अहिले ब्राजिलमा एउटा तस्बिर खुबै भाइरल भइरहेको छ । त्यसमा लामिन यामल ब्राजिलको जर्सीमा छन् । तस्बिरमुनि भनिएको छ, ‘ब्राजिली फुटबलका लागि भरोसा ।’
What you should know
साओ पाउला — पारम्परिक रूपमा विश्वकपको फाइनलमा जुनसुकै टिम पुगे पनि दक्षिण अमेरिकाले आफ्नै महादेशको टिमलाई समर्थन गर्ने गर्छ । सायद यसपल्टको विश्वकप अपवाद रहनेछ । सामाजिक सञ्जालमा भेटिने हाँसको कथादेखि आम फुटबलप्रेमीमा रहेको आलोचनात्मक भावनाले भन्छ, सबै दक्षिण अमेरिकी समर्थक अर्जेन्टिनाको पक्षमा छैनन् ।
अहिले ब्राजिलमा एउटा तस्बिर खुबै भाइरल भइरहेको छ । त्यसमा लामिन यामलले ब्राजिलको जर्सी लगाइरहेका छन् । तिनै यामलको उद्देश्य रहनेछ, अर्जेन्टिनालाई फाइनलमा हराउने । त्यस तस्बिरमुनि भनिएको छ, ‘ब्राजिली फुटबलका लागि भरोसा ।’ त्यसो त ब्राजिल र अर्जेन्टिनाबीच लामो समयदेखि फुटबलमा चिर प्रतिद्वन्द्विता रहँदै आएको छ, त्यो पनि चर्को स्तरमै ।
त्यसलाई पेले र म्याराडोनाबीचको व्यक्तिगत टकरावले अझ झाँगिन प्रेरित गरेको छ । त्यति मात्र होइन, मेक्सिको, कोलम्बिया, चिली र अन्य दक्षिण अमेरिकी देशका फुटबल समर्थकलाई लाग्छ, आइतबारको फाइनलमा हार्ने टिम अर्जेन्टिना नै रहोस् । सन् २०२२ मा अर्जेन्टिनाले तेस्रो पटक विश्वकप जित्दा पनि दक्षिण अमेरिकामा त्यस्तै भावना देखिएको थियो, मेसीको टिमको विरोधमा ।
कोलम्बियाका सामाजिक अनुसन्धानकर्ता जर्मेन गोमेज भन्छन्, ‘दक्षिण अमेरिकी देशबीचको आपसी समझदारी र भातृत्वको भावना फुटबलमा आएर टुट्दो रहेछ ।’ उनका अनुसार सामाजिक सञ्जालकै प्रभाव हुनसक्छ, धेरै दक्षिण अमेरिकीलाई के लाग्छ भने अर्जेन्टिनाले तय गरेको फाइनल यात्रामा फिफा र यसका अध्यक्ष जियानी इन्फान्टिनोको पनि भूमिका छ ।
साओ पाउलोमा ब्राजिली झन्डा बोकेर हिँडिरहेका फुटबल प्रशंसक फ्रान्सिस्को सान्तोस भन्छन्, ‘रेफ्रीले सहयोग गरेकै कारण अर्जेन्टिना फाइनल पुगेको हो । यदि ब्राजिल छैटौंपल्ट विश्वकप जित्न सक्दैन भने मलाई लाग्छ, स्पेन दोस्रोपल्ट विजेता बनोस् । मलाई अर्जेन्टिनाले चौथो पटक विश्वकप जितेको हेर्ने इच्छा छैन ।’
पछिल्लो समय यी ४२ वर्षीय ब्राजिली समर्थक अर्जेन्टिनी फुटबल विरोधी बनेका छन् ।
यसपल्टको विश्वकपको आलोचक के पनि मान्छन् भने अर्जेन्टिनाको यात्रालाई सजिलो होस् भनेर त्यसै अनुसार निर्णय भएका छन् । त्यो रातो र पहेँलो कार्डलाई लिएर पनि हुनसक्छ वा पेनाल्टी प्रदान गर्ने अवसरलाई लिएर । खासमा फिफाले नै अर्जेन्टिनालाई समर्थन गरिरहेको पनि बताउने धेरै छन् । त्यही कारणले उसका विपक्षी टिमलाई गाह्रो भएको मानिएको छ ।
बोगाटाका २८ वर्षीय वित्त कर्मचारी जुवान कामिलो भन्छन्, ‘हाम्रो समर्थन स्पेनलाई रहनेछ ।’ मेक्सिको सिटीमा प्रहरी रहेका ५१ वर्षीय एन्टोनियो लोपज लियोनल मेसीलाई विश्व फुटबलकै लिजेन्ड मान्छन् । तर उनी के भन्छन् भने, ‘रेफ्रीको सहयोग नहुने हो भने अर्जेन्टिना लगातार दोस्रोपल्ट विश्वकप जित्न सफल हुने छैन । रेफ्रीले सहयोग गर्दैन भने मात्र म अर्जेन्टिनाको समर्थन गर्ने छु ।’
मेक्सिकोकी राष्ट्रपति क्लाउडियो सेनबउमालाई भर्खर सोधिएको थियो, फाइनलमा समर्थन कसलाई हुनेछ ? त्यसमा उनको उत्तर थियो, स्पेन । मेक्सिकोका प्रोफेसर जोर्गे नेग्रोले अहिलेको स्थितिमा फुटबल पनि राजनीतिसँग मुछिएको मान्छन् र भन्छन्, ‘अर्जेन्टिनामा धेरै विरोधी दक्षिण अमेरिकामा हुनु पछाडि राजनीति प्रमुख कारण रहेको छ । त्यसैले अहिलेको अविश्वसनीय स्थिति छ ।’
केही अर्जेन्टिनी खेलाडी र समर्थकमाथि पनि रंगभेदी भएको गम्भीर आरोप छ । त्यतिमात्र होइन, एक अश्वेत फ्रान्सेली खेलाडीमाथि अर्जेन्टिनी समर्थकले जसरी व्यवहार गरेका छन्, त्यसको पनि विरोध भइरहेको छ । त्यसले दक्षिण अमेरिकामा अर्जेन्टिनाको समर्थन गर्नेहरू कम रहेको हुनसक्छ । कारण जस्तै भए पनि यस्तै प्रतिद्वन्द्विताले फुटबल अझ रोमाञ्चक हुने गर्छ ।
