२५ वर्षीय दिनेश चौलागाईंदेखि ८५ वर्षीय विष्णुप्रसाद ढकालसम्म स्वतन्त्र उम्मेदवारका रुपमा प्रतिस्पर्धामा
काठमाडौँ — काठमाडौं, ललितपुर र भक्तपुरका १५ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र १ सय ४० जना र ३७ दलका २ सय २० जना प्रतिस्पर्धामा छन् । पटक–पटक सत्ता सञ्चालनको अवसर पाएका दलका उम्मेदवारको तुलनामा आफूहरू योग्य रहेको भन्दै स्वतन्त्र उम्मेदवारहरू अहिले मतदाताको घरदैलोमा पुगिरहेका छन् । उनीहरूले २०४६ पछि राज्य सञ्चालनका क्रममा देखिएका बेथितिलाई मूल नारा बनाएका छन् ।
२५ वर्षीय दिनेश चौलागाईंदेखि ८५ वर्षीय विष्णुप्रसाद ढकालसम्म स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धामा छन् । स्वतन्त्र उम्मेदवार अधिकांश युवा छन् । २०४६ पछि लगातार सत्तामा रहेका दल तथा तिनका उम्मेदवारले निर्वाह गरेको भूमिकाप्रति जनता सन्तुष्ट छैनन् तर तिनका लागि स्वतन्त्र उम्मेदवार कति चुनौती बन्लान् ? उनीहरू कसैको मत काट्ने हैसियतमा मात्र सीमित होलान् कि आफैं प्रतिनिधिसभामा पुग्लान् ? नयाँ दल र स्वतन्त्र उम्मेदवारहरूको जित/हारको लेखाजोखा सुरु हुन थालेको छ ।
राजनीतिशास्त्रका प्राध्यापक खड्ग केसीले सहरी मतदाता बढी जानकार भएका हुनाले स्वाभाविक रूपमा राजनीतिक दलका उम्मेदवारप्रति वितृष्णा जाग्न सक्ने बताए । ‘सहरी मतदाता क्रिटिकल हुन्छन्, राजनीतिक समीक्षा गर्ने क्षमता विकास भएको हुन्छ,’ उनले भने, ‘पुराना नेताहरूबाट डेलिभरी हुन सकेन भन्ने कुराले निर्वाचनमा प्रभाव देखिन सक्छ । स्वतन्त्र उम्मेदवार राम्रो भएको खण्डमा पुरानालाई सशक्त दबाब दिन सक्ने अवस्था छ ।’
उनले काठमाडौंमा स्थानीय निर्वाचनजस्तो परिणाम आउन कठिन रहेको जनाए । ‘स्थानीय निर्वाचनजस्तो प्रभाव नपर्न सक्छ, व्यक्तिगत रूपमा स्वतन्त्र उम्मेदवार प्रभावशाली भए भने मात्र फरक पर्न सक्छ,’ उनको भनाइ छ । अर्का राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले स्वतन्त्र उम्मेदवार धेरै हुनुको कारण राजनीतिक दल जिम्मेवार भएको बताए । ‘स्वतन्त्र उम्मेदवार धेरै हुनु दल र नेताहरूप्रतिको वितृष्णा हो तर स्वतन्त्रको नाममा अराजकता पनि देखिएको छ, त्यो सकारात्मक छैन,’ उनको भनाइ छ ।
हाम्रो नेपाली पार्टीले काठमाडौंका सबै, ललितपुर र भक्तपुरका ५ मध्ये ३ क्षेत्रमा उम्मेदवारी दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ललितपुर र भक्तपुरका ४ तथा काठमाडौंका ९ क्षेत्रमा उम्मेदवार उठाएको छ । काठमाडौं–१ मा २०७४ मा जितेका कांग्रेसका प्रकाशमान सिंह यस पटक पनि उम्मेदवार छन् । गठबन्धनको समर्थनमा उम्मेदवार बनेका उनले गत निर्वाचनमा साझा पार्टीका रवीन्द्र मिश्रलाई ८ सय १८ मतले पराजित गरेका थिए । मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष भएर यस पटक पनि चुनावी प्रतिस्पर्धामा छन् ।
मिश्रले हिन्दु धर्म, राजसंस्था स्थापना र संघीयता खारेजीको मुद्दा अघि सारेका छन् । अघिल्लो पार्टी छाडेर राजावादी पार्टीको उम्मेदवार भएका मिश्रले यसअघि पाएको मत कायम राख्लान् कि नराख्लान् अनुमान गर्न सक्ने अवस्था छैन ।
सुशासन पार्टीका रमेश खरेल र स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बम ठूला दलबाहेक चर्चामा रहेका नयाँ अनुहार हुन् । खरेलले प्रहरी डीआईजीबाट राजीनामा दिएर नयाँ पार्टी खोलेका हुन् । उनले सुशासनको विषयमा आवाज उठाउँदै आएका छन् । बम सामाजिक अभियानबाट राजनीतिमा उदाएका हुन् । उनले गोविन्द केसीको मेडिकल शिक्षामा सुधार, बालुवाटार जग्गा फिर्ता, कोभिडको उपचार सामग्री खरिदलगायत अभियानमा अग्रणी भूमिका निर्वाह गरेका थिए । यो क्षेत्रमा तीन पटक निर्वाचन जितेका प्रकाशमानलाई पराजित गर्ने दाबी खरेल, बम र मिश्रले गरेका छन् ।
‘म सामाजिक कामबाट राजनीतिमा आएको हुँ,’ बमले भने, ‘मतदाताले मलाई धेरै रेस्पोन्स गरेका छन् ।’ खरेल पछाडि झोला भिरेर एक जना साथीसँगै मत माग्न घरैपिच्छे छिरेका छन् । उनी हरेक मतदातालाई भन्ने गर्छन्, ‘आफ्नो प्रतिनिधि गलत मान्छेलाई नछान्नुस् ।’ काठमाडौं–१ मा स्वतन्त्र उम्मेदवार ११ जना छन् ।
काठमाडौं–२ मा स्वतन्त्र उम्मेदवार १० जना छन् । उक्त क्षेत्रमा माओवादीकी ओनसरी घर्ती, एमालेका मणिराम फुयाँल, सचेत नेपाली पार्टीका पुण्यप्रसाद प्रसाईं, राप्रपाका महेश गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम, नेपाली कांग्रेस बीपीका हेमविक्रम सिलवाल, विवेकशील साझाका धनेश थापा, स्वतन्त्र दिनेश खनाललगायत उम्मेदवार प्रतिस्पर्धामा छन् । मुख्य प्रतिस्पर्धी अनुमान गरिएकाले फुयाँल र घर्तीलाई स्वतन्त्रले चुनौती दिन नसकेको मतदाता बताउँछन् ।
काठमाडौं–३ मा १५ वटा दल चुनावी मैदानमा छन् । स्वतन्त्र र दलका समेत २५ प्रतिनिधिसभा सदस्यका लागि २५ जना उम्मेदवार रहेको यस क्षेत्रमा स्वतन्त्रमध्येका दिनेश खनाल बढी चर्चामा छन् । उनी चिनियाँ मामिलाका जानकार हुन् ।
कांग्रेस महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका कारण चर्चामा रहेको काठमाडौं–४ मा १४ जना स्वतन्त्र उम्मेदवार छन् । कांग्रेसका थापा र एमालेका राजन भट्टराईबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान मतदाताको छ । थापाले उक्त क्षेत्रमा यसअघि दुई पटक जितेका थिए । नयाँ अनुहार र दलहरूले अहिलेसम्म आफू निर्वाचित हुने नै गरी चुनौती दिन नसकेको स्थानीय बताउँछन् । राप्रपा नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीले वक्तव्य निकालेर थापालाई समर्थन गरेका छन् । उक्त क्षेत्रमा १७ वटा राजनीतिक दल चुनावी मैदानमा छन् । थापा र भट्टराईलाई चुनौती दिन स्वतन्त्र उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् तर आफैं जित्ने माहोल बनाएको देखिँदैन । यो क्षेत्रमा राप्रपाबाट ठाकुरमोहन श्रेष्ठ र स्वतन्त्र उम्मेदवार अर्जुन प्रसाईंलगायत प्रतिस्पर्धामा छन् ।
१४ जना स्वतन्त्र उम्मेदवार रहेको काठमाडौं–५ मा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र कांग्रेस नेता प्रदीप पौडेलबीच मुख्य प्रतिर्स्धा हुने अनुमान छ । पोखरेलले यो क्षेत्रबाट यसअघि दुई पटक जितेका थिए । एमाले उपाध्यक्ष पोखेरलले यो क्षेत्रसँगको पुरानो सम्बन्ध र पार्टी संगठनलाई आधार बनाएका छन् । कांग्रेसका पौडेलले प्रतिनिधिसभामा आफू नयाँ अनुहार भएकाले जित्ने दाबी गरेका छन् । उनीहरूसँग रञ्जु दर्शना (न्यौपाने), विजय कँडेल, शैलेन्द्र बस्नेत, हेमराज थापा, श्री गुरुङलगायतका स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन् ।
निर्वाचित प्रतिनिधि आफ्नो उद्देश्यबाहिर गएकाले उनीहरूलाई ‘लिक’ मा ल्याउन खोजेको गुरुङले बताए । ‘संसद्ले निर्वाह गर्ने भूमिका कस्तो हुनुपर्छ भन्ने हामी देखाउनेछौं,’ उनले भने । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रणयशमशेर राणा कांग्रेस पृष्ठभूमिका हुन् । उनको उक्त क्षेत्रका केही स्थानमा प्रभाव देखिन्छ । दर्शना २०७४ को निर्वाचनमा विवेकशील नेपाली पार्टीबाट काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवार थिइन् । उनले २३ हजारभन्दा बढी मत पाएकी थिइन् । ‘कानुन निर्माणमा लैंगिक विभेद अन्त्य गर्न मेरो भूमिका हुनेछ,’ दर्शनाले भनिन् ।
काठमाडौं–६ मा दलका १३ र स्वतन्त्र ११ उम्मेदवार प्रतिस्पर्धामा छन् । स्वतन्त्र उम्मेदवारले युवाको प्रतिनिधित्व, पुराना अनुहारलाई बिदाइ र सुशासनको मुद्दा उठाएका छन् ।
काठमाडौं–७ मा स्वतन्त्र १६ र दलका १३ उम्मेदवार प्रतिस्पर्धामा छन् । माओवादीले अस्मिता सिंह (मानुषी यमी भट्टराई) र एमालेले श्याम घिमिरेलाई उम्मेदवार बनाएको छ । २०७० र २०७४ को निर्वाचनमा सोही क्षेत्रमा एमालेबाट जितेका पूर्वसांसद रामवीर मानन्धरले स्वतन्त्र उम्मेदवारी दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवविक्रम मल्ल यस क्षेत्रमा चर्चामा रहेका उम्मेदवारमध्येका हुन् । पूर्वमाओवादी उनी तेक्वान्दो खेलका प्रशिक्षक पनि हुन् ।
काठमाडौं–८ मा ३ जना स्वतन्त्र र दलका १६ जना प्रतिस्पर्धामा छन् । प्रमुख दलकाबाहेक हाम्रो नेपाली पार्टीका सुमन सायमी यो क्षेत्रमा चर्चामा रहेका उम्मेदवार हुन् । उनले गत स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुखमा साढे १४ हजार मत प्राप्त गरेका थिए । यो क्षेत्रमा उनको प्रभाव राम्रै रहेको मतदाता बताउँछन् ।
काठमाडौं–९ मा १० जना स्वतन्त्र उम्मेदवार छन् । साझा पार्टीका मिलन पाण्डे, माओवादीकी कल्पना धमला, एमालेका कृष्णगोपाल श्रेष्ठलगायत उम्मेदवार चर्चामा छन् । काठमाडौं १० मा ३ जना स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन् । दुई पटक यसै क्षेत्रबाट जितेका कांग्रेसका राजेन्द्रकुमार केसी यस पटक पनि उम्मेदवार छन् भने माओवादीबाट अञ्जना विशंखे र एमालेबाट हिमेश केसी प्रतिस्पर्धामा छन् ।
