मेक्सिकोले दक्षिण अफ्रिकाविरुद्ध २–० गोल अन्तरको सानदार जित हासिल गरेको छ ।
मेक्सिकोले दक्षिण अफ्रिकाविरुद्ध २–० गोल अन्तरको सानदार जित हासिल गरेको छ ।एजटेकाका रंगशालामा ८० हजार दर्शक सामु मेक्सिकोका जुलियन क्विनोनेज विश्वकप २०२६ मा गोल गर्ने पहिलो खेलाडी बनेका हुन् । उनले मेक्सिकोलाई नवौं मिनेटमा अग्रता दिलाएका थिए ।मेक्सिकोका लागि ३५ वर्षीय राउल हिमिनेजले दोस्रो गोल गरेका हुन् । खेलको ६७ औं मिनेटमा उनले रोबर्टो अल्भारडोको उत्कृष्ट क्रसमा हेड गोल गरेका थिए ।
याया सिथोले र थेम्बा ज्वानेले रातो कार्ड पाएसँगै दक्षिण अफ्रिका ९ खेलाडीमा सीमित भएको छ ।
मेक्सिकोका ब्रायन गुटिरेजले एक्लै अगाडि बढाएको बलमा पेनाल्टी बक्स बाहिर लास्ट म्यानको रूपमा रहेका सिथोलेले लडाएपछि उनलाई सिधै रातो कार्ड दिइएको हो ।
मेक्सिकोसँगको खेलमा रातो कार्ड पाउने दोस्रो खेलाडी बनेका ज्वानेलाई भीएआरको सहयोगमा रेफ्रीले विपक्षी टोलीका खेलाडीलाई हातले प्रहार गरेको कारण ८४ औं मिनेटमा रातो कार्ड दिएका हुन् ।
मेक्सिकोका जुलियन क्विनोनेज विश्वकप २०२६ मा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । उनले बिहीबार राति उद्घाटन खेलमा दक्षिण अफ्रिकाविरुद्ध नवौं मिनेटमा गोल गरेका हुन् ।
दक्षिण अफ्रिकाका गोलरक्षक रोनवेन विलियम्सले दिएको बललाई रक्षकले नियन्त्रण गुमाउँदा मेक्सिकोले त्यसको फाइदा उठाएको थियो र इरिक लिराले दिएको पासमा क्विनोनेजले दक्षिण अफ्रिकी गोलरक्षकको खुट्टामुनिबाट गोल गरेका थिए ।
अमेरिकी र क्यानडासँगै विश्वकप आयोजना गरिरहेको मेक्सिकोलाई घरेलु मैदानमा समर्थन गर्न ठूलो संख्यामा दर्शकहरू रंगशाला आएका छन् ।
चौथो मिनेटमा नै मेक्सिकोका राउल हिमिनेजले गरेको प्रहारलाई दक्षिण अफ्रिकाका गोलरक्षक रोनवेन विलियम्सले उत्कृष्ट बचाउ गरेका थिए ।
पहिलो पटक ४८ राष्ट्र सहभागी हुने यो प्रतियोगिता उत्तर अमेरिकाका ३ देश संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुँदैछ । ती देशका १६ वटा सहरका रंगशालामा विश्वकप फुटबलका १ सय ४ खेल खेलिनेछन् । बिहीबार राती पौने १ बजे सुरु हुने उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्दै छ ।
विश्वकप सुरु भएसँगै काठमाडौंमा फुटबलको उत्साह बढेको छ ।
विश्वकपका खेलहरू ७ समुन्द्र पारि हुने भए पनि काठमाडौंका सडक, क्लब, रेस्टुरेन्ट, लाउन्ज र सार्वजनिक स्थलहरूमा ठूल्ठूला पर्दामा विश्वकप फुटबल हेर्नेहरूको भीड लागेको छ ।
फुटबलको कुम्भमेला ‘फिफा विश्वकप २०२६’ मेक्सिकोस्थित स्टाडियो एजटेका रङ्गशालामा भव्य उद्घाटन समारोह सम्पन्न भएको छ । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको यस विश्वकपको औपचारिक सुरुवातसँगै विश्वका फुटबल समर्थकको ध्यान अहिले मेक्सिकोमा केन्द्रित भएको छ ।
उद्घाटन समारोहमा कलाकारहरूले सुनौलो पोसाकमा सजिएर रङ्गीचङ्गी कला प्रस्तुत गरेका थिए । दर्शकको हुटिङ र उत्साहले रङ्गशालाको माहोल रोमाञ्चक र चित्ताकर्षक बनेको थियो ।




