अघिल्ला निर्वाचनमा टिकट पाएका, हारेका उम्मेदवारले नै बारम्बार मौका पाउँदै
कास्की — स्याङ्जाको निर्वाचन क्षेत्र नं. १ मा आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सत्तारुढ गठबन्धनको तर्फबाट कांग्रेसका राजु थापा उम्मेदवार छन् । २०७४ को निर्वाचनमा एमालेका नारायणप्रसाद मरासिनीसँग पराजित उनी सोही क्षेत्रबाट पुनः उठेका हुन् । दोस्रो संविधानसभा निर्वाचनमा भने मरासिनीलाई थापाले पराजित गरेका थिए । थापा यसपटक एमालेका मरासिनीसँगै मुख्य प्रतिस्पर्धामा छन् ।
प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचनको तयारीमा जुटेका उम्मेदवार यतिबेला मतदातासँग भेटघाटमा व्यस्त छन् । विगतका निर्वाचनमा पराजित बनेका उम्मेदवार यसपटक भने जितको खोजीमा छन् । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पर्वतबाट पराजित कांग्रेसका अर्जुनप्रसाद जोशी पुनः उम्मेदवार छन् । उनी यसअघि एमालेका उम्मेदवार पदम गिरीसँग पराजित भएका थिए । त्यसअघि जोशीले पर्वतबाटै तीनपटक चुनाव जितेका थिए । यसपटक पनि जोशी गिरीसँगै मुख्य प्रतिस्पर्धा गर्नेछन् । अघिल्लो निर्वाचनमा गिरीलाई सघाएका माओवादीका भोट यसपटक भने जोशीका लागि हुनेछन् । यसकारण पनि जोशी जित हासिल गर्ने दाउमा छन् ।
कांग्रेसबाट टिकट नपाएपछि बाग्लुङको गलकोट नगरपालिका प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित भएकी मञ्जु शर्मालाई बाग्लुङ क्षेत्र नं. २ मा एमालेले पार्टी प्रवेश गराएर उम्मेदवार बनाएको छ । उनको मुख्य प्रतिस्पर्धी सत्ता गठबन्धनबाट माओवादी केन्द्रका देवेन्द्र पौडेल हुन् । २०७४ मा वाम गठबन्धनबाट निर्वाचित पौडेल हाल संघीय शिक्षामन्त्री छन् ।
यसैगरी, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि प्रतिनिधिसभातर्फ तनहुँ क्षेत्र नं. १ बाट उम्मेदवार छन् । ०७४ मा वाम गठबन्धनका कृष्णकुमार श्रेष्ठसँग पराजित पौडेलले यसपटक सत्तारुढ गठबन्धनको साथ पाएका छन् । पौडेलले ५ पटक संघीय निर्वाचन जितिसकेका छन् । पौडेलसँग एमालेले एकबहादुर रानालाई प्रतिस्पर्धामा उठाएको छ । अर्कोतर्फ कांग्रेससँग असन्तुष्ट गोविन्दराज जोशी पनि उम्मेदवार छन् । लामो समय कांग्रेसमा राजनीति गरेर पटक पटक मन्त्री भएका जोशी पार्टीबाट कारबाहीमा परेपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् । पौडेल यसपटक पराजयको घाउ मेट्ने प्रयासमा छन् ।
तनहुँ–२ बाट एमालेका केदार सिग्देलसँग पराजित भएका कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी यसपटक जितको खोजीमा छन् । अहिले एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङ र भण्डारीबीच प्रतिस्पर्धा हुने पूर्वानुमान छ । यस्तै, म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका कांग्रेसका खुमबहादुर गर्बुजा पनि पराजयको घाउ मेटाउन चाहन्छन् । उनी दोस्रो संविधानसभा र २०७४ सालको संसदीय निर्वाचनमा पराजित भएका थिए ।
यसपटक उनलाई सत्ता गठबन्धनको साथ छ । यसअघि हराउन मद्दत गरेका माओवादीका भोट यसपटक जिताउन मद्दत गर्नेमा उनी विश्वस्त छन् । उनका प्रतिस्पर्धीका रूपमा एमालेका हरिकृष्ण श्रेष्ठ चुनावी मैदानमा छन् । कास्की क्षेत्र नं. ३ का एमाले उम्मेदवार दामोदर बैरागी पनि यसअघिका पराजित उम्मेदवार हुन् । बैरागी ०७४ को निर्वाचनमा अन्नपूर्ण–५ को वडा सदस्यमा पराजित भएका थिए । उनी सत्तारुढ गठबन्धनवाट माओवादी केन्द्रका रामजीप्रसाद बरालसँग प्रतिस्पर्धा गर्ने छन् ।
बराल गण्डकी प्रदेश सरकारका अर्थमन्त्री हुन् । मनाङबाट २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा पराजित कांग्रेसका टेकबहादुर गुरुङ पनि यसपटक जितको खोजीमा छन् । सोही क्षेत्रबाट फेरि उम्मेदवार बनेका उनी एमालेका पोल्देन छेपाङ गुरुङसँग २ सय ७१ मतको झिनो अन्तरले पराजित भएका थिए । यसपटक पनि पोल्देन र टेकबहादुर नै एक अर्काका प्रतिस्पर्धी छन् ।
यसैगरी, प्रदेशसभातर्फ गोरखा १ (२) बाट पराजित कांग्रेसका राजेन्द्र बजगाईँ फेरि उम्मेदवार बनेका छन् । यसपटक पनि उनी पुरानै प्रतिद्वन्द्वी एमालेका रामशरण बस्नेतसँग गोरखा–१ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका छन् । प्रदेशमा प्रतिस्पर्धा गरेका उनीहरू यसपटक पनि आमनेसामने भएका छन् । प्रदेशसभामा बस्नेतले बजगाईँलाई पराजित गरेका थिए । अघिल्लो निर्वाचनमा माओवादीको साथ बस्नेतले पाएका थिए भने यसपटक बजगाईँले पाएका छन् ।
स्याङ्जाका राजु थापाले २०७० को निर्वाचनमा विजयी भए पनि संविधान निर्माणमा व्यस्त भएकाले जनतको घरमा पुग्न नसकेकाले पनि २०७४ मा आफू पराजित हुन पुगेको जिकिर गरे । ‘निर्वाचनमा पराजित भए पनि जनताकै माझमा रहेकाले यसपटक भने निर्वाचनको परिणाम आफ्नो पक्षमा आउनेमा विश्वस्त छु,’ उनले भने, ‘बदलाको भाव भने छैन ।’
