निकुञ्जमा जंगली जनावरले आक्रमण गर्ने जोखिम उत्तिकै हुन्छ, तर तालिम र अनुभवबाट खारिएका महिला गाइडले जोगिँदै र जोगाउँदै पर्यटकलाई जंगल घुमाउँदै आएका छन्
चितवन — एक साताअघि अलिक बिसन्चो भएर उनी घरमै थिइन् । आफ्नो १६ महिने बच्चाको ख्याल गर्नु त छँदै थियो । तर आफू नै चाहिने भन्दै फोन आएपछि सौराहा घर भएकी २७ वर्षीया सम्झना आचार्य तिवारी काममा निस्किइन् ।
उनी पेसाले गाइड हुन् । पर्यटकलाई चितवन राष्ट्रिय निकुञ्ज र आसपासको जंगल डुलाउँछिन् । ‘गेस्टले खोजेको सुनेपछि बिसन्चो भएको बिर्से । ड्रेस लगाए, बाइनाकुलर बोकेर निस्के,’ सम्झनाले सुनाइन् ।
कोरोना महामारीअघि सम्झनाले अस्ट्रेलिया बस्ने नेपालीको एउटा समूहलाई निकुञ्ज घुमाएकी थिइन् । त्यही समूहमा आएका व्यक्तिका आमाबुबा यो पटक उनलाई खोज्दै आइपुगेका रहेछन् । ‘उनीहरूले आफ्ना बाआमालाई सम्झना गाइडलाई भेटेर डुल्न निस्कनु भनेका कारण सोधखोज गर्दै होटलमा पुगेका रहेछन्,’ उनले भनिन् ।
आफ्नो कामबाट प्रभावित भएको हुँदा सम्झनाले पनि आफू बिरामी भएको बिर्सिइन् । हुन त आफ्नो पेसामा उनी यति दत्तचित्त छिन् कि बच्चा जन्मेको तीन महिनामा नै काममा फर्किएकी थिइन् ।
निकुञ्ज घुम्न निस्कनु भनेको दुर्लभ वन्यजन्तुलाई नजिकबाट हेर्न जानु हो । निकुञ्जमा पाटे बाघहरू छन् । एकसिंगें गैंडा त्यही बस्छन् । जंगली हात्तीको हूल पनि हिँडडुल गरिरहन्छ । सानाठूला धेरै खाले जीवजनावर, चरा र बोटबिरुवालाई चिनाउने तथा पर्यटकको जिज्ञासा साम्य पार्नु गाइडको जिम्मेवारी हो । ठूला जंगली जनावरबाट जोगाएर पर्यटकलाई घुमाउने पेसा कम चुनौतीपूर्ण छैन । बाघ, गैंडा, जंगली हात्तीले गर्ने ‘उधुम’ का खबर सुनेकालाई यो काम खतरनाक लाग्छ । तर यी वन्यजन्तुको आनीबानी बुझेर त्यहीअनुसारको व्यवहार गर्न सके जनावर आफ्नो धुनमै रहेका बेलामा त्यो हेरेर आनन्द लिन सकिन्छ ।
जंगल घुमाउने गाइडले यसबारे तालिम लिन्छन् । डुल्दै जाँदा थप खारिन्छन् । अनि जोगिँदै र जोगाउँदै पर्यटकलाई जंगल घुमाउँछन् । चितवनमा यसरी जंगल डुलाउने गाइड चार सयको हाराहारीमा छन् । तर सम्झनाजस्ता महिला जंगल गाइड निकै कम छन् । ‘कोभिडअघि आठ सय जति गाइड थिए । कोभिडका कारण आधा विस्थापित भए । महिला झनै कम छन् । फिल्डमा ८–१० जना होलान्,’ गाइडहरूको संस्था नेचर गाइड एसोसिएसन चितवनका अध्यक्ष राजेन्द्र धामीले भने ।
गाइड बिमिता भण्डारी पर्यटकसँग ।
महिला भएकै कारण तालिमदेखि नै चुनौती भोग्नुपरेको अर्की गाइड अस्मिता गोदारले सुनाइन् । ‘केटीहरू जंगल डुल्दै जाँदा मयूर देखे पनि तर्सने होलान् भनेर जिस्काउने थुप्रै थिए,’ उनले भनिन्, ‘तालिम र लाइसेन्स लिँदा यस्ता घोचपेच सुन्नुपरेको थियो । त्यसैले हामीले आफूलाई प्रमाणित गर्नु थियो ।’ चुनौती स्वीकार गरेर काममा जुटेको र अहिले चौतर्फी प्रशंसा पाइरहेको उनको भनाइ छ । उनीहरूले पाँच वर्षअघि यो काम सुरु गरेका हुन् ।
हुन त यो पेसामा महिलाको उपस्थिति अलि अघिबाटै थियो । डोमा पौडेल सौराहामा देखिने महिला गाइडको सुरुवाती अनुहार हुन् । उनी सन् २००७ देखि यो पेसामा छिन् । पछिल्लो समयका महिला गाइड उनैलाई प्रेरणाको स्रोत मान्छन् । वन, संरक्षण र स्थानीयका विषयमा डकुमेन्ट्री बनाउन आएको विदेशी टिमलाई महिना दिन गाइड गरेर फर्किएका बेला उनीसँग भेट भयो । ‘त्यो बेला हामी चार जना महिला गाइड तालिममा बसेका थियौं । तर दुई जनाले लाइसेन्स लियौं,’ डोमाले भनिन् । उनीसँग लाइसेन्स लिएकी सुनैना राउत पनि सक्रिय नै छिन् ।
डोमाको कद अलि होचो, ज्यान पातलो छ । त्यसैले तालिम लिए पनि काम पाउन सुरुमा गाह्रो भयो । गाइड अफिसमा जागिर त भयो तर फिल्डमा खटाउन आनाकानी गर्न थाले । उनी जिद्दी गरेरै आधा दिनको टुर प्याकेजमा सामेल भइन् । विस्तारै पूरै दिन पर्यटक डुलाउने काम पाइन् । निकुञ्जको जंगल पैदलै छिचोल्दै तीन चार दिनसम्म जंगल डुल्ने पर्यटकको समूह पनि आउने गर्दछ । डोमाले त्यस्तो ग्रुपसँग जाने इच्छा राखिन् । तर काम सुरु गरेको दुई वर्षपछि ‘लङ वाक’ को अवसर पाइन् । अहिले डोमालाई अविश्वास गर्ने कसले ? १५ दिनसम्म जंगलमै डुलेको अनुभव पनि उनीसँग छ ।
यो बीचमा जंगली जनावरसँग जम्काभेटका एकाध यस्ता घटना पनि भए, जुन सुन्नेको आङ सिरिङ्ङ हुन्छ । तर डोमालाई यस्तै घटनाले निखार्दै ल्यायो । एक पटक छ जना पर्यटक र दुई जना गाइडको टोली खोरसोरबाट जंगल हिँडेर दुधौरा मचानमा रात बस्न जाँदै थियो । बाटोमा उनीहरूले एउटा गैंडा देखे । गैंडा झनै पर पर भाग्यो । गैंडा परै गएजस्तो लागेर उनले अर्को गाइडलई रूख चढेर पक्का गर्न अह्राइन् । रूख चढेका गाइडले डोमा र टुरिस्टलाई नजिकै आउन इसारा गरेर । त्यसपछि ती गाइड रूखबाट हाम फाले । हाम फालेको आवाज सुनेर हुनुपर्छ टाढाको गैंडा हुत्तिँदै आयो । ‘यसरी आयो कि त्यो गैंडाभन्दा गाइड भाइ सात मिटर र म त्यस्तै १० मिटरको फरकमा पर्यौं । पर्यटक मेरा पछाडि थिए,’ डोमाले भनिन् ।
लगत्तै डोमा र अर्को गाइड कराउन थाले । हातमा भएको लट्ठी दुवैले भुइँमा बजारे । तर गैंडा पछाडि हटेन । गैंडा डोमा भएको साइडतिर आयो । उनको साइडमा रूख थियो । उनले लौरो रूखमा बेस्सरी हानिन् । दुवै जनाको प्रतिवादले बल्ल काम गर्यो । गैंडा पछि हट्यो । तर यो संकट त्यसै पार लागेन । गैंडा त उनीहरूलाई छाडेर पर्यटकतर्फ लाग्यो । ‘यस्तो भएपछि हामी कराउने र भुइँमा लगातार लौरो बजाउन थाल्यौं । गैंडा हच्केर १५/२० मिटर पर गयो । त्यसपछि हामी दौडन थाल्यौं । हामी दौडेपछि गैंडा पनि हामीतर्फ आएको झैं लाग्यो । निकै पर गएर पछाडि हेर्दा बल्ल गैंडा उतै बसेको देख्यौं । त्यो बेला लागेको थियो कोही न कोहीलाई आज गैंडाले हान्ने नै भो तर तालिमको ज्ञानले फिल्डमा पनि काम गर्यो । सबै सकुशल रह्यौं,’ डोमाले भनिन् ।
संरक्षणकर्मी दिना पोखरेल, गाइड अस्मिता गोदार, रेन्जर स्मृति लामा, गाइडहरू अस्मिता चौधरी, काजल तामाङ र संरक्षणकर्मी सीता रिजाल । (दायाँबाट क्रमशः)
सन् २०१० को फुटबल विश्वकपको समय हो, उनले स्पेनबाट आएका पर्यटकलाई निकुञ्जको देवीताल पुर्याउनु थियो । जंगल जाने अघिल्लो दिन भएको विश्वकप फुटबलको लिग चरणमा स्पेन स्विजरल्यान्डसँग पराजित भएको थियो । खेलको हारले पर्यटक टोली निराश थियो । उनीहरू चार जना थिए । जिप सफारीमा १० किलोमिटर पार नहुँदै चितुवा देखेको हुँदा टोलीले फुटबलको हार बिर्सन थाल्यो । देवीतालमा चराहरू टन्नै थिए । परपर गैंडाहरू पनि देखिएका थिए । डोमाले तालका बारेमा पर्यटकलाई बताउन सुरु गरिन् ।
ताल आडको झाडीमा गैंडा रहेछ । त्यसको ख्याल कसैले गरेन । गैंडा एक्कासि निस्कियो । उनीहरू र गैंडाबीच चार मिटर पनि फरक भएन । आडमा एउटा सानो रूख थियो । हस्याङफस्याङ गर्दै सबै रूखमा चढे । गैंडा पर जान धेरै बेर लगायो । गैंडा बाटो लागेको देखेपछि डोमा रूखबाट झरिन् । तर फेरि गैंडा त हुरुरु हुत्तिँदै रूखकै आडमा आयो । ‘म फेरि रूख चढ्दाचढ्दै मेरो खुट्टाले गैंडाको खाग छोयो । गेस्टहरू रुन थाले । आधा घण्टापछि मात्रै गैंडा बल्ल धेरै टाढा गयो,’ डोमाले भनिन् ।
जनावरबाट जोगाउने र चिनाउने यो पेसा कत्तिको चुनौतीपूर्ण छ, डोमाले गरेको वर्णनबाटै प्रस्ट हुन्छ । ‘हाम्रो काम नै चाखलाग्दो, चुनौतीपूर्ण र साहसिक खालको छ । यसलाई आत्मसात गर्न रुचि, हिम्मत, लगाव सबै चाहिन्छ,’ उनले भनिन् । मुख्य कुरा तालिम हो । पहिला सात दिनको हुने तालिम अहिले १५ दिनको भएको छ । त्यसपछि बीचबीचमा थप तालिम र सेमिनारले ज्ञान थप्दै जान्छ । फिल्डको दौडधूपले आत्मबल बढ्ने उनी बताउँछिन् ।
खैरहनी–१३ कुमरोज गवैकी २८ वर्षीया बिमिता भण्डारीले सन् २०११ देखि यो पेसा सुरु गरेकी हुन् । ‘मान्छे जनावर देखे भाग्छन् । हामी जनावर खोज्दै जंगल डुल्नुपर्छ । यो काम गाह्रो त छ । तर रमाइलो पनि छ,’ उनले भनिन् । पुरुष मात्रै भएको पेसामा लागेर काममा टिक्न उत्तिकै चुनौतीपूर्ण रहेको उनको अनुभव छ । अहिले उनका दाइ पनि यही पेसामा लागेका छन् ।
ध्रुव गिरी होटल व्यवसायी हुनुका साथै सामाजिक संस्थामा पनि संलग्न छन् । उनको संस्थाले पनि महिलाका लागि गाइड तालिम आयोजना गर्दै आएको छ । ‘सौराहामा अहिले जे जति महिलाले गाइड भएर काम गरेका छन्, गेस्टहरू उनीहरूको सेवाबाट सन्तुष्ट छन् । उनीहरूको मिहिनेत र ज्ञानको तारिफ नै गरेका छन्,’ गिरीले भने । यो काममा जोखिम छ भन्ने थाहा पाएर पनि दृढ इच्छाशक्तिसहित महिला अगाडि आएको नेचर गाइड एसोसिएसनका पूर्वअध्यक्ष जितु तमाङले बताए ।
एकाध पर्यटकले गुनासो गर्ने र गलत नियत पनि राख्छन् । ‘तर जंगली जनावरको स्वभाव बुझेर उनीहरूसँग व्यवहार गर्न सिकेका हामीलाई मान्छेका यस्ता टिप्पणी र नियतले खासै फरक पार्दैन । हामी जनावरबाट सुरक्षित रहने पेसामा छौं, मान्छेको के कुरा,’ डोमाले भनिन् । उनका अनुसार काम भएको बेला महिनामा कम्तीमा २० हजारसम्म आम्दानी हुने गर्छ । तर पर्यटन संवेदनशील क्षेत्र हो ।
भूकम्प, बन्द, राजनैतिक घटनाक्रम, महामारी, आर्थिक मन्दीमा पर्यटक नै कम हुन्छन् । काम कम हुन्छ । आम्दानी घट्छ । यस्तो बेला धैर्य नराख्नेहरू पेसाबाट पलायन हुन्छन् । ‘धैर्यवान् त हुनै पर्दछ । महिलालाई झन् ज्ञान, तालिम र प्रोत्साहनको खाँचो छ,’ डोमाले भनिन् । डोमा, सुनैना, बिमिता, अस्मिता, सम्झनासँगै सौराहामा अस्मिता महतो, काजल तमाङ, सुस्मिता न्यौपाने र आकृति बस्नेत जंगल गाइड पेसामा अगाडि बढिरहेका छन् ।
