धनगढी — कैलालीको निर्वाचन क्षेत्र ५ (२) को चुनावी प्रतिस्पर्धालाई चासोको रूपमा हेरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका भतिजा प्रकाश देउवाको उम्मेदवारीका कारण चुनावी चर्चा बढेको हो । गठबन्धनका उम्मेदवार देउवा, एमालेका दुर्गाप्रसाद जोशी कांग्रेसका बागी उम्मेदवार क्षितिज भण्डारी, राप्रपाका शिवराज भण्डारी र नागरिक उन्मुक्ति पार्टीका गोठुराम चौधरी मुख्य प्रतिस्पर्धामा छन् ।
संगठित मतका आधारमा एमालेका जोशी र देउवाको प्रतिस्पर्धी हुने देखिएको छ । तर भेगीय र जातिय मत ट्रान्सफरको जोखिम प्रतिस्पर्धी उम्मेदवारलाई छ । कांग्रेसको बलियो जनाधार भएको कैलाली ५ (२) मा देउवालाई भेगीय नारामा मत ‘ट्रान्सफर’ को डर बढी छ । उनका प्रतिस्पर्धी एमालेका जोशी, देउवाका बागी पूर्वविद्यार्थी नेता क्षितिज भण्डारी र राष्ट्रिय प्रजातन्त्र पार्टीका शिवराज भण्डारी डोटी पुर्खौली घर भएका उम्मेदवार हुन् ।
एमालेबाट २०७४ मा धनगढी उपमहानगरको मेयरका दुर्गाा जोशी उम्मेदवार थिए । उनले उतिबेला ९ हजार बढी मत प्राप्त गरेका थिए । यसका आधारमा एमालेको संगठित मत, भेगीय र गठबन्धनबाट मत ‘ट्रान्सफर’ भएमा आफ्नो जितलाई सहज रूपमा एमालेका जोशीले देखेका छन् । डोटीबाट बसाइँ सरेका मतदाता सख्या यहाँ बढी छ । डोटीको भेगीय राजनीति मौन अवधिमा कतिको प्रभावकारी हुन्छ वा हुँदैन ? मुख्य प्रतिस्पर्धामा रहेका गठबन्धनका देउवाको हारजितलाई प्रभावित पार्न सक्ने राजनितिक विश्लेषकहरू बताउँछन् । तर प्रदेश २ मा राना थारुको मत निर्णायक छ ।
पछिल्लो समयमा सुदूरपश्चिमका अन्य जिल्लाको मत संख्यासमेत बढी भएकाले एक मात्र डोटी भेगीय नारा प्रभावकारी नहुने कांग्रेसका रतन कठायतको भनाइ छ । गठवन्धनका उम्मेदवार प्रकाशको चुनाव जित्ने आधार गएको स्थानीय तहको निर्वाचनको परिणाम पहिलो हो । यस निर्वाचन क्षेत्रमा पर्ने धनगढी उपमहानगरका ९ मध्ये ७ वडाहरू कांग्रेसले जितेको छ । ‘मेरो निर्वाचन क्षेत्र कांग्रेसको पकड भएको पकेट क्षेत्र हो,’ देउवाले भने, ‘जित सुनिश्चित जस्तै लाग्छ ।’ उनले यस पटक मतदातामा नयाँ र युवा अनुहारको चाहाना प्रतिबिम्ब भएकाले आफूले त्यसको प्रतिनिधित्व गरेको बताए । ‘जनताका स्थानीय मुद्दाको सम्बोधनका लागि संघ र प्रदेशमा पहुँच तथा प्रभावकारी दबाब दिन सक्ने नेतृत्व धनगढीले खोजेको छ,’ उनले भने, ‘मेरो राजनितिक परिवारिक वातावरणले पनि मनै मतदाताका लागि सही सावित छु जस्तो लाग्छ ।’
धनगढी उपमहानगरका १ देखि ६ सम्म ११, र १३ वडाका मतदाता पर्छन् । क्षेत्र नम्बर ५ का १ लाख बढी मतदातामध्ये (२) मा करिब ५० हजार छन् । प्रदेश २ धनगढी उपमहानगरको सहरी क्षेत्र पनि हो । प्रकाश देउवाले आफ्ना पार्टीका बागी उम्मेदवार पूर्वविद्यार्थी नेता भण्डारीलाई प्रमुख चुनौतीका रूपमा देखेका छैनन् । उनका अनुसार भण्डारीले नातागोताका भोट मात्रै पाउनेछन् । प्रकाशलाई केवल यहाँ राजनीति भेगीय र जातिय आधारमा मत प्रभावित नहोस् भन्ने मात्रै डर छ ।
देउवाका लागि प्रतिस्पर्धी डोटी भेगीय मत विभाजन बढी हुने देखिएको छ । यस अवस्थामा देउवालाई हराउने खेलमा कांग्रेसका बागी र राप्रपाका मत एमालेका जोशीलाई ‘ट्रान्सफर’ भएमा देउवालाई जित सहज रूपमा निकाल्न गाह्रो हुने राजनीतिक जानकारहरूले बताउँछन् । प्रदेश २ मा राना थारूको मतदाता सख्या पनि निर्णायक छ । तर नागरिक उन्मुक्ति पार्टीका प्रदेश उम्मेदवार गोठु चौधरीले रानाथारूको मत बढी पाउने देखिएको छन् ।
देउवा पत्नी आरुजुले पुनः चुनावी मैदानमा उत्रिनबाट रोक्नमा कांगेसभित्रकै पुष्करनाथ ओझा एक ‘फ्याक्टर’ देखिएका थिए । ओझा प्रतिनिधिसभा सदस्य पदमा अहिले स्वतन्त्र उम्मेदवार छन् । ओझा फ्याक्टरले देउवा हराउने खेल खेल्ने कठायतको भनाइ छ । गठबन्धनका तर्फबाट कांग्रेसका डिल्लीराज पन्त चुनावी प्रतिस्पर्धामा छन् ।
