कर्णालीमा सत्ता गठबन्धनकी एक्ली महिला उम्मेदवार

कार्तिक १५, २०७९

कान्तिपुर संवाददाता

जुम्ला — मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि कर्णालीमा सत्ता गठबन्धनबाट एक्ली महिला उम्मेदवार गोमा गौतम कुँवर चुनावी मैदानमा होमिएकी छन् । उनलाई माओवादी केन्द्रले जुम्लाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको हो । माओवादीले उनीसहित कर्णाली प्रदेशसभा सदस्य नरेश भण्डारी, डा.कलबहादुर रोकाया र मनऋषि धितालको नाम सिफारिस गरेको थियो ।

सत्ता गठबन्धनबाट उम्मेदवारी दिएकी उनी अहिले मतदाताको घरदैलोमा छिन् । ‘मतदाताले जिताउँछन् भन्ने पूर्ण विश्वास छ, जितेमा इमानदारीसाथ जनताको सेवामा तल्लीन हुनेछु,’ उनले भनिन्, ‘यो पटक कर्णालीले प्रत्यक्ष लड्ने महिला उम्मेदवार पाएको छ, जुम्लाले पनि इतिहास रच्नेमा आशावादी छु ।’ उनले महिला सशक्तीकरण र जुम्लामा पूर्वाधार विकासलाई मुख्य एजेन्डा बनाएकी छन् । कुँवर २०७० मा संविधासभा सदस्यमा समानुपतिकतर्फबाट निर्वाचित् भइन् । पशुपन्छी विकास राज्यमन्त्रीसमेत बनिन् । 

चन्दननाथ–१ का रमानन्द आचार्यले महिलाले सांसदमा प्रत्यक्ष टिकट पाएर संसद्मा लडेको जुम्लाका लागि पहिलो इतिहास भएको बताए । ‘महिलालाई नेतृत्व तहसम्म पुग्न नदिने र नेतृत्व पाइहालेमा पनि पचाउन गाह्रो मान्ने समाजमा प्रत्यक्षतर्फ चुनावी मैदानमा जानु राम्रो पक्ष हो,’ उनले भने, ‘अब नयाँ अनुहारलाई हेर्न जरुरी छ ।’

गठबन्धनकी उम्मेदवार कुँवरसँग एमालेका रतननाथ योगी र राप्रपाका ज्ञानेन्द्र शाहीले प्रतिस्पर्धा गर्दै छन् । स्वतन्त्र उम्मेदवारी दिएका माओवादी नेता कलबहादुर रोकायाले भने प्रेस विज्ञप्तिमार्फत आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका छन् । पञ्चायतको दोस्रो संशोधनअघि जुम्ला र कालीकोट एउटै जिल्ला थिए । त्यसबेला दाम्रे कार्कीकी दुईवटी श्रीमती प्रधानपञ्च र उपप्रधानपञ्चमा लडेको इतिहास छ । उनीहरू दुवैले जितेर शासन चलाएका थिए । पहिलो स्थानीय तह निर्वाचनमा चन्दनाथ नगरपालिका प्रमुखमा कांग्रेसकी कान्तिका सेजुवाल नगर प्रमुख बनेकी थिइन् ।

कर्णालीका महिला चुलोचौका र धारो/पँधेरोमै सीमित भएकाले उनीहरूको सशक्तीकरणका लागि धेरै काम गर्न बाँकी रहेको कुँवरले बताइन् । ‘मुलुकमा धेरै व्यवस्था फेरिए, पञ्चायत, राजतन्त्र, बहुदल हुँदै गणतन्त्र आयो, तर नागरिकको अवस्था फेरिएन, अझ महिलाको अवस्था ज्युँका त्युँ नै छ,’ उनले भनिन्, ‘मलाई अब महिलाले अवसर पाए केही गर्न सक्छन् भन्ने देखाउनुछ ।’

कुँवर एकीकृत माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव हुन् । उनी कक्षा ९ मा पढ्दापढ्दै २०५५ मा तत्कालीन माओवादीमा लागेर भूमिगत भएकी थिइन् । जुम्ली मतदाताले हरेक चुनावमा एक नयाँ पात्र छानिरहेको स्थानीय अगुवा कमल न्यौपानेले बताए ।

‘मतदाताले उम्मेदवारको सक्षमता र राजनीतिक इमानदारिता पनि हेर्न जरुरी छ, तर महिलाले प्रत्यक्षमा त्यो पनि संघीय सांसदमा लड्न पाउनु अवसर पनि हो,’ उनले भने, ‘सत्ता गठबन्धनबाटै साझा उम्मेदवार भएकाले उनीसँग खासै ठूला चुनौती पनि छैनन् ।’

आमनिर्वाचन २०७९

कान्तिपुर

Link copied successfully