क्यानडाले भिसा दिन अस्वीकार गरेपछि आइभोरी कोस्टका फरवार्ड इल्ये वाहीले विश्वकपमा जर्मनीसँगको खेल गुमाउने भएका छन् । आइभोरियन फुटबल महासंघले बिहीबार यसको पुष्टि गरेको छ ।
अबिदजान — क्यानडाले भिसा दिन अस्वीकार गरेपछि आइभोरी कोस्टका फरवार्ड इल्ये वाहीले विश्वकपमा जर्मनीसँगको खेल गुमाउने भएका छन् । आइभोरियन फुटबल महासंघले बिहीबार यसको पुष्टि गरेको छ ।
‘क्यानडाको भूमि प्रवेश गर्न आवश्यक कागजपत्र उनले अहिलेसम्म प्राप्त गर्न सकेका छैनन्, उनी शनिबार टोरन्टोमा हुने खेलका लागि भ्रमण टोलीमा समावेश हुने छैनन्,’ महासंघले विज्ञप्तिमा भनेको छ । तर भिसा अस्वीकृत हुनुको कुनै कारण खुलाइएको छैन ।
क्यानडा प्रवेश गर्नबाट रोकिने वाही विश्वकप खेल्न आएका दोस्रो खेलाडी हुन् । यसअघि घानाका थोमस पार्टेयलाई पनि क्यानडाले भिसा दिएन । थोमसले बेलायतमा बलात्कार अभियोगको मुद्दा खेपिरहेका छन् । विभिन्न सञ्चारमाध्यमले जनाएअनुसार फ्रान्सेली प्रहरीले लिग वानमा निसबाट खेलिरहेका वाहीलाई शंकास्पद स्पट फिक्सिङको बारेमा प्रश्न गरेको थियो ।
मध्य मे महिनामा मेट्जसँगको गोलरहित बराबरी खेलमा वाहीले पहेँलो कार्ड पाएका थिए । २३ वर्षे उनले पहेँलो कार्ड पाएको घटनामा अस्वाभाविक रूपमा ठूलो संख्यामा बाजी थापिएको अधिकारीहरूले भेटेका छन् । फ्रान्समा जन्मिएका उनले मार्चमा आइभोरी कोस्टबाट खेल्ने निर्णय गरेका थिए । आइभोरी कोस्टले फिलाडेल्फियामा भएको पहिलो खेलमा इक्वेडरमाथि १–० को विजय हात पार्दा वाहीले सुरुदेखि खेलेका थिए ।
