१० वटा पालिकामा साझेदार दलहरुले केदारस्युँबाहेक सबै पालिकाको दुवै पदमा पुरूषलाई उम्मेदवार बनाएका छन्
बझाङ — बझाङको खप्तडछान्ना गाउँपालिकाकी धिरा खत्री गत स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धीसँग जम्मा एक मतले मात्रै पराजित भइन् । कांग्रेसबाट उपाध्यक्ष पदमा उम्मेदवार रहेकी उनले एक मतले हार्नुलाई आफ्नो प्राविधिक रूपमा मात्रै हार भएको तर जनताले विश्वास गरेको भनेर चित्त बुझाइन् ।
चुनाव हारे पनि उनले राजनीति र समाज सेवाको काममा खटिरहिन्, गाउँपालिका विपद्ग्रस्त हुँदा आफ्नै खर्चले राहत सामग्री लिएर पीडितका घरघर पुगिन् । पाँच वर्ष मतदातासँगै रहेकी उनलाई यो निर्वाचनमा सोही पदमा जितेर देखाउने अभिलाषा थियो । तर गठबन्धन उनको राजनीतिक जीवनको तगारो बनेर आइदियो । अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादीको भागमा परेपछि उनले पालिका अध्यक्षमा दाबी पनि नगरेकी होइनन् । यद्यपि उनलाई महिलाले सक्दैनन् भनेर त्यहाँबाट पनि पन्छाइयो । उता माओवादीको भागमा परेको उपाध्यक्ष पदमा पनि पुरुष नै उम्मेदवार बनाइयो ।
‘संविधानले दुई प्रमुख पदमध्ये एउटामा अनिवार्य महिला हुनुपर्ने व्यवस्था गरेको छ,’ उनले भनिन्, ‘यहाँ गठबन्धनको नाममा महिलाको हक खोस्ने काम गरियो । राजनीतिमा नै भविष्य खोजिरहेका महिलाको बाटो छेक्ने काम भयो ।’ उनले गठबन्धन दलभित्र रहेका पुरुषहरूमा अझै पनि महिलाले सक्दैनन् भन्ने धारणा रहेका कारण सबैतिर महिलालाई पन्छाएको बताइन् ।
गठबन्धनमा भएका जिल्लाका १० वटा पालिकामा साझेदार दलहरूले केदारस्युँबाहेक सबै पालिकाको दुवै पदमा पुरुषलाई नै उम्मेदवार बनाएका छन् । यो अवस्था आउन सक्छ भनेर कांग्रेसमा सक्रिय महिलाहरूले चैत महिनाको दोस्रो साता नै विज्ञप्ति जारी गरेर महिलाको हक नखोस्न गठबन्धनको ध्यानाकर्षण गराएका थिए । यद्यपि उनीहरूको कुनै सुनुवाइ नै भएन ।
जयपृथ्वी नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवारी दिन स्थायी शिक्षक पदबाट राजीनामा दिएकी जयन्ती जोशीको उम्मेदवारी पनि गठबन्धनको कोपभाजनमा पर्यो । कांग्रेसको सुदूरपश्चिम प्रदेश सदस्यसमेत रहेकी उनले भनिन्, ‘महिलालाई मान्छे नै नगन्ने सोचको सिकार हुनुपर्यो । गठबन्धनको नाममा भएको यो व्यवहारको जति भर्त्सना गरे पनि कमै हुन्छ,’ उनले भनिन् ।
गठबन्धनका कारण कांग्रेस मात्रै होइन, अरू साझेदार दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादीमा सक्रिय महिलाहरूको राजनीतिक यात्रामा अवरोध आएको छ । खप्तडछान्ना गाउँपालिकामै अघिल्लोपटक माओवादी केन्द्रबाट उपाध्यक्ष पदमा हारेकी जयन्ती जोशीलाई यसपटक अवसर दिइएन । उक्त पद उनकै दलको भागमा पर्दा पनि अर्को दलबाट प्रमुख पुरुष भएको र फरक दलको पुरुष अध्यक्ष हुँदा महिला उपाध्यक्षले काम गर्न नसक्ने भन्दै सो पदमा पनि पुरुषलाई नै अघि सारियो । ‘गणतन्त्र, समावेशी शासन प्रणाली ल्यायौं भन्ने दलको त यस्तो सोच छ । अरूको त झन् के कुरा गर्नु ?’ उनले गुनासो गरिन् ।
माओवादीले उपप्रमुखमात्रै नभएर २२ वटा वडा पाउँदा वडाध्यक्ष पदमा कुनै पनि महिलालाई स्थान नदिनु लज्जास्पद भएको उनको भनाइ छ ।
कतिसम्म भने गठबन्धन भएका कतिपय पालिकाको उपप्रमुख पदमा अघिल्लो पटक प्रमुख पदमा चुनाव लडेका पुरुष नेताहरूलाई अवसर दिएर पनि महिलालाई पन्छाउने काम भएको छ । गठबन्धनको नाममा महिलाको अधिकार खोसिएकोप्रति राजनीतिमा लागेका बझाङका सबै महिलाहरू आक्रोशित भएका छन् । उनीहरूले महिलालाई भोटर मात्रै सोच्ने पुरुषवादी सोचले बझाङका दलहरू ग्रस्त रहेका कारण संविधानमै सुनिश्चित भएको महिलाको अवसरमाथि आँखा गाड्ने काम भएको आरोप लगाएका छन् ।
गठबन्धनले महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न नसक्नु दुःखद भए पनि बाध्यतामा परेकाले त्यसो गरिएको नेताहरूको तर्क छ । ‘यो दुःखद अवस्था हो तर हाम्रो बाध्यता पनि त्यस्तै पर्यो,’ संविधानसभा सदस्यसमेत रहेका माओवादीका सुदूरपश्चिम प्रदेश सचिव जनक बुढाले भने, ‘कतिपय ठाउँमा पुरुषको दाँजोमा महिलाको नेतृत्व विकास नभएको अवस्था थियो । कतिपय ठाउँमा पुरुषवादी सोच पनि हाबी भएकै हो । गठबन्धनमा यस्तै खालको बाध्यता आइपर्ने रहेछ ।’ पार्टीको हित सोच्दा कतिपय ठाउँमा सिनियर महिलाहरू पनि पाखा लगाउनुपर्ने नमीठो अवस्था सिर्जना भएको उनको भनाइ छ ।
१३ प्रमुखले दोहोर्याए उम्मेदवारी
बाजुरा– सुदूरपश्चिममा अघिल्लो निर्वाचनमा निर्वाचित १३ जना नगर प्रमुखले आफ्नो उम्मेदवारी दाहोर्याएका छन् । नेपाली कांग्रेसका ४, एमालेका ५ र एकीकृत समाजवादीका ३ जना प्रमुख जनप्रतिनिधिले उम्मेदवारी दोहोर्याएका हुन् । यस प्रदेशमा ३३ नगरपालिका र एक उपमहानगरपालिका छन् ।
कांग्रेसका तर्फबाट बूढीनन्दा नगरपालिका बाजुराका प्रमुख पदमकुमार गिरी, पञ्चदेवल विनायक नगरपालिका अछामकी उपप्रमुख अम्बिका चलाउने, धनगढी उपमहानगर पालिकाका कैलालीका प्रमुख नृपबहादुर वड र महाकाली नगरपालिका दार्चुलाका प्रमुख हंसराज भट्टले उम्मेदवारी दोहोर्याएका छन् ।
गत निर्वाचनमा एमालेका तर्फबाट बेदकोट नगरपालिकाको उपप्रमुख पदमा निर्वाचित सुशीला सिंहले प्रमुख पदमा उम्मेदवारी दिएकी छिन् । कृृष्णपुर नगरपालिका कञ्चनपुरकी उपप्रमुख रमिताकुमारी राना, लम्की चुहा नगरपालिका कैलालीका प्रमुख महादेव बजगाईं, घोडाघोडी नगरपालिका कैलालीका प्रमुख ममताप्रसाद चौधरी, मंगलसेन नगरपालिका अछामका प्रमुख पदम बोहराले पनि एमालेका तर्फबाट उम्मेदवारी दोहोर्याएका छन् ।
यस्तै, गत निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भई हाल एमालेमा रहेका बेलौरी नगरपालिका कञ्चनपुरका प्रमुख पोतीलाल चौधरीले पनि उम्मेदवारी दोहोर्याएका छन् । गत निर्वाचनमा एमालेबाट निर्वाचित तर हाल एकीकृत समाजवादीमा रहेका गोदावरी नगरपालिका कैलालीका उपप्रमुख रत्ना कडायत, उपप्रमुखमा निर्वाचित अमरगढी नगरपालिका डडेलधुराका संगीता भण्डारीले प्रमुख पदमा र पुनर्वास नगरपालिका कञ्चनपुरका प्रमुख जीवनराज थापाले पनि उम्मेदवारी दोहोर्याएका छन् ।
