विश्वकपको सर्वाधिक प्लेयर अफ द म्याच र गोल्डेन बुट अवार्ड फुटबलका जादुगर लियोनल मेसीकै नाममा छ भने स्पेनबाट राइट ब्याक खेल्ने पेड्रो पोरो फ्रान्सविरुद्धको सेमिफाइनलमा 'प्लेयर अफ द म्याच' नै भए ।
What you should know
काठमाडौँ — फुटबलका जादुगर लियोनल मेसीको नाममा विश्वकपका धेरै कीर्तिमान बनेका छन् । त्यसमा एक हो विश्वकप इतिहासको सर्वाधिक २१ गोल । मेसीले यस विश्वकपमा ८ गोल गरिसकेका छन् । स्पेनविरुद्ध फाइनलमा यसमा थप्ने मौका छ ।
त्यसबाहेक विश्वकपमा सर्वाधिक असिस्ट पनि मेसीकै नाममा छ । यस विश्वकपमा मात्र उनले ४ गोलमा पास उपलब्ध गराइदिएका छन् । विश्वकपको सर्वाधिक प्लेयर अफ द म्याच र गोल्डेन बुट अवार्ड पनि मेसीकै नाममा छ । मेसी तेस्रो विश्वकप फाइनल खेल्दै छन् । २०१४ मा मेसी समावेश अर्जेन्टिना फाइनलमा जर्मनीसँग पराजित भएको थियो भने २०२२ मा फ्रान्सलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै उपाधि जितेको थियो ।
मेसीले सन् २००५ मा १८ वर्षको उमेरमा अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका थिए । अर्जेन्टिनाबाट उपाधि भने जित्न भने ढिला सुरु गरेका हुन् । लगातार तीन पटक कोपा अमेरिकाको फाइनलमा पराजित भएपछि उनले २०१६ मा संन्यासको घोषणा गरेका थिए, तर राष्ट्रव्यापी अनुरोध पनि उनी पुनः अर्जेन्टिनाबाट खेल्न सहमत भएका थिए ।
मेसीको कप्तानीमा अर्जेन्टिनाले २०२१ र २०२४ मा गरी दुई कोपा अमेरिका जितिसकेको छ । उनले अर्जेन्टिना बाट २ सय २६ खेल खेल्दै १ सय २५ गोल गरिसकेका छन् । मेसीले २००६ देखि विश्वकप खेल्न लागेका हुन् । २०१० मा बाहेक उनले सबै ५ विश्वकपमा गोल गर्दै आएका छन् ।
त्यसैगरी, स्पेनलाई दोस्रो पटक विश्वकप विजेता बनाउने जिम्मेबारी २६ वर्षे पेड्रो पोरो र उनको रक्षापंक्तिको टोलीमाथि आएको छ । लियोनल मेसीविरुद्ध खेल्न सजिलो नहुने पोरो र स्पेनले राम्रोसँग बुझेको छ । पोरो राइट ब्याकमा खेल्छन् र ओभरल्यापमा गएर पर्याप्त मौका सिर्जना गर्छन् ।
यस विश्वकपअघि उनले स्पेनको राष्ट्रिय टोलीबाट कुनै गोल गरेका थिएनन् । उनले अन्तिम ३२ मा अस्ट्रियाविरुद्ध गोल गरेका थिए । फ्रान्सविरुद्धको सेमिफाइनलमा उनी प्लेयर अफ द म्याच नै भए । उनले नै दोस्रो गोल गरेका थिए । उनले स्पेनबाट २०२१ देखि मात्र खेल्न थालेका हुन्, जबकि उनलाई २०१९ मै पहिलो पटक राष्ट्रिय टोलीमा डाकिएको थियो ।
स्पेनिस टोली जिरोनाबाट ठूलो आससहित उनी २०१९ मा म्यानचेस्टर सिटीमा आएका थिए । तर उनले त्यहाँबाट कुनै खेल खेलेनन् र तीनै सिजन लोनमा बिताए । दुई सिजन लोनमै बिताएको पोर्चुगिज टोली स्पोर्टिङ क्लबमा २०२२ मा स्थायी अनुबन्ध पाए । २०२३ मा पोरो प्रिमियर लिगको अर्को टोली टोटनहम आएका थिए । त्यसयता उनले स्पर्सबाट १ सयभन्दा बढी खेल खेलिसकेका छन् । टोटनहमले २०२४–२५ मा युरोपा लिग जित्दा पोरो प्रतियोगिताभर छाएका थिए ।
पोरोले फाइनलमा पुग्नुलाई सपना साकार हुनु जस्तै भएको बताएका थिए ।
सेमिफाइनलमा सुरुदेखि अन्त्यसम्म टोलीको प्रदर्शन देखेर आफू निकै खुसी भएको बताउँदै उनले फाइनल पुग्न आफूहरूले गर्नुपर्ने सबै काम पूरा गरेको सुनाएका थिए । २६ वर्षीय उनले जितपछि भनेका थिए, ‘यो सपना साकार भएजस्तै हो, हामीलाई थाहा थियो कि फ्रान्स निकै बलियो टोली हो र उनीहरूले उत्कृष्ट प्रदर्शन गरिरहेका थिए । इमानदारीपूर्वक भन्नुपर्दा हाम्रो टोलीको ठूलो उपलब्धि हो ।’
