कञ्चनपुर–३ मा कसले जित्ला ?

कार्तिक ३०, २०७९

कान्तिपुर संवाददाता

कञ्चनपुर —  तीन पटक सांसद भइसकेका रमेश लेखक यसपटक पनि कञ्चनपुर ३ मा प्रतिस्पर्धा गर्दै छन् । अघिल्लो निर्वाचनमा भएको पराजयको बदला लिने तयारी साथ गठबन्धनका उम्मेदवार लेखक चुनावी मैदानमा छन् । तर उनलाई कांग्रेसकै बागीको डर छ । कांग्रेसका महाधिवेशन प्रतिनिधि दीपकबहादुर सिंह र शारदा चन्दले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यद्यपि कांग्रेस कञ्चनपुरले उनीहरूलाई पार्टीबाट निष्कासन गरिसकेको छ । 

चौथो पटक प्रत्यक्ष चुनाव लडिरहेका लेखक एक पटक समानुपातिकसहित चार पटक सांसद भइसकेका छन् । ०७४ को निर्वाचनमा एमालेका दीपकप्रकाश भट्टसँग २५६ मतको झिनो अन्तरले पराजित भएका थिए । यसपटक गठबन्धनमा माओवादी र एकीकृत समाजवादीको समेत साथ पाएका लेखकलाई केही सहज भएपनि बागीले चुनौती थपिएको छ । २०५६ मा पहिलो पटक सांसद निर्वाचित लेखक ०६४ को पहिलो संविधानसभामा समानुपातिकबाट सदस्य भएका थिए । 

०७० को दोस्रो संविधानसभामा तत्कालीन कञ्चनपुर क्षेत्र नं. ४ बाटै निर्वाचित भएका उनी पटकपटक मन्त्री समेत भइसकेका छन् । लेखकको मुख्य प्रतिस्पर्धा एमालेकी निरुदेवी पालसँग छ । एमाले कञ्चनपुरकी इन्चार्ज समेत रहेकी पाल अध्यक्ष केपी ओलीकी विश्वासपात्र हुन् । ०७४ मा समानुपातिबाट सांसद भएकी उनी संसदको महिला तथा बालबालिका समितिकी सभापति पनि भइन् ।

कोरोना संक्रमणका बेला पालले महाकाली अस्पतालमा अक्सिजन उपलब्ध गराउनेदेखि डाक्टरको पदपूर्तिका लागि गरेको पहलका कारण उनलाई यस क्षेत्रका जनताले जिताउने एमालेका नेता कार्यकर्ताहरू बताउँछन् । क्षेत्र नं. ३ मा एमालेले राप्रपासँग तालमेल गरेको छ । जिल्लाका अन्य क्षेत्रको तुलनामा क्षेत्र नं. ३ मा राप्रपाको संगठन पनि बलियो छ । यसकारण जित सहज हुने एमाले प्रदेश सचिवालय सदस्य महेश पन्त बताउँछन् । 

 कांग्रेस र एमाले दुवैमा आन्तरिक असन्तुष्टि पनि देखिन्छ । असन्तुष्टि त्यति ठूलो नभए पनि भित्रभित्रै भुसको आगोजस्तै भइरहेको नेताहरू बताउँछन् । स्थानीय तहको निर्वाचन र प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा टिकटका दाबेदार मानिएकाहरू असन्तुष्ट रहेको नेताहरू बताउँछन् । 

कान्तिपुर

Link copied successfully