अस्ट्रेलियाले यस विश्वकपमा टर्किएमाथि २–० को विजय हात पार्दाका नायक हुन्, २० वर्षे नेस्टोरी इरानकुन्डा ।
काठमाडौँ — अस्ट्रेलियाले यस विश्वकपमा टर्किएमाथि २–० को विजय हात पार्दाका नायक हुन्, २० वर्षे नेस्टोरी इरानकुन्डा । भ्यानकोभरमा उनले नै पहिलो गोल गर्दै जितको कथा कोरेका थिए । अस्ट्रेलियाबाट खेल्दै उनले १६ खेलमा गरेको यो छैटौं गोल हो । उनको टोली अस्ट्रेलियाले शुक्रबार सियाटलमा अमेरिकाविरुद्ध खेल्दै छ । शरणार्थी क्याम्पदेखि विश्वकपको गोलसम्म उनको यात्रा साहसले भरिएको छ ।
उनका बुवा अफ्रिकी राष्ट्र बुरुन्डीका हुन् । त्यहाँ गृहयुद्ध चलिरहेकाले उनको परिवार तान्जेनियाको किगोमाको शरणार्थी सिविर पुगेको थियो । त्यहीं इरानकुन्डाको जन्म भएको हो । उना दुई दाइ थिए, ५ बहिनी थपिए । त्यसपछि उनको परिवार अस्ट्रेलियाको पर्थ पुगेको थियो, जतिखेर इरानकुन्डा ३ वर्षका मात्र थिए । १५ वर्षको उमेरमा उनी एडिलेड युथ टोलीमा समावेश भए ।
एडिलेडको मुख्य टोली हुँदै उनी जर्मनीको बायर्न म्युनिख पुगे । त्यहाँ एउटै खेल खेल्न पाएनन् । गत वर्षदेखि उनी इंग्लिस च्याम्पियनसिप टोली वाटफोर्डबाट खेलिरहेका छन् । उनले ४० खेलमा ४ गोल गरेका छन् । २०२४ यता उनी अस्ट्रेलियाको राष्ट्रिय टोलीबाट खेल्दै आएका छन् ।
