सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका ८८ जना विद्यार्थी तथा युवायुवतीले खोज, उद्धार तथा प्राथमिक उपचार तालिम लिएका हुन्
सिन्धुपाल्चोक — बाढीपहिरो होस् या आगलागी । विपद्का बेला सबैजसोले गुहार्ने एउटै सहारा हुन्, सुरक्षाकर्मी । विपद्को समयमा उद्धार कार्यमा सुरक्षाकर्मीलाई सघाउन तम्सिने भए पनि ज्ञान र दक्षता नहुँदा स्थानीयका काम खासै प्रभावकारी हुँदैनथे । जसका कारण उद्धार विधि र प्राविधिक सिकाइको माग गर्दै स्थानीय तन्नेरीले भोटेकोशी गाउँपालिका तथा स्थानीय संघसंस्था गुहारे ।
फलस्वरूप भोटेकोशी गाउँपालिका, नेपाल रेडक्रस सोसाइटी तातोपानी उपशाखा र प्रतिबद्ध परियोजना–२ को संयुक्त आयोजनामा भोटेकोशी गाउँपालिका क्षेत्रमा स्थानीय युवायुवतीलाई हालै खोज, उद्धार तथा प्राथमिक उपचार तालिम दिइएको छ ।
वरिपरि पहिरो, तल भोटेकोशी । त्यही सीमा क्षेत्र तातोपानीको भूगोलबीच गोलबद्ध भएर विपद् उद्धारको अभ्यास गर्नेमध्येका एक हुन् भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीका २० वर्षीय विकास कार्की । तालिम लिएपछि खोज, उद्धार तथ विपद् व्यवस्थापनमा खटिनका लागि व्यावहारिक ज्ञान मिलेको उनी बताउँछन् । पहिरो खस्दा होस् या बाढी, सिलिन्डरमा आगो लाग्दा कसरी बच्ने र बचाउनेलगायतका प्राविधिक र व्यावहारिक ज्ञान मिलेको उनले बताए । तालिमले आत्मविश्वास बढाएसँगै अप्ठ्यारो स्थानमा डोरीबाट तल झर्ने तथा माथि चढ्नेलगायतका विषयमा प्रशिक्षकबाट सिक्न पाएको कार्कीको भनाइ छ ।
‘यो तालिमले आफूलाई एउटा उद्धार गर्न सक्षम जनशक्ति बनाएको महसुस गरेको छु, पहिरोमुनि पहिरोबाट बच्ने र प्राथमिक उपचारको अभ्यास गर्न पाउँदा साह्रै उपयोगी कुरा सुने,’ कार्कीले भने । आफूले किताबी ज्ञानबाहेकका व्यावहारिक आधारभूत खोज विधि, विपद् अवस्थामा पीडितलाई उद्धार गरेर बाहिर निकाल्ने तरिकामा अभ्यास गर्दा उनी दंग देखिन्थे ।
कार्कीले झैं भोटेकोशी–१ लिस्तीकोट लामा गाउँ टोलका २४ वर्षे गेल्जेन शेर्पाले तालिमबाट आफूमा आत्मविश्वास झनै बढेको अनुभव गरेका छन् । उनले पनि यस्ता विपद्मा अपनाउनुपर्ने सावधानी र उद्धारमा खटिँदा गर्नुपर्ने कार्यबारे जानकारी लिएर प्रशिक्षकबाट अभ्यास गरेको बताए । ‘खासगरी नमुना घटना अभ्यास र स्थानीय सामग्रीबाट स्ट्रेचर, बोतलबाट लाइफ ज्याकेट, डोरीको प्रयोगबाट उद्धार गर्ने तरिका निकै उपयोगी लाग्यो,’ शेर्पाले भने ।
पल्लो दुगुना यार्माकी २९ वर्षे रीता थामीले तालिमपछि विपद्प्रतिको त्रासमाथि विजय पाएको महसुस गरेकी छन् । गत बर्खामा खकुन्डोलबाट खसेको पहिरोले पुरिएर भोटेकोशी–४ फुल्पिङकट्टीका दुई घर बगाउँदा एकै परिवारका पाँच जनाको ज्यान गएको थियो । ‘पहिरो गइरहने भएकाले यस्ता तालिमले सहयोगमा जुट्न सहयोग पुग्नेछ । यस्तो तालिमको पहिलेदेखि चाहना थियो बल्ल पूरा भएको छ,’ उनले भनिन् ।
प्रतिबद्ध परियोजना–२ की जिल्ला संयोजक दीपिका अर्यालका अनुसार तालिममा ८८ जना सहभागी भएका छन् । तीमध्ये विद्यार्थी तथा युवायुवती छन् । ‘भोटेकोशी गाउँपालिकाभरका विपद् व्यवस्थापन समितिका सदस्य, सामुदायिक विपद् जोखिम तथा न्यूनीकरण समितिका सदस्य र विभिन्न विपद् समितिका कार्यदलका सदस्यसमेत तालिममा सहभागी भएका छन् । यसले सबैमा नयाँ ऊर्जा भरेको प्रतिक्रिया मिलेको छ,’ अर्यालले भनिन् । उनका अनुसार तालिममा प्राथमिक उपचार र घाइतेको जाँच मुटु फोक्सोको सञ्चालन, कृत्रिम श्वासप्रश्वास, रक्तस्राव, नाका कान घाँटीको प्राथमिक उपचार, पोलेको वा हड्डी भाँचिएको समस्याबारे प्राथमिक उपचारलगायतका कुरा सिकाइएको हो ।
सहभागीलाई जिल्ला रेडक्रस कोर्स संयोजक राजकुमार लम्साल, उद्धार क्षेत्रमा सक्रिय भरत कोइराला, दिवाकर पौड्याल, ऋषि खतिवडालगायतका प्रशिक्षकले तालिम दिएका हुन् । सिन्धुपाल्चोका विभिन्न स्थानमा भूकम्पको धक्काले कमजोर बनेका पहाडी क्षेत्रमा सधैंजसो पहिरो खसिरहन्छ । वर्षायाम सुरु हुन थालेसँगै स्थानीयहरू पालैपालो जाग्राम बस्न बाध्य हुन्छन् ।
भोटेकोशी गाउँपालिकामा युरोपेली संघको आर्थिक सहयोग र पिपुल इन निड, सामुदायिक आत्मनिर्भर सेवा केन्द्र, सेभ द चिर्ल्ड्रेन र स्कट विल्सन नेपालको प्राविधिक साझेदारीमा सञ्चालन भएको परियोजनाअर्न्तगत दुई वर्षदेखि जोखिम तथा विपद्बाट बच्ने तालिम तथा उपायबारे अभियान थालिएको फिल्ड संयोजक सीता भुजेलले बताइन् । उनका अनुसार बाह्रबिसे र भोटेकोशीलाई प्रमुख केन्द्र बनाएर काम भइरहेको छ ।
पछिल्ला केही वर्षमा बाह्रबिसे नगरको घुम्थाङ नागपुजे भीरखर्क र विक टोल, जम्बु, खाग्दलसहित भोटेकोशीको फुल्पिङकट्टी, तातोपानी दुगुनामा पहिरोमा परि कैयौंले ज्यान गुमाइसकेका छन् । त्यस्ता घटना दोहोरिन नदिन जोखिम आकलन, बस्ती स्थानान्तरण र उपयोगी तालिम दिन थालिएको उनले बताइन् ।
