सुदूरपश्चिमका मुख्यमन्त्री दाबेदारका चुनौती

डडेल्धुरामा देउवापछि कांग्रेसमा नेता को हुने भन्ने लडाइँका कारण पार्टीभित्रबाट अन्तरघात हुन सक्ने सम्भावना 

कार्तिक १५, २०७९

डीआर पन्त

धनगढी — डडेल्धुरामा सत्ता गठबन्धनबाट प्रदेश क्षेत्र–१ मा उम्मेदवार बनेका खगराज भट्टलाई सुदूरपश्चिम प्रदेशको भावी मुख्यमन्त्रीका रूपमा हेरिएको छ । निर्वाचनपछि गठबन्धनको सरकार बने भट्ट नै मुख्यमन्त्री बन्ने प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबीचमा सहमति नै भइसकेको चर्चा छ ।

अर्कोतर्फ डडेल्धुरामै प्रदेश क्षेत्र–२ मा गठबन्धनबाटै उम्मेदवार रहेका कांग्रेस नेता गोविन्द बोहरालाई पनि भावी मुख्यमन्त्रीकै रूपमा हेरिएको छ । क्षेत्र–१ मै एमाले उम्मेदवार बनेका पठानसिंह बोहरालाई पनि निर्वाचनमा पार्टीले भावी मुख्यमन्त्रीका रूपमा प्रचारप्रसार गरिएको छ । एउटै जिल्लामा प्रतिस्पर्धामा रहेका तीनै जना उम्मेदवारमध्ये कसले जित हात पार्लान् र मुख्यमन्त्री बन्लान् भन्ने मतदातामाझ चासो र चर्चाको विषय बनेको छ ।

माओवादीका प्रदेश इन्चार्जसमेत रहेका भट्ट संविधानसभाको पहिलो निर्वाचनदेखि लगातार तीन पटकसम्म प्रधानमन्त्री देउवाको प्रतिस्पर्धी थिए । यसपल्ट उनी कांग्रेससहितको गठबन्धनका साझा उम्मेदवार छन् । भट्टसँग प्रतिस्पर्धा गरिरहेका एमालेका पठानसिंह प्रदेशका भौतिक योजनामन्त्री भइसकेका व्यक्ति हुन् । उनको बसोबास जिल्लाको आधाभन्दा बढी मतदाता रहेको भित्री मधेस क्षेत्रमा छ । उक्त क्षेत्रमा एमालेको संगठन कमजोर भए पनि क्षेत्रीय रूपमा मतदातालाई ध्रुवीकरण गर्ने प्रयासमा उनी छन् । यसमा उनी सफल भएमा गठबन्धनको साथ रहे पनि भट्टलाई जित्न चुनौती हुन सक्छ ।

डडेल्धुरा भौगोलिक रूपमा दुई भेगमा विभाजित छ । ७ स्थानीय तहमध्ये परशुराम नगरपालिका र आलीताल गाउँपालिका भित्री मधेसमा पर्ने रंगुन उपत्यकाभित्र पर्छन् । पहाडी क्षेत्रमा ५ पालिका रहे पनि रंगुन उपत्यकामा पर्ने यी २ पालिकाको जनसंख्या लगभग बराबर छ । तर, जिल्लामा ४४ हजार ९ सय ६६ मतदाता रहेकामा परशुराम र आलीतालमा आधाभन्दा बढी मतदाता छन् ।

गत स्थानीय निर्वाचनमा परशुराम नगरप्रमुख कांग्रेसले जितेको थियो । आलीतालको अध्यक्षमा माओवादी उम्मेदवार विजयी भएका थिए । परशुराममा माओवादीले उपप्रमुखसहित बहुमत वडाध्यक्ष जितेको थियो । स्थानीय निर्वाचन परिणाम हेर्दा आलीतालमा माओवादी र कांग्रेसको मत झन्डै दुई तिहाइ छ । यी दुवै पालिकामा एमाले कमजोर देखिन्छ । 

भित्री मधेस क्षेत्रमा सुदूरका ७ पहाडी जिल्ला र सुर्खेत, दैलेखबाट बसाइँ सरिआएका मतदाता धेरै छन् । ०७४ को निर्वाचनमा माओवादीको साथमा एमालेका बोहराले कांग्रेसका पुराना नेता रघुवर भट्टलाई पराजित गरेका थिए । ‘भेगीय आधारमा मतदाता बाँडिने सम्भावना निकै कम छ,’ स्थानीय शिक्षक करविर बोहराले भने, ‘कांग्रेस र माओवादीको बलियो संगठनका कारण केही प्रतिशत भेगीय आधारमा मत विभाजन भए पनि त्यसले हारजितमा फरक पार्ला जस्तो लाग्दैन ।’ पहाडी क्षेत्रको भागेश्वर र अजयमेरु गाउँपालिकाको मतले हारजित निर्धारण गर्न सक्ने देखिएको उनको दाबी छ । ‘भट्ट अजयमेरुका बासिन्दा भएकाले पनि यो पटक गठबन्धन हावी हुन सक्ने सम्भावना देखिन्छ,’ उनले भने ।

अर्कोतर्फ प्रदेशका बहालवाला सामाजिक विकासमन्त्री गोविन्दसँगै एकीकृत समाजवादीका तारा जोशी र एमालेका गजेन्द्र शाही प्रतिस्पर्धा गरिरहेका छन् । गोविन्दसामु एमाले उम्मेदवारभन्दा पनि एकीकृत समाजवादीबाट विद्रोह गरेर बीपी कांग्रेसको सहयोगमा उम्मेदवार भएका जोशीको मुख्य चुनौती छ । ०७४ को निर्वाचनमा जोशी कांग्रेस बीपीका वरिष्ठ उपाध्यक्ष कर्ण मल्लसँग २ सय मतान्तर पराजित भएका थिए ।

यो पटक एकीकृत समाजवादीले अन्तिम समयसम्म प्रदेशको यो क्षेत्र आफूलाई दिनुपर्ने अडान राखेको थियो । तर, कांग्रेसभित्रै विद्रोह हुन सक्ने सम्भावनाका कारण अन्ततः कांग्रेसकै भागमा परेको थियो । प्रतिनिधिसभातर्फ कांग्रेसमा विद्रोह गरेर बीपी कांग्रेसबाट प्रधानमन्त्री देउवालाई चुनौती दिइरहेका मल्लको क्षेत्र पनि यही हो । मल्ल र जोशीबीच चुनावी तालमेल भएका कारण एमालेले प्रतिनिधिसभातर्फ मल्ललाई दिएको समर्थन फिर्ता गरेको छ ।

एमालेका शाही यो क्षेत्रमा अर्का उम्मेदवार हुन् । उनको गृह क्षेत्र प्रदेश–१ भए पनि क्षेत्र–२ मा आएर निर्वाचन लडिरहेका छन् । जोशी गन्यापधुराका बासिन्दा हुन् । यो क्षेत्रमा संगठनात्मक रूपमा एमाले बलियो नभए पनि भेगीय नाराले जोशीलाई पनि दाबेदार मानिएको छ । गत स्थानीय निर्वाचनमा कांग्रेसबाट विद्रोह गरेर एमालेको सहयोगमा यस क्षेत्रका ३ स्थानीय तहमा कांग्रेस बीपीले प्रमुख पदमै कांग्रेससँग प्रतिस्पर्धा गरेको थियो ।

कांग्रेस बीपीका उम्मेदवार अमरगढी नगर प्रमुखमा २ सय मतले पराजित भएका थिए । तर, जोशीको उम्मेदवारीले एमालेको मत विभाजन हुने भएकाले गठबन्धनका बोहरालाई निर्वाचन जित्न सहज हुने आकलन गर्छन्, स्थानीय शिक्षक हरिकृष्ण भट्ट । ‘एमालेका शाही र एकीकृत समाजवादीका जोशीबीच मत विभाजन हुँदा त्यसको प्रत्यक्ष फाइदा बोहरालाई मिल्न सक्छ, यसकै आधारमा उनको जित सहज हुन सक्छ,’ उनले भने । 

तर, डडेल्धुरामा देउवापछि कांग्रेसमा नेता को हुने भन्ने लडाइँका कारण बोहराप्रति पार्टीभित्रैबाट अन्तरघात हुन सक्ने सम्भावना पनि उत्तिकै रहेको बताउँछन् जिल्ला नेताहरू । यो क्षेत्रमा सदरमुकाम रहेको अमरगढी नगरपालिका, देउवाको गृहपालिका गन्यापधुरा, नवदुर्गा गाउँपालिका र अजयमेरु गाउँपालिकाका ४ वडा पर्छन् । गत स्थानीय निर्वाचनमा अजयमेरुको नेतृत्व माओवादीले लिएकोमा अरू पालिकामा कांग्रेसले बहुमत हात पारेको थियो । अन्य पालिकामा भने माओवादीको उपस्थिति बलियो छैन । यो क्षेत्रमा ४६ हजार २ सय ३५ मतदाता छन् ।

आमनिर्वाचन २०७९

डीआर

Link copied successfully