केप भार्डेको एउटा तथ्यले प्रमाणित गरेको छ, यसपल्टको विश्वकपमा ४८ टिमलाई सहभागी गराउनु ठीक हो।
What you should know
लस एन्जलस — विश्वकप फुटबलमा बिहीबारसम्म सबै टिमले एक–एक खेल खेलिसकेका छन् । यो पहिलो चरणको खेल समाप्त हुँदा वास्तविक कथा कस्तो रह्यो त ? लियोनल मेसीको ह्याट्रिकसँगै उत्कृष्ट प्रदर्शन, केप भार्डेले स्पेन जत्तिको टिमलाई बराबरीमा रोक्नु र अन्य धेरै उल्लेखनीय घटना । खासमा पहिलो चरणको खेल अपेक्षा गरेभन्दा पनि रोमाञ्चक र सनसनीपूर्ण रह्यो ।
मेसीमा अझै धेरै छ
चार वर्षअगाडि मेसीले अर्जेन्टिनाका लागि कतारमा विश्वकप जित्दा लागेको थियो, उनको खेलजीवनले पूर्णता पाएको छ । तर उनी रोकिएनन् । मेसीको ३९ औं जन्मदिन असाध्यै नजिक छ । सायद यी जादुयी खेलाडीमा अझै धेरै गर्न बाँकी छ । उनी एक अर्को ठूलो सफलता पछ्याइरहेका छन् । अल्जेरियाविरुद्धको ह्याट्रिकले सायद यही भनिरहेको छ ।
अल्जेरियाविरुद्ध मेसीको तीन गोलमध्ये दुई शक्तिशाली प्रहार गरेका थिए भने एक नजिकको दूरीबाट हल्का छुने मात्र काम । यो प्रदर्शनमा मेसीको खुसीको सीमा थिएन । उनी आफैंले भनेका थिए, ‘अन्त्यमा जे भयो, राम्रो भयो, राम्रोभन्दा अरू केही भएन ।’
धेरैले यो खेलमा मेसीको महानता पनि देखे । अनि धेरैले उनको लगनशिलताको प्रशंसा गरे । अब अर्जेन्टिनाले सोमबार हुने खेलमा अस्ट्रियाको सामना गर्नेछ । त्यसमा मेसीसामु अझ धेरै कीर्तिमान बनाउने अवसर हुनेछ ।
उनी त्यसै पनि विश्व फुटबलका सदाबहार र सर्वकालीन महान् खेलाडीमध्ये एक हुन् । पहिलो चरणको खेलले यस्तै दाबी अझ धेरै बलियो भएको छ ।
फिक्का भए रोनाल्डो
विश्व फुटबलका अहिलेका तीन सुपरस्टार मेसी, फ्रान्सका केलियन एमबाप्पे र नर्वेका इर्लिङ हालान्ड चम्किएपछि यस्तै प्रदर्शन गर्ने पालो थियो, क्रिस्टियानो रोनाल्डोको । एकै चरणको खेलपछि यी तीनै खेलाडी गोल्डेन बुट अवार्डका लागि समेत प्रत्याशी भइसकेका छन् । तर पोर्चुगाली खेलाडीसामु अरू कोही होइन, डीआर कंगो जस्तो टिम थियो । उनीसामु ती व्यक्तिगत प्रतिद्वन्द्वीभन्दा राम्रो गर्ने अवसर थियो । तर उनले सकेनन् ।
साउदी अरेबियामा व्यावसायिक फुटबल खेलिरहेका रोनाल्डो लगभग पूरा खेल अवधिमा चुपचाप जस्तै रहे । धन्न, पोर्चुगलले १–१ को बराबरी निकाल्न सफल रह्यो ।
रोनाल्डोले छैटौं विश्वकप खेलेको कीर्तिमानको खुसीयाली पनि मनाउन पाएनन् । यी ४१ वर्षीय खेलाडीले पूरा खेल अवधिमा जम्माजम्मी २५ पटक बल छोए ।
यिनै रोनाल्डो अहिले आफ्नो खेलजीवनको हजारौं गोल छुने प्रयासमा छन्, आफ्नो देश र क्लबसमेत जोडेर । तर पछिल्लो समय उनले साँच्चै लय गुमाएका छन् । त्यसैले त पछिल्ला १० खेलमा उनले गोल गर्न सकेका छैनन् । अब त स्थिति कस्तो बनेको छ भने रोनाल्डोलाई सुरुआती टिममा राख्ने वा वेञ्चमा, त्यसबारे बहस सुरु हुन थालेको छ ।
केप भार्डेले प्रमाणित गरेको तथ्य
केप भार्डेका गोलरक्षक भोजिन्हा स्पेनविरुद्धको खेल गोलरहित बराबरीमा टुंगिएपछि निकै भावनात्मक भए । उनलाई त्यतिबेला भार्डेका सबै खेलाडीले घेरेका थिए । युरोपेली च्याम्पियनविरुद्ध केप भार्डेको प्रदर्शन पक्कै पनि कम्तीको थिएन । नत्र, स्पेनले यो खेल असाध्यै सजिलै जित्ने अपेक्षा गरिएको थियो । केप भार्डेको विश्वकप डेब्युमै ४० वर्षीय भोजिन्हाको प्रदर्शन वास्तवमै गजब नै रह्यो ।
यसैक्रममा केप भार्डेले एउटा तथ्य भने प्रमाणित गरेको छ । यो हो, यसपल्टको विश्वकपमा ४८ टिमलाई सहभागी गराउनु ठीक हो । फिफाको यति धेरै टिमलाई खेलाउनुको आलोचना गर्ने धेरै थिए । त्यसमा एक त युरोपेली फुटबल महासंघका अध्यक्ष एलेक्जान्डर सेफेरिन पनि थिए । उनी भन्थे, धेरै टिम भएपछि विश्वकप आफैंमा रमाइलो हुन्न ।
अझ भनौं, एकपक्षीय खेल धेरै हुन्छ । केप भार्डेले यस्तै तथ्यलाई कम्तीमा अहिलेका लागि गलत साबित गरेको छ । भोजिन्हा त एकाएक सुपरस्टार भए । त्यसैले त विश्वकप अगाडि उनको इन्स्ट्राग्रामलाई पछ्याउनको संख्या थियो, ५० हजार । अहिले त्यो एक करोड ३० लाखभन्दा बढी भइसकेको छ ।
महँगो टिकट, दर्शक उत्तिकै
यस वर्षको सुपर बाउल फाइनल भएको स्टेडियम हो, सान्टा क्लाराको लेभिज स्टेडियम । यहीं अस्ट्रिया र जोर्डनबीचको खेल भएको थियो । यही खेल हेर्न रंगशाला भरिभराउ रह्यो । धेरैलाई लाग्न सक्छ, यो खेल सबैभन्दा कम आकर्षकको हुनेछ । अझ त्यसमाथि महँगो टिकट । तर यति हुँदाहुँदै त्यही खेल हेर्न आएका दर्शकको संख्या थियो, ६८ हजार ५ सय २७ ।
चार रातो कार्ड
सन् २०१८ र २०२२ को विश्वकपमा चार–चार रातो कार्ड मात्र देखाउने काम भयो । यसअघिका विश्वकपका तुलनामा त्यतिबेला रातो कार्ड देखाउने क्रममा असाध्यै धेरै कमी आएको थियो । तर, मेक्सिको र दक्षिण अफ्रिकाबीचको पहिलो खेलमै तीन रातो कार्ड देखाउने काम भएपछि धेरैलाई लागेको थियो, यसपल्ट धेरै रातो कार्ड देखाइने हो कि ? तर होइन, त्यसपछिका २३ खेलमा कुनै पनि रातो कार्ड देखाउने काम भएको छैन ।
