पोखरा, विराटनगर र वीरगन्जमा पनि बागी

वैशाख १७, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्ता गठबन्धनको खटपट पोखरा र विराटनगरमा पनि देखिएको छ । यी महानगरमा गठबन्धनकै उम्मेदवार बागी बनेर उभिएका छन् भने एमाले–लोसपा तालमेल भएको वीरगन्ज उपप्रमुखमा लोसपाकै बागी उम्मेदवार छन् ।

पोखरामा पाँचदलीय गठबन्धनका साझा उम्मेदवारविरुद्ध कांग्रेसबाट बागी उम्मेदवारी दिएका ३ मध्ये २ जनाले फिर्ता लिए पनि एक जनाको कायमै छ । उम्मेदवारी फिर्ता लिनेमा ऋषि सापकोटा र नन्दप्रसाद तिवारी छन् । विमलबहादुर कार्कीले भने फिर्ता लिएनन् । सापकोटा कास्की कांग्रेसका पूर्वसचिव र तिवारी पूर्वकोषाध्यक्ष हुन् । कार्की क्षेत्रीय प्रतिनिधि हुन् ।

सत्ता गठबन्धनमा पोखरा महानगर प्रमुख एकीकृत समाजवादीको भागमा परेपछि कांग्रेसवृत्तमा असन्तुष्टि सुरु भएको थियो । त्यसैको परिणामस्वरूप तीन जनाले बागी उम्मेदवारी दिएका थिए । कार्कीले कांग्रेस नेतृत्वले सही निर्णय नगरेकाले आफ्नो उम्मेदवारी कायमै राखेको बताए । ‘नेतृत्वको स्वार्थका लागि देशकै ठूलो महानगरमा अन्य पार्टीको चुनाव चिह्नमा मतदान गर भन्न पाइँदैन,’ उनले भने, ‘कारबाही भोग्न तयार छु तर मेरो अडान छाड्दिनँ ।’ उनले नेतृत्व तहबाट ठूलो दबाब आए पनि वास्ता नगरेको बताए । पोखरा–१४ का उनले उल्लेख्य मत पाउने दाबी गरे । 

उम्मेदवारी फिर्ता लिएका सापकोटाले सरकार मात्र नभई राष्ट्रिय राजनीति नै तलमाथि हुने परिवेश देखिएकाले नेतृत्वले भयावह रूपमा गलत निर्णय गरे पनि उम्मेदवारी फिर्ता गरेको बताए । 

गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका धनराज आचार्य प्रमुखको उम्मेदवार छन् । गठबन्धनको संयुक्त घोषणापत्र सार्वजनिक कार्यक्रममा पनि बिहीबार कांग्रेस कार्यकर्ताले अवरोध गरेका थिए । 

यस्तै विराटनगरमा बागीले उम्मेदवारी फिर्ता नलिँदा तालमेल संकटमा परेको छ । कांग्रेसका नागेश कोइराला प्रमुख र जसपाका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव उपप्रमुख उम्मेदवार छन् । गठबन्धन घटक जसपाले प्रमुख र माओवादी केन्द्रले उपप्रमुखमा बागी उम्मेदवारी कायम राखेका छन् ।

जसपाका संघीय परिषद् सदस्य उमेश यादवले उम्मेदवार मनोनयनको अघिल्लो दिन दल त्याग गरेको जनाउ दिँदै प्रमुखमा उम्मेदवारी दिएका थिए । त्यसैगरी माओवादी केन्द्रको विराटनगर महानगर कमिटी सचिव नमिता न्यौपानेले उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएकी छन् । उम्मेदवारी फिर्ता लिने अन्तिम दिन शुक्रबार माओवादीबाट प्रमुखमा बागी उम्मेदवारी दिएकी केमुना ओडारी (मैनाली), उपप्रमुखमा जसपाबाट बागी बसुन्धरा झा र कांग्रेसका उद्धव कोइरालाले फिर्ता लिएका छन् ।

यादव र न्यौपानेको उम्मेदवारी फिर्ता गर्न दुवै पार्टीका केन्द्रीय नेतृत्वले बिहीबार र शुक्रबार दिनभरि रस्साकसी गरे पनि सम्भव नभएको तालमेल संकटमा परेको मोरङ कांग्रेस सभापति डिगबहादुर लिम्बूले बताए । यादव अघिल्लो निर्वाचनमा जसपाबाटै प्रमुखको प्रत्याशी थिए भने न्यौपाने माओवादीका तर्फबाट उपप्रमुखमा उम्मेदवार थिइन् । यादव तेस्रो र न्यौपाने दोस्रो स्थानमा थिए । 

न्यौपानेले पनि आफ्नो पार्टीले फिर्ता लिन दबाब दिए पनि कांग्रेसले अन्य महानगरमा गरेको बेइमानीका कारण उम्मेदवारी फिर्ता नलिएको प्रतिक्रिया दिएकी छन् । 

उता वीरगन्ज उपप्रमुखमा लोसपाकी रम्भा मिश्राले बागी उम्मेदवारी दिएकी छन् । उनलाई उम्मेदवारी फिर्ता लिन लोसपा नेताहरूले दबाब दिएका थिए । एमाले र लोसपाबीच तालमेल भएपछि लोसपाबाट उपप्रमुखमा जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झाले उम्मेदवारी दिएका थिए । पार्टीले गठबन्धनका नाममा आफ्नो योगदानको अवमूल्यन गरेकाले स्वतन्त्र उम्मेदवारी दिएको मिश्राले बताइन् । २०७४ को निर्वाचनमा उनी राजपाबाट उपप्रमुखमा पराजित भएकी थिइन् ।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully