंगोलियन हार्ट’

चैत्र २३, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालको पुरानो ब्यान्ड मंगोलियन हार्टले १० वर्षपछि अस्ट्रेलियामा सांगीतिक यात्रा गर्ने भएको छ । नेपाली टच अस्ट्रेलियाको व्यवस्थापनमा हुने सांगीतिक यात्रा यही अप्रिल १० देखि सुरु हुने ब्यान्डका म्यानेजर एवम् गितारिस्ट बबी लामाले बताए । उनका अनुसार अस्ट्रेलियाका विभिन्न ८ सहरमा ब्यान्डले सांगीतिक प्रस्तुति दिनेछ ।

‘हामी शुक्रबार नै नेपालबाट अस्ट्रेलिया प्रस्थान गर्दै छौं,’ लामाले भने, ‘१० वर्षपछि अस्ट्रेलियामा प्रस्तुति दिन पाउँदा उत्साहित छौं । दर्शक–श्रोतालाई सरप्राइज दिने  तयारी गरेका छौं ।’

नेपाली टच अस्ट्रेलियाका सीईओ दीपेश पुनका अनुसार ब्यान्डको पहिलो सांगीतिक प्रस्तुति १० तारिखमा मेल्बर्न सहरमा हुनेछ । त्यसपछि १३ तारिखमा ब्रिस्बेन, १५ मा सिड्नी, १६ मा केन्बेरा, २३ मा डार्विन, २३ मा पर्थ, २९ मा होबर्ट हुँदै ३० तारिखमा एडलेडमा पुगेर टुंगिनेछ । 

सन् १९९२ मा स्थापना भएको यो ब्यान्डबाट चर्चामा आएका गायक हुन्, राजु लामा । लोक, स्लो रक, पप मेलोडी संगीतका लागि प्रिय रहेको यो ब्यान्डको रिदम गीतारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गितारमा किरण नगरकोटी, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन् ।

ब्यान्ड यात्रा ३० वर्ष पुगेको अवसरमा अस्ट्रेलिया टुर गर्न पाउँदा उत्साहित छन्, ब्यान्डका फ्रन्ट म्यान गायक राजु लामा । ‘ब्यान्डका पुराना र केही नयाँ गीत त्यहाँ प्रस्तुत गर्नेछौं ।अस्ट्रेलियासँगको हाम्रो पुरानो सांगीतिक सम्बन्ध फेरि नवीकरण गर्न पाउँदा साह्रै उत्साही छौं,’ उनले भने ।

‘बाादलपारिको देशबाट’, ‘म माया लाउँदिनँ’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’ आदि मंगोलियन हार्टका चर्चित गीतहरू हुन् ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully