‘राजनीतिले समाजलाई जोड्छ कि तोड्छ ?’

चैत्र २७, २०७९

अर्जुन शाह

टीकापुर, कैलाली — ‘राजनीतिले समाजलाई तोड्छ कि जोड्छ ?’ पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई मञ्चमा चढेका मात्रै के थिए, पत्रकार समा थापाको यो प्रश्नले उनलाई घोचिहाल्यो ।

टीकापुर साहित्य महोत्सवको दोस्रो दिन सामाजिक सद्भावबारे बोल्न आएका भट्टराई केही अकमकिए । अनि भने, ‘विभेदरहित समाजमा मात्र सामाजिक सद्भाव कायम हुन्छ, त्यसैले राजनीतिले विभेद हटाउन काम गर्नुपर्छ ।’ भट्टराईका साथ बहसमा सहभागी पूर्वउपप्रधानमन्त्री भीम रावलको तर्क थियो, ‘राज्यले कर्तव्यहरू पूरा गर्दै विधि कायम गरेमा सामाजिक 

सद्भाव कायम भइहाल्छ ।’ दलका नेताहरूले राजनीतिको रोटी सेक्न सर्वसाधारणलाई उचाल्दाको परिणाम टीकापुर घटना भएको टिप्पणीबाट प्रश्नहरू सुरु गरेकी सहजकर्ता थापाले सद्भाव अभिवृद्धि गर्न निर्वाह गर्नुपर्ने उपाय र भूमिकामा वक्ताका धारणाहरू खोतलिन् । 

भट्टराईले राजनीति दुई उद्देश्यमा निहित हुने गरेको भनाइ राख्दै भने, ‘अहिले हाम्रोमा सामाजिक रूपान्तरणका लागि हुने राजनीति र स्वार्थपूर्तिका लागि गरिने राजनीतिक प्रवृत्ति देखिन्छ । राजनीति समाज रूपान्तरणका लागि हुनुपर्छ ।’ रावलले राजनीतिक नेतृत्वले आफ्ना प्रतिबद्धता पूरा नगरेकाले जनतामा निराशा बढेको बुझाइ राखे । संविधानको इमानदारीपूर्वक कार्यान्वयन आवश्यक रहेको उनको भनाइ थियो । ‘अभिव्यक्तिमा विरोधाभासले सामाजिक सद्भाव खल्बलिन्छ,’ रावलले भने । भट्टराईका विचारमा समाधान दलहरूले नै दिने हो । उनले भने, ‘सुशासन र समृद्धि दिँदा निराशा र अराजकता हटिहाल्छ ।’ 

दोस्रो दिनको पहिलो सत्रमा सहजकर्ता मनीषा चन्दले ‘हाम्रो देशको प्रधानमन्त्री कस्तो हुनुपर्छ ?’ भन्ने विषयमा अमिता विक, महेश परियार र नवीन अधिकारीसँग छलफल चलाइन् । नवीन अधिकारीले जनभावनाअनुरूप चल्ने नेता प्रधानमन्त्री हुनुपर्नेमा जोड दिए । ‘टीकापुरबाट उदाएका उद्यमी’ विषयक छलफलका वक्ताहरू कालु हमाल, लक्ष्मण न्यौपाने र टेकराज रेग्मीलाई पत्रकार दीर्घराज उपाध्यायले सफलताको रहस्य र सूत्र सोधे । टीकापुरमा बनाना रेस्टुरेन्ट चलाएर केरा खेतीको सफल व्यवसाय गर्दै आएका हमालले कृषि पर्यटनको प्रचुर सम्भावना रहेको औंल्याए । ‘राज्यले उचित नीति बनाएर कार्यान्वयन गर्ने हो भने कृषि पर्यटनमा गर्न सकिने धेरै ठाउँ छ,’ उनले भने । 

होटल व्यवसायबाट उदाएका न्यापानेले ०५४ सालमा टीकापुरमा चाउमिन पसल चलाएर व्यापार सुरु गर्दाको पृष्ठभूमिबाट उठेर अहिले देशभर सिद्धार्थ ग्रुपका नाममा ३२ वटा आफ्नै सुविधायुक्त होटल सञ्चालन गरिरहेका छन् । उनले एक हजार बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेका छन् । ‘टीकापुरमा होटल व्यवसायको सम्भावना देखेर नै व्यवसाय सुरु गरेको हुँ,’ न्यौपानेले भने, ‘टीकापुर अथाह सम्भावनाको भण्डार हो ।’ टीकापुरका युवा उद्यमीले टेकराज रेग्मीले उचित योजनाका साथ व्यवसाय सुरु गर्ने हो भने विदेश जान नपर्ने जिकिर गरे । 

अर्को सत्र ‘त्यो टीकापुर, यो टीकापुर र भोलिको टीकापुर’ विषयक छलफल चलेको थियो । पत्रकार मातृका तिमिल्सिनाले थम्बराज श्रेष्ठ, धनञ्जय तिमिल्सिना र बलबहादुर रावलसँग टीकापुरको इतिहास सोधेर दर्शकहरूलाई विगतको टीकापुरका सम्झनाहरू ताजा गराएका थिए । शेखर दहितले ‘आख्यानमा स्थानीयता ः रहर कि बाध्यता’ विषयक साहित्यक छलफल गरेका थिए । सात वर्षअघि अकल्पनीय रूपमा भएको हिंसात्मक घटनापछि खल्बलिएको टीकापुरको सामाजिक सद्भाव फर्काउने उद्देश्य छ । साहित्यिक महोत्सवमा आइतबारको सत्रमा सामाजिक सद्भाव फर्काउने उद्देश्यले टीकापुरमा पहिलो पटक साहित्यिक सम्मेलन भइरहेको हो । दोस्रो दिनको अन्तिम सत्रमा पढ्ने बानीमाथि सहजकर्ता विश्वास खड्काथोकीले लेखक समीक्षक सुजित मैनाली र पत्रकार तथा लेखक शेखर खरेलसँग गहकिलो संवाद चलाएका थिए ।

युवा ग्यालरी

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully