प्रशिक्षक डिडिएर डेसच्याम्पको कार्यकाल फ्रान्सेली फुटबल इतिहासमै एक सफल समय रह्यो । उनकै नेतृत्वमा फ्रान्सले सन् २०१८ मा मस्कोमा विश्वकपको उपाधि जितेको थियो ।
What you should know
मियामी — प्रशिक्षक डिडिएर डेसच्याम्पले फ्रान्सेली टिमको जिम्मेवारीबाट शनिबार बिदा लिएका छन् र आफूले बिताएको पछिल्लो १४ वर्षको यात्रालाई अद्वितीय रहेको बताएका छन् । उनको कार्यकाल फ्रान्सेली फुटबल इतिहासमै एक सफल समय रह्यो । उनकै नेतृत्वमा फ्रान्सले सन् २०१८ मा मस्कोमा विश्वकपको उपाधि जितेको थियो ।
यसक्रममा उनी खेलाडी र प्रशिक्षकका रूपमा विश्वकप जित्ने तेस्रो भाग्यमानी भएका थिए । उनकै नेतृत्वमा सन् २०२२ मा पनि फ्रान्स विश्वकपको फाइनल पुगेको थियो, तर पेनाल्टी सुटआउटमा अर्जेन्टिनासँग पराजित रह्यो । यसपल्टको विश्वकपमा पनि फ्रान्सको प्रदर्शन उच्च रह्यो र सेमिफाइनल हार अगाडि प्रतियोगिताकै सबैभन्दा राम्रो खेल्ने टिम रहेको थियो ।
तर अन्तिम चारमा भने स्पेनको हातबाट २–० ले पराजित रह्यो । इंग्ल्यान्डविरुद्धको तेस्रो स्थानका लागि भएको खेल पनि फ्रान्सले ६–४ ले गुमायो । पहिलो हाफसम्म फ्रान्स चार गोलले पछाडि रहेको थियो । उनले उत्तरी अमेरिकामा भएको विश्वकप पनि आफ्नो लागि सुखद नै रहेको प्रतिक्रिया दिए र त्यसका लागि उनले आफ्ना खेलाडी र सहयोगीलाई धन्यवाद पनि दिए ।
डेसच्याम्पले मिडियासँगको कुराकानीमा भनेका छन्, ‘मानवीय आधारमा मेरो लागि अहिलेको यात्रा पनि धेरै खुसी दिने रह्यो । हामीले आठ साता जतिको समय सँगसँगै बितायौं । टिमको तयारीदेखि अहिलेसम्मको यात्राका अनेक सम्झनायक मोड रहे ।’ उनले फुटबलको दृष्टिकोणले भने आफ्नो टिम सेमिफाइनलमै रोकिनुलाई निराशजनक रहेको पनि स्विकारे ।
उनको दाबी थियो, टिम राम्रो गरेको पनि हो, तर अन्तिम तगारोमा असफल जस्तै रह्यो । उनले भने, ‘प्रतियोगिताका क्रममा हाम्रो प्रदर्शनमा धेरै सकारात्मक पक्ष रहे । स्पेनविरुद्धको खेलमा भने हामी चुकेकै थियौं । हाम्रोविरुद्ध त्यस खेलमा स्पेनको प्रदर्शन उच्च रह्यो ।’
अब उनीपछि फ्रान्सेली टिमको जिम्मेवारी जिनेदिन जिदानले सम्हाल्ने तय मानिएको छ । फ्रान्सेली लिजेन्डको नेतृत्वमा फ्रान्सेली फुटबलको भविष्य सुन्दर रहेको दाबी पनि ५७ वर्षीय डेसच्याम्पले गरे । उनले भने, ‘अहिले फ्रान्सेली टिममा निकै प्रतिभाशाली खेलाडीको बाहुल्यता रहेको छ । उनी अबको दिनमा अझ राम्रो खेलाडी हुनेछन् । फ्रान्सेली फुटबलका लागि प्रतिशाली खेलाडीको कहिले पनि कमी रहने छैन् र यसै कारण पनि राम्रो नतिजा आइरहने छन् ।’
२०१२ मा डेसच्याम्पले पहिलो पटक फ्रान्सेली टिम सम्हालेका थिए र त्यसको दुई वर्ष अगाडि मात्रै फ्रान्सेली टिम दक्षिण अफ्रिकामा भएको विश्वकपमा लज्जास्पद प्रदर्शनपछि घर फर्केको थियो । रुसमा विश्वकप जितेको दुई दशक अगाडि डेसक्याम्पले कप्तानकै रूपमा च्याम्पियन हुनुको सफलता हात पारेका थिए । उनको नेतृत्वमा फ्रान्सले लगातार चार विश्वकप खेल्यो ।
२०१४ मा फ्रान्स क्वाटरफाइनलमा जर्मनीसँग पराजित भएको थियो र पछि त्यही टिमले विश्वकप पनि जितेको थियो । २०१६ को युरोमा पनि फ्रान्स फाइनलसम्म पुगेको थियो, तर पोर्चुगलसँग पराजित रह्यो । इंग्ल्यान्डविरुद्धको खेलपछि फ्रान्सेली कप्तान किलियन एमबापेले भने, ‘डेसच्याम्पले फ्रान्सेली फुटबलमा पुर्याएको योगदान कहिल्यै बिर्सिने छैन् ।’
