एजेन्डाबिना घरदैलोमा उम्मेदवार

वैशाख १७, २०७९

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका—१५ का जगन्नाथ विष्टको घरमा मत माग्न दिनहुॅ उम्मेदवार आउन थालेका छन् । वडादेखि नगरपालिकाका प्रमुख र उपप्रमुखसम्म सबै पुग्न थालेका छन् । यसरी मत माग्न आउनेसँग कुनै महत्वपूर्ण एजेन्डा भने छैन । यो काम गर्छौं सम्म भन्न नसक्ने गरेको उनले बताए । ‘भोट दिनुहोला भन्दै हात जोडेर आउँछन्,’ विष्टले भने, ‘जितेपछि के गर्नुहुन्छ, भनेर सोध्दा जे भन्नु हुन्छ, त्यही गर्छु भन्छन् ।’

उनको घर छेउकै कच्ची बाटो ग्राभेल भएको वर्षौ भइसक्यो । गएको स्थानीय तहको निर्वाचनमा उक्त बाटो कालोपत्रे गर्ने प्रतिबद्धता गरेका थिए । तर त्यो अझै जस्ताको त्यस्तै छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउमै विष्टको घर छ । निकुञ्जबाट आउने वन्यजन्तुबाट बालीनाली जोगाउनै मुस्किल हुन्छ । मतमाग्दै घर दैलोमा पुग्ने उम्मेदवारसमक्ष उनले वन्यजन्तु नियन्त्रणका लागि समेत माग राखेका हुन । तर कसैले पनि त्यो समस्या समाधान गरेनन् । ‘जुनसुकै निर्वाचनमा पनि उनी यिनै माग राख्थे, अब माग राख्ने भन्दा उम्मेदवारलाई के गर्नुहुन्छ भनेर सोध्न थाले,’ उनले भने, ‘तर कोही पनि यस्तो काम गर्छौं भन्न सकिरहेका छैनन् ।’

केही दिन अघिसम्म उम्मेदवार छनोटदेखि आन्तरिक छलफलमा रहेका दलहरू अहिले घरदैलोमा व्यस्त छन् । जसका कारण ग्रामीण भेगमा चुनावी चहलपहल बढेको छ । तर उम्मेदवारहरू एजेन्डा विना घरदैलोमा जाॅदा मतदाताहरू झनै निराश बनेका छन् । विगतमा निर्वाचत भएका जनप्रतिनिधिहरूले पनि आफुले गरेको प्रतिबद्धताहरू पुरा नगरेका कारण पनि मतदातामा खासै उत्साह देखिएको छैन । आश्वासनमात्रै बाँडेको र निर्वाचित भएपछि मतदातासंॅग गरेका प्रतिबद्धताहरू बिर्सेको उनीहरू बताउँछन् । ‘भोट भाग्ने बेला त खुट्टा छोएर जान्छन्, जे भने पनि हामी गर्छौं भन्छन्,’ भीमदत्त नगरपालिका— ३ का सुरेन्द्र चौधरीले भने, ‘त्यसपछि फर्केर पनि कोही आउदैनन् ।’

६५ वर्षीय चौधरीले हरेक निर्वाचनमा मतदान गर्दै आएका छन् । मत माग्न घरमै पुग्ने उम्मेदवारसँग उनले गाउँटोलको समस्या पनि राख्ने गरेका छन् । तर ति पुरा भने कहिल्यै नहुने उनको भनाइ छ । खेतीपाती गरेर परिवारको गुजारा गर्ने उनले सिँचाइदेखि मलखाद र बीउकाबारेमा समेत उम्मेदवारहरूसमक्ष कुरा राख्ने गरेका छन् । 

पछिल्लो निर्वाचनमा छाडा चौपायाको समस्या समाधान गर्नुपर्ने उनको माग थियो । उम्मेदवारहरूले पनि यो मुद्दा प्रमुखताका साथ उठाएका थिए । तर अहिले पनि ग्रामीण भेगमा छाडा चौपायाबाट बालीनाली जोगाउनै मुस्किल हुने गरेको छ । कृषकहरूले तारबारमै हजारौं खर्च गर्नुपरेको छ । ‘खेतीपाती जोगाउन रातभरि जाग्राम बस्नुपर्छ,’ भीमदत्त नगरपालिका— ११ का जनक जोशीले भने, ‘यसका नाममा करोडौं खर्च भए पनि समस्या उस्तै छ ।’

अहिले मत माग्दै घर दैलोमा पुग्ने उम्मेदवारहरू चुनावी एजेन्डा विना नै मत मागिरहेका छन् । विगतमा जनप्रतिनिधिले प्रतिबद्धता गरे अनुसार काम नगरेको र अहिले उम्मेदवारहरू एजेन्डा विना घर दैलोमा पुग्दा मतदाताहरू खिन्न छन् । कतिपयमा त मतदान गरेर के नै हुने हो र भन्ने पनि भइरहेको छ । 

‘मैले अहिलेसम्मका कुनै मतदान छुटाएको छैन,’ ७२ वर्षीय विष्ट भन्छन्, ‘न मेरो गाउँमा विकास भयो, न त काम गरिखान नै पाइयो, अब बुढेसकालमा आएर मतदानप्रति खिन्नता आयो ।’ हरेक निर्वाचनका बेला विगत बिर्सेर आशावादी हुने उनी यसपटक आफैं भोट हाल्नेमा दोधारमा छन् । फेरि पनि कुनै उम्मेदवारले मन जित्न सके मत हाल्न जाने उनको सोच छ । 

स्थानीय तह निर्वाचन २०७९

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully