अहिलेसम्मकै सबैभन्दा ठूलो विश्वकप ४८ टिमबाट खुम्चिएर दुई टिममा झरेको छ । सोमबार बिहान निर्णायक खेलका लागि न्युयोर्क–न्युजर्सी रंगशालामा एकअर्काविरुद्ध खेल्दै छन्, डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना र स्पेन ।
What you should know
काठमाडौँ — फुटबलमा सामान्यतः यस्तो हुन्न । तर, विश्वकप २०२६ मा त्यस्तै भयो, जस्तो कसैले प्रतियोगिता सुरु हुनु अगाडि नै पटकथा लेखिसकेको थियो । नत्र, विश्वका नम्बर १ र २ वरीयताका टिम फाइनलमा भिड्ने थिएनन् । अझ कोपा अमेरिका च्याम्पियन र युरोपेली विजेता नै उपाधि भिडन्तमा ओर्लिने थिएनन् । अनि विश्व फुटबलकै सर्वकालीन महान् खेलाडी लियोनल मेसीसामु एउटा अर्को जादुयी प्रदर्शनको अवसर जुट्ने थिएन ।
अहिलेसम्मकै सबैभन्दा ठूलो विश्वकप ४८ टिमबाट खुम्चिएर दुई टिममा झरेको छ । सोमबार बिहान निर्णायक खेलका लागि न्युयोर्क–न्युजर्सी रंगशालामा एकअर्काविरुद्ध खेल्दै छन्, डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना र स्पेन । सेमिफाइनल आइपुग्दा लागिरहेको थियो– फ्रान्स नै यसपल्ट उपाधि जित्न सबैभन्दा बढी बलियो टिम छ, इंग्ल्यान्डले पनि ६ दशकयता पहिलो पटक फाइनल खेल्न बेर छैन ।
ती सबै सम्भावना निस्तेज पार्दै अर्जेन्टिना र स्पेन नै फाइनल पुगेका हुन् । यो हुनेछ, एउटा सच्चा फुटबल समर्थकले मनमा चिताएको अन्तिम खेल । सबैभन्दा पहिले चार वर्षअगाडि फर्किनुपर्छ, जतिबेला अर्जेन्टिना आफ्नो पहिलो खेलमै साउदी अरेबियाको हातबाट पराजित रह्यो । एकै खेलपछि नै सबैले भन्न सुरु गरेका थिए, मेसीले अब केही गर्न सक्ने छैनन्, न त उनको टिम अर्जेन्टिनाले । त्यसपछि जे भयो, त्यो विश्व फुटबलका लागि सानदार कथा बन्यो । अर्जेन्टिनाले नै आखिरमा त्यो विश्वकप जित्यो । मेसी सबै अर्थमा उत्कृष्ट खेलाडी रहे । उनीसामु त्यहीं रोकिने अवसर थियो । तर होइन, उनी रोकिएनन्, अर्को विश्वकप खेल्ने जिद्दी गरे । यही विश्वकपका क्रममा उनी ३९ वर्षका भएका छन् ।
उनका खास शुभचिन्तकलाई डर थियो, कतै उनका लागि यो प्रतियोगिता नफाप्ने त होइन ? तर होइन, त्यस्तो पनि भएन । आफ्नो एकपछि अर्को सानदार पुनरागमन जितको कथा लेख्दै अर्जेन्टिना लगातार दोस्रोपल्ट फाइनल पुगेको छ ।
अब यो टिमसामु ब्राजिलपछि लगातार दोस्रोपल्ट विश्वकप उपाधि जित्ने अवसर छ । ब्राजिलले सन् १९५८ र १९६२ मा यस्तो उपलब्धि हासिल गरेको थियो । तर यो त पुरानो कथा भइसकेको छ । मेसी र अर्जेन्टिनासामु नयाँ पुस्ताका लागि इतिहास रच्ने अवसर छ ।
अर्जेन्टिनासामु तेर्सिएको अन्तिम चुनौती पनि आफैंमा कमको छैन स्पेनका रूपमा । स्पेन धेरैभन्दा धेरै अर्थमा अर्जेन्टिनाभन्दा फरक छ, त्यसैले फाइनल विशेष हुनेछ ।अर्जेन्टिनाको शक्ति भन्नु नै मेसीमा निर्भर छ । उनका लागि मरिमेटेर खेल्न तयार पूराका पूरा टिम छ । मेसीले यसैक्रममा ८ गोल गरिसकेका छन् । विशेषतः इजिप्ट र इंग्ल्यान्डविरुद्ध अर्जेन्टिनाले नकआउट चरणमा जसरी पुनरागमन रचेको छ । त्यसले भन्छ, यो टिम हार्न जान्दैन अनि यो टिमलाई आफूमाथि पूर्ण विश्वास छ । अब अर्जेन्टिना मेसीमै सीमित एक खेलाडीको टिम पनि रहेन ।
छोटकरीमा भन्दा अर्जेन्टिना त्यस्तो टिम छ, जसलाई आक्रामक फुटबल खेल्न त आउँछ नै । त्यसलाई सुहाउँदो गोल गर्न पनि खप्पिस छ । अर्जेन्टिना आफैंमा झेल्ली टिम रहेको छ । उसलाई फाइदा पुग्ने गरेर केही निर्णय भएको आरोप नलागेको पनि होइन । तर अर्जेन्टिनाले यहाँसम्म तय गरेको यात्रामा टिकेर भन्ने हो भने त्यस्ता आरोपमा खासै धेरै दम छैन । यो टिमका विरोधी भए पनि प्रशंसाको केही शब्द खर्चिन कन्ज्युस्याइँ गर्न हुन्न ।
यही अर्जेन्टिनासामु तेर्सिएको अन्तिम चुनौती पनि आफैंमा कमको छैन स्पेनका रूपमा । स्पेन धेरैभन्दा धेरै अर्थमा अर्जेन्टिनाभन्दा फरक छ, त्यसैले फाइनल विशेष हुनेछ । सन् २०१० मा विश्वकप जितेको स्पेनले त्यसको अगाडि र पछाडि युरोपेली उपाधि जितेको थियो । अहिले पनि यही टिम फेरि एकपल्ट युरोपेली च्याम्पियनका रूपमा फाइनल खेल्दैछ । भन्न कर लाग्छ, इतिहास दोहोरिन बेर छैन ।
युरोपेली च्याम्पियनका रूपमा स्पेनले फेरि एकपल्ट विश्वकप जित्ने सम्भावना पूरापूर छ । स्पेनी टिमको मुख्य विशेषता भने यो एकै खेलाडीमा भर परेर खेल्ने टिमै होइन । न त यसलाई धेरै गोल गरेर के के न गरेको दाबी गर्नु छ । यसलाई मध्यपंक्तिमा सक्दो बल खेलाउनुमै मज्जा लाग्छ अनि फुत्त एक गोल निकालेर खेल जित्नुमै सन्तोष लाग्छ । खासमा यसको शक्ति भनेकै मध्यपंक्ति रहेको छ ।
यही मध्यपंक्तिले त हो, सेमिफाइलनमा फ्रान्सलाई नराम्रोसँग चुपचाप रहन बाध्य पारेको । स्पेनको रक्षापंक्तिको झन् के पो कुरा गर्नु, यसले पूरा प्रतियोगितामै एक गोल मात्र खाएको छ । पछिल्लो पटक स्पेनले विश्वकप जित्दा यसको खेल्ने शैली ‘टिकीटाका’ खुबै चर्चामा रहेको थियो । अहिले पनि स्पेनले लगभग यसरी नै खेलिरहेको छ । यसको केन्द्रविन्दुमा छन्, पास खेल्नमा माहिर रोड्री । त्यसमाथि सबै खाले प्रतियोगितामा स्पेनले हार नखाएको पनि ३७ खेल पुगिसकेको छ । यो क्रम सुरु भएको थियो, २०२४ को मार्चदेखि ।
विश्वकपमा भने स्पेन र अर्जेन्टिना ६० वर्षपछि पहिलो पटक आमने–सामने हुन लागेका हुन् । यसअघि सन् १९६६ को समूह चरणमा यी दुई टिम भिडेका थिए । जसमा अर्जेन्टिना २–१ ले विजयी भएको थियो ।
यो सबै पृष्ठभूमिमा एउटा तथ्य निश्चित छ, फाइनल आफैमा स्वादिलो हुनेछ, यसमा शंका नगरेर हुन्छ । कसले फाइनल जित्ने छ भनेर मनमा धेरै कुरा खेलाउनु पनि पर्दैन, सम्भवतः मेसीको विश्वकपकै अन्तिम खेल तटस्थ समर्थकका लागि खुसी दिने अवसर रहनेछ ।
