काठमाडौँ — ट्याटु फेसन मात्र रहेन । यो युवा पुस्ताको आफ्नो अभिव्यक्तिको भाषा पनि हो । आफूलाई आधुनिक युगको प्रतिनिधि पुस्ता भन्नका लागि होस् वा कसैप्रतिको अव्यक्त माया देखाउन, उनीहरू ट्याटुको माध्यम अपनाउँछन् ।
ट्याटु खोप्न त्यति सजिलो छैन । यो एक पीडा वा दुखाइको स्थिति पनि हो । छालाको सतहमा कुनै तिखो वस्तुले पटकपटक खोपिरहँदा कति दुख्छ ? यो कुरा त ट्याटु खोपाउनेलाई मात्र थाहा हुन्छ । तर, उनीहरू यस्तो दुखाइको परवाह गर्दैनन् । जति दुख्छ, चुपचाप सहन्छन् । किनभने ट्याटु भनेका उनीहरूको त्याग र समर्पणको भाषा पनि हो । ट्याटुमार्फत उनीहरू भनिरहेका हुन्छन्, ‘तिम्रा लागि म दुखाइहरू सहन तयार छु ।’
आफ्ना ममतामयी आमाका लागि होस् वा कोही प्रियजनका लागि, उनीहरू ट्याटुमार्फत त्याग र समर्पण व्यक्त गरिरहेका हुन्छन् । त्यसैले त युवा पुस्ताको शरीरमा खोपिएका हरेक ट्याटुको पछाडि कुनै न कुनै समर्पणको कथा लुकेको हुन्छ ।
ट्याटु खोपाउनेहरूको जमातमा अनेक पात्र भेटिन्छन् । कसैले देखासिकीमा त कसैले लहडमा ट्याटु खोपाएका छन् । कसैले बाध्यतावश त कसैले यसको अन्तर्य बुझेर ट्याटु खोपाएका छन् । आखिर जे भए पनि ट्याटुप्रतिको क्रेज बढ्दो छ । यसलाई थप बढावा दिएका छन्, विश्वस्तरका सेलेब्रिटीहरूले ।
विख्यात फुटबलरदेखि हलिउड स्टारसम्मले खोपाएको ट्याटुले पनि युवा पुस्तालाई लोभ्याएको छ । यसबाट अछुतो छैनन् नेपाली युवा पनि । ट्याटुप्रतिको यही क्रेजलाई उजागर गर्छ, बर्सेनि आयोजना हुने ट्याटु मेलाले । ‘अन्तर्राष्ट्रिय नेपाल ट्याटु कन्भेन्सन’ शीर्षकको यो मेला बितेको १३ वर्षदेखि आयोजना हुँदै आएको छ । कोभिडका कारण अघिल्लो वर्ष भने ट्याटु मेला लागेन । त्यसबाहेक हरेक वर्ष अन्तर्राष्ट्रिय ट्याटु मेलाले निरन्तरता पाएको छ ।
यसपालि पनि यो सिलसिला जारी रह्यो । गएको शुक्रबारबाट सुरु तीनदिने मेलामा विश्वभरका ट्याटु आर्टिस्ट सहभागी भए । अमेरिका, अस्ट्रेलिया, जर्मनी, स्पेन, थाइल्यान्ड, भारतजस्ता मुलुकबाट दुई सय आर्टिस्ट सहभागी भएको आयोजकका ओमप्रकाश गुरुङले बताए । ‘खासगरी हामीले आफ्नो देशको कलालाई उजागर गर्न ट्याटु कन्भेन्सन आयोजना गरेका हौं,’ उनले सुनाए, ‘यो हाम्रो संस्कृति पनि हो ।’ हामीकहाँ कतिपय समुदायले ट्याटु खोपाउने सदियौंदेखिको परम्परा पनि छ । थारू, नेवार, तामाङ आदि समुदायमा ट्याटु खोप्ने संस्कार नै छ । ट्याटु खोप्दा रोग, दुःख नहुने धार्मिक जनविश्वास पनि छ । यद्यपि अहिले यसले युवा पुस्तामा यसको बेग्लै आकर्षण छ ।
खासगरी आफ्ना अनमोल स्मृतिलाई सुरक्षित राख्न र शरीरलाई कलात्मक देखाउन पनि ट्याटु खोपाउने प्रवृत्ति बढ्दो छ । यसैको झल्को देखिन्थ्यो हालै सम्पन्न ट्याटु मेलामा । ललितपुरको हेरिटेज गार्डेनमा आयोजिक ट्याटु कन्भेन्सनमा ९० वटा बुथ राखिएको थियो, जहाँ आगन्तुकले आफ्नो इच्छाअनुरूप ट्याटु खोपाउन सक्थे । शरीरका विभिन्न अंगमा ट्याटु खोपाउन त्यहाा युवाहरूको घुइँचो लागेको थियो । ट्याटुमा रमाउन चाहने युवाहरूलाई लक्षित गरेर नेपाल ट्याटु प्राइभेट लिमिटेडले ट्याटु कन्भेन्सनको आयोजना गरेको हो ।
अनौठा कीर्तिमान
