यस विश्वकपमा फिफाले प्रत्येक खेलको प्रत्येक हाफमा तीन मिनेट अनिवार्य हाइड्रेसन ब्रेकको नियम लगाएको थियो ।
What you should know
इस्ट रडरफोर्ड — फिफाको ग्लोबल फुटबल डेभलपमेन्टका प्रमुख आर्सन वेङ्गरले शनिबार दाबी गरेका छन्, विश्वकप २०२६ मा प्रयोग गरिएको हाइड्रेसन ब्रेकको नियमले खेललाई नै बिथोल्न काम गरेन । न त यसै कारण खेलको नतिजा तलमाथि भयो । तर यो नियम कायम रहनेछ अथवा छैन, त्यो भने टुंगो लागेको छैन ।
आर्सनलका पूर्वप्रशिक्षक वेङ्गरले यो नियमबारे पुनर्विचार गरिने बताए । यस्तोमा अब हुने फुटबलका ठूला प्रतियोगितामा यो नियम अनिवार्य हुनेछ अथवा हुनेछैन, त्यो निश्चित भएन । यस विश्वकपमा फिफाले प्रत्येक खेलको प्रत्येक हाफमा तीन मिनेट अनिवार्य हाइड्रेसन ब्रेकको नियम लगाएको थियो ।
तर यसप्रति सबैको धारणा एउटै रहेन । केहीले यसको चर्को विरोध गरे भने केहीले यो नियम आवश्यक रहेको पनि दाबी गरे । यो नियमको आलोचना गर्नेले हाइड्रेसन ब्रेक लागू भएपछि खेल आफैंमा चार भागमा विभाजित भएको छ र यसले खेलका लयलाई बिगार्ने काम गरेको दाबी गरेका थिए । यस्तै हाइड्रेसन ब्रेकले टेलिभिजनमा विज्ञापन बजाउन मात्र मद्दत गरेको भनेर पनि आलोचना गरिएको थियो । यसले टेलिभिजन प्रसारणकर्तालाई मात्र आर्थिक फाइदा भएको पनि बताइएको थियो ।
यस्तै खेलका क्रममा दर्शकले पनि अधिकांश समय हाइड्रेसन ब्रेकको विरोध गरिएकै देखिएको थियो, विशेषतः लिग चरणमा । तर वेङ्गरले भने, ‘खेलमाथि हाइड्रेसन ब्रेकको सिधा–सिधा असर परेन, विशेषतः नतिजामा । तर केहीलाई यो नियम भने मन परेन । त्यसैले यो नियमको प्रभाव वास्तवमै कस्तो रह्यो भनेर विश्लेषण गर्नेछौं र यसबारे थप निर्णय गर्नेछौं ।’
उनले थपे, ‘मलाई पूरा प्रतियोगिताका क्रममा यो नतिजाले कसैलाई जिताउन र कसैलाई हराउन मद्दत गरेको छ । तर हाम्रो प्राथमिक फुटबल खेल्ने र हेर्नेले वास्तवमै के महसुस गरे, त्यो महत्त्वपूर्ण रहन्छ ।’ प्रतियोगिताकै क्रममा स्पेनी प्रशिक्षक लुइस डे ला फुन्टे र नेदरल्यान्ड्सका कप्तान भर्जिल भान डाइकले यो नियमको समर्थन गरेका थिए । उनीहरूको दाबी थियो, प्रचण्ड गर्मीमा यस्तो नियम चाहिन्छ ।
प्रशिक्षक फुन्टेले यो नियममा समर्थनमा भनेका थिए, उनका लागि खेलाडीको स्वास्थ्य नै सबैभन्दा महत्त्वपूर्ण हो, त्यसैले यसमा गम्भीर हुनैपर्छ । तर इंग्ल्यान्डका कप्तान थोमस टुचेलले भने यो नियमको विरोध गर्दै यसले खेलका लय बिगार्ने काम गरेको आरोप लगाएका थिए ।
उरुग्वेली प्रशिक्षक मार्सेलो बिएल्साले पनि यो नियममा अझ धेरै आलोचना गरे । उनले यो नियमले फुटबललाई केही पनि फाइदा नगरेको र यसले उल्टै खेलको विशेषतामा नै आघात पुर्याउने काम गरेको बताएका थिए । विश्वकपका केही खेल अमेरिका, क्यानडा र मेक्सिकोमा प्रतिकूल मौसममा पनि भएको थियो । त्यसमध्ये केही खेल प्रचण्ड गर्मीबीच चलेको थियो । फेरि केही खेल भने चिसो मौसममा पनि भएको थियो । तर प्रत्येक खेलमा हाइड्रेसन ब्रेक पनि लिइएको थियो ।
वेङ्गरले थपे, ‘केही खेलमा यो नियम अनिवार्यजस्तै भएको थियो । तर हामी केही खेलमा यो नियम हटाएर अन्योल पनि होस् भन्ने चाहन्न थियौं । त्यसैले यो नियम प्रत्येक खेलमा लागू भयो । प्रतियोगिताको समाप्तिमा हामीले पक्कै पनि यसबारे गम्भीर समीक्षा गर्नेछौं । चिकित्सकीय दृष्टिकोणले पनि केही खेलमा यस्तो नियम चाहिन्छ तर हामीले यही गर्ने छौं भनेर निर्णय गरेका छैनौं ।’
