बाँदर भगाउनेलाई भोट !

दलहरूले बाँदरलगायत जंगली जनावरबाट बाली जोगाउन आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन हुनेमा किसान ढुक्क छैनन्

कार्तिक १५, २०७९

वीरेन्द्र केसी, माधव अर्याल, गगनशिला खड्का

पाल्पा, अर्घाखाँची, गुल्मी — आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चहलपहल बढेको छ । पहाडी जिल्ला पाल्पा, गुल्मी र अर्घाखाँचीका सदरमुकाम र बजारक्षेत्रभन्दा बाहिरका किसान र स्थानीयले ठूला माग अघि सारेका छैनन् । दलहरूले आफ्ना प्रतिबद्धतापत्रमा विभिन्न आश्वासन बाँडे पनि किसानको पहिलो माग भनेको बाँदरलगायत जंगली जनावरबाट बाली जोगाउने रहेको छ ।

‘दलहरूले चुनावका बेला धेरै आश्वासन बाँड्छन्,’ पाल्पाको रैनादेवी छहरा गाउँपालिका–५ मुझुङका किसान अमर कार्कीले भने, ‘तर, हाम्रो पहिलो माग बाँदरलगायत जंगली जनावरको नियन्त्रण नै हो ।’ जंगली जनावरबाट तरकारी साथै अन्नबाली जोगाउनै मुस्किल पर्न थालेको उनले बताए । गाउँका किसानका खेतबारीका अन्नबालीलाई बाँदरलगायत अन्य वन्यजन्तुले नोक्सानी पुर्‍याइदिँदा किसानलाई निराश तुल्याएको उनले बताए । जिल्लाको मुख्यबाली भित्र्याउने सिजनमा बाँदर, दुम्सी, बँदेल, हरिण, मृगलगायत जंगली जनावरबाट बाली बचाउनै मुस्किल पर्ने उनको भनाइ छ ।

जुनसुकै बाली लगाए पनि स्याहार्न नपाइने सधैंको समस्या अहिले पनि उस्तै रहेको रैनादेवी छहरा–४ की लक्ष्मी रायमाझीले सुनाइन् । मकै, आलु, सिमी, बोडीलगायत बाली दिउँसोमा बाँदरले र रातको समयमा बँदेल, दुम्सी, मृगलगायत जंगली जनावरले नोक्सानी पुर्‍याएर भित्र्याउनै नपाएको उनको गुनासो छ । दलहरूका प्रतिबद्धतापत्रमा पनि बाँदरलगायत अन्य जंगली जनावरको समस्या समाधान गर्ने लेखेका छन् । तर, कार्यान्वयन हुनेमा किसान भने ढुक्क छैनन् ।

गत स्थानीय निर्वाचनमाा पनि यस्ता प्रतिबद्धता नगरिएको होइन । सत्ता गठबन्धन (कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा) को ४३ बुँदे प्रतिबद्धतापत्रको ४२ औं बुँदामा बाली सुरक्षाका लागि बाँदर नियन्त्रण गर्न प्रभावकारी कार्यक्रम ल्याइने भनिएको छ । एमालेले प्रकाशन गरेको ‘मतदान किन ?’ भन्ने चुनावी पर्चाको १० औं बुँदामा बाँदर, दुम्सी, बँदेललगायत वन्यजन्तु व्यवस्थापन गर्ने नीति ल्याएर किसानलार्ई सहयोग पुर्‍याउने उल्लेख छ । जिल्लाका १० वटै स्थानीय तहमा बाँदरलगायतबाट समस्या भए पनि तानसेन नगरपालिका, रैनादेवी छहरा, तिनाउ, रिब्दीकोट, बगनासकाली गाउँपालिकामा बाँदरलगायत जंगली जनावरबाट बढी समस्या देखिएको छ ।

२०७४ को आमचुनावमा छत्रदेव गाउँमा मत माग्न जाँदा एमाले उम्मेदवार चेतनारायण आचार्यलाई गाउँलेले ‘बाँदर धपाइदिने भए भोट दिन्छौं’ भनेका थिए । सोहीअनुसार आचार्यले आफ्नो चुनावी एजेन्डामा उक्त माग सम्बोधन गर्ने प्रतिबद्धता जाहेर गरे । उनी अर्घाखाँची क्षेत्र– १ (१) बाट प्रदेशसभामा निर्वाचित भएर लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री पनि भए । तर, बाँदरको समस्या टरेन । अहिले फेरि उनी प्रदेशसभा सदस्यका लागि उम्मेदवार छन् । केही दिनअघि छत्रदेवमा मत माग्न पुगेका आचार्यसँग स्थानीयले पुरानै माग दोहोर्‍याए ।

‘बाँदरले हिउँदे र वर्षेबाली नोक्सान गरिदिएर हैरानी बनाएको, बारीमा फल्दै गरेको आधा अन्न नोक्सान गरिदिएको, घरभित्र पसेर पकाएर राखेको खाना, अन्नपात, लत्ताकपडा नोक्सान गरिदिएको,’ स्थानीयले गुनासो गरे । बाँदरकै कारण अन्नबाली, तरकारी उत्पादन घट्दो भएकाले गाउँबाट बसाइँसराइ गर्नुपर्ने अवस्था आएको पनि दुखेसो पनि स्थानीयले पोखे । ‘मकै जोगाउन दिन–रात चौकीदारी बस्नुपर्छ, त्यो गर्दा पनि आधा त खाइदिइहाल्छ,’ बल्कोटकी शारदा खनालले भनिन्, ‘भोट माग्न आएका नेताहरूसँग अगाडिका धेरै चुनावमा भन्यौं, हुन्छ भन्छन् तर केही गर्दैनन् ।’आचार्यले विशेषज्ञसँग परामर्श गरेर बाँदर नियन्त्रणका उपाय खेजिने जवाफ दिए ।

२०७४ मा छत्रदेव गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि लेखनाथ पोखरेलले ५ वर्षसम्म बाँदर विशेषज्ञसँग परामर्श, बाँदर धपाउन गन, तलब दिएर हेरालु पनि राखे । बाँदर नियन्त्रण गर्न खोजे । तर, समस्या समाधान भएन । हरेक निर्वाचनमा छत्रदेव, मालारानी खनदह, पाणिनि गाउँपालिकाको खिदिम, दुर्गाफाँट र सन्धिखर्क नगरपालिकाको वाङलाका मतदाताको पहिलो माग बाँदर धपाइदिने हुन्छ । अहिले उम्मेदवारहरू गाउँमा मत माग्न पुगेका छन् । तर, बाँदर नियन्त्रणको ठोस उपाय बताउन सकेका छैनन् ।

‘बाँदरको समस्या ठूलो छ, बृहत् रूपमा विशेषज्ञसित छलफल गर्ने र कानुन नै परिवर्तन गरेर भए पनि बाँदरमुक्त गाउँ बनाउने उपाय खोज्नुपर्छ,’ छत्रकोटका निर्वतमान अध्यक्ष पोखरेलले भने, ‘आवश्यक परे बाँदर मार्ने उपाय पनि खोज्नुपर्छ । गाउँमा कुनै कार्यक्रम र मत माग्न जाँदा सबैले यही माग राख्छन् ।’

जिल्लामा प्रतिनिधिसभा सदस्यमा गठबन्धन उम्मेदवार कांग्रेस नेतृ पुष्पा भुसाल गौतम र एमाले उम्मेदवार टोपबहादुर रायमाझीले कुनै उपाय लगाएर वा वैकल्पिक खेती प्रणाली अपनाएर भए पनि बाँदरको दुःखबाट किसानलाई मुक्त गरेर ढुक्कले खेती गरेर खाने/बस्ने व्यवस्था गरिने दाबी गरेका छन् ।

‘गाउँमा जाँदा होस् या फोनमा किसानले बाँदर आएर बारीको अन्नबाली सखाप पार्‍यो भनेर समस्या बताउँछन्,’ भुसालले भनिन्, ‘हुन त यो देशभरको समस्या हो । अर्घाखाँचीमा बढी समस्या छ । यसलाई वैकल्पिक उपाय खोजेर गाउँबाट किसानलाई विस्थापित हुनबाट अवश्य रोक्छौं ।’

‘समाधानका उपाय लिएर किसानमाझ पुग्छौं’ 

भोट माग्न आफ्नो गाउँ आइपुगेका एमाले सचिव एवं गुल्मी क्षेत्र–२ का उम्मेदवार गोकर्ण विष्टसँग मदाने गाउँपालिका–४ होलबाङका खिमबहादुर थापाले बँदेलले खेती गरेर खान नदिएको गुनासो गरे । ‘बँदेलले मकैमा दाना लाग्यो कि दाइँ लाइदिन्छ, धान पसायो माडेर सखाप पार्छ, अब कोदो पसायो कोदो नै बर्बाद पारिदिन्छ,’ ७० वर्षीय थापाले भने, ‘हामीले खेती गरेर खान नपाउने भयौं, लौ कसरी हो हामीलाई यसबाट पार लगाइदिनुपर्‍यो ।’

सत्यवती गाउँपालिका–१ रामबारीका दुर्गाप्रसाद पाण्डेले एमाले उपमहासचिव एवं गुल्मी क्षेत्र–१ का उम्मेदवार प्रदीप ज्ञवालीसँग बाँदरले आफूहरूलाई खेतीपाती स्याहार्न नदिएको भन्दै बाँदरको समस्या समाधान गरिदिन आग्रह गरे । अहिले संघीय र प्रदेशसभा निर्वाचनका लागि भोट माग्दै गाउँमा पुगेका उम्मेदवारसँग गुल्मीवासीले बाँदर र बँदेलको समस्या समाधानका लागि हारगुहार नै गरिरहेका छन् ।

‘म वडाध्यक्ष भए पनि बाँदर लखेट्ने कि वडाका काम गर्ने भनेर हैरान परेको छु,’ राष्ट्रपति उत्कृष्ट किसान पुरस्कारसमेत पाएका अस्लेवाका व्यावसायिक किसान एवं सत्यवती–१ का वडाध्यक्ष अर्जुन कनौजेले भने, ‘जसले बाँदरको समस्या समाधान गरिदिन्छ, उसैलाई एकछापे भोट हाल्छौं भन्ने मतदाताको भनाइ छ ।’

विकास निर्माणका मुद्दा लिएर भोट माग्न जनताका घरदैलोमा पुगेका उम्मेदवारसँग जनताले बाँदर र बँदेलको समस्या तेर्स्याएपछि अहिले चुनावी एजेन्डाकै रूपमा राख्नुपर्ने अवस्था आएको उम्मेदवार विष्टको भनाइ छ । उनले भने, ‘देश–विदेशमा बाँदर र बँदेलको समस्या समाधानका लागि भएका प्रयत्नहरू अध्ययन गरेर समाधानका उपाय किसानसम्म लिएर जानेछौं ।’

आमनिर्वाचन २०७९

वीरेन्द्र

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

गगनशिला खड्का कान्तिपुरकी गुल्मी संवाददाता हुन् ।

Link copied successfully