देउवाको इमेल ढिला आउँदा...

वैशाख १७, २०७९

हरिराम उप्रेती

गोरखा — कांग्रेसका तर्फबाट पालुङटार नगरपालिका प्रमुखमा मनोनयन गराएका दीपकबाबु कँडेलको उम्मेदवारी फिर्ता गराउन पार्टी सभापति शेरबहादुर देउवाको प्रयास असफल भएको छ । 

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको आग्रहमा देउवाले कँडेलको उम्मेदवारी फिर्ता भएको पत्र जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा पठाएका थिए । तर पत्र ढिला गरी प्राप्त भएकाले कँडेलको उम्मेदवारी कायम रहेको पालुङटारका निर्वाचन अधिकृत गोकर्णराज पन्तले बताए । ‘हामीले ५ बजे अन्तिम नामावली प्रकाशित गर्‍यौं, उम्मेदवारी फिर्ताको पत्र इमेलमा ५ः५० बजे आयो,’ उनले भने ।

केन्द्रले सिधै हस्तक्षेप गरेर उम्मेदवारी फिर्ताको पत्र पठाएको खबर कांग्रेसका स्थानीय कार्यकर्ताले पाइसकेका थिए । त्यसैले पालुङटारको निर्वाचन अधिकृतको कार्यालय अगाडि केहीबेर नाराबाजी गरेका थिए । सूचना पाटीमा उम्मेदवारको नामावली पढेपछि प्रदर्शन रोकेको कांग्रेसका पालुङटार नगर सचिव किरण गिरीले बताए । जसपा नेता भट्टराईले आफ्नो गृहनगर पालुङटारमा तालमेल मिलाउन जोडबल गरेका थिए । सहमतिअनुसार जसपाका तर्फबाट उपप्रमुखको उम्मेदवार नारायणी अधिकारीले भने साँझ ४ः४५ बजे मनोनयन फिर्ता लिएकी थिइन् । जसपाले प्रमुखमा प्रेम गुरुङलाई उठाएको छ भने माओवादीबाट विवश चिन्तन र एमालेबाट हरि भट्ट उम्मेदवार छन् । 

स्थानीय तहको गत निर्वाचनमा ४ हजार ६ सय ९८ मत ल्याएका कँडेल माओवादीका चिन्तनलाई २ सय ७ मतको अन्तरले पछि पार्दै नगर प्रमुखमा विजयी भएका थिए ।

स्थानीय तह निर्वाचन २०७९

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully