कस्तो छ फिफा विश्वकप २०२६ को उद्‌घाटन समारोहको तयारी ?

खेल र मनोरञ्जनलाई एउटै मञ्चमा जोड्दै फिफाले यस पटकको विश्वकपलाई साँस्कृतिक र प्रविधिमैत्री बनाउने घोषणा गरेको छ ।

जेष्ठ २८, २०८३

विनयज्योति सापकोटा

How are the preparations for the opening ceremony of the FIFA World Cup 2026 going?

What you should know

काठमाडौं — फिफा विश्वकप २०२६ केही समयपछि भव्य कार्यक्रमसहित सुरु हुँदैछ । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरेको यस पटकको विश्वकप मानवता, संगीत र एकताको साझा मञ्चका रुपमा ३ छुट्टाछुट्टै समारोहसहित सुरु हुन लागेको छ । खेल र मनोरञ्जनलाई एउटै मञ्चमा जोड्दै फिफाले यस पटकको विश्वकपलाई साँस्कृतिक र प्रविधिमैत्री बनाउने घोषणा गरेको छ । 

विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप २०२६  निकै भव्य, रंगीन र ऐतिहासिक शैलीमा सुरु हुँदैछ । उत्तर अमेरिका विश्व फुटबललाई आतिथ्यता दिन तयार भइरहँदा यस पटकको विश्वकपको सबैभन्दा अनौठो र ऐतिहासिक पक्ष भनेकै ३ अलग-अलग उद्घाटन समारोह हो । पहिलो उद्‌‌घाटन समारोह बिहीबार राति मेक्सिको सिटीमा सुरु हुँदैछ, जहाँ मैदानमा प्रवेश गर्नुअघि नै संगीत र संस्कृतिले फुटबललाई स्वागत गर्नेछ । मेक्सिको र दक्षिण अफ्रिकाबीचको उद्‌घाटन खेलभन्दा करिब ९० मिनेटअघि सुरु हुने समारोहले सम्पूर्ण विश्वलाई उत्सवको मुडमा डुबाउनेछ । उल्लेखनीय कुरा के छ भने मेक्सिको सिटी स्टेडियम ३ वटा विश्वकपको उद्‌घाटन  खेल आयोजना गर्ने विश्वकै पहिलो र एकमात्र स्टेडियम बन्दैछ ।

मेक्सिको सिटीको यो ऐतिहासिक मञ्चमा विश्व संगीतका स्टार शाकिरा र बर्ना बोईले फिफा विश्वकपको आधिकारिक गीत 'डाइ डाइ'लाई प्रत्यक्ष रूपमा प्रस्तुत गर्नेछन् । यो गीत विश्व फुटबलको साझा उत्सवको प्रतीक बनेर गुञ्जिनेछ । त्यसै मञ्चमा एलेजान्जो फर्नान्डेज, बेलिन्डा, जे बाल्विन, मान, लिला डाउन्स, ड्यानी ओसियन र टाइला जस्ता कलाकारहरूले मेक्सिकोको सांस्कृतिक, संगीत, नृत्य र आदिवासी परम्पराको सुगन्धलाई विश्वसामु प्रस्तुत गर्नेछन् ।

नेपाली समयअनुसार शुक्रबार राति क्यानडाको टोरन्टोले दोस्रो उद्‌घाटन समारोह आयोजना गर्नेछ । क्यानडा र बोस्निया-हर्जगोभिनाबीचको खेलअघि हुने यस कार्यक्रममा माइकल बुब्ले मुख्य आकर्षण रहनेछन् । त्यहाँ एलानिस मोरिसेट, एलेसिया कारा, जेसी रेयेज र नोराह फतेहीले संगीतको विविधता र आधुनिकतालाई मञ्चमा जीवन्त बनाउनेछन् ।

त्यसै दिन अमेरिकाको लस एन्जलसमा तेस्रो उद्‌घाटन समारोह हुनेछ । जसले विश्वकपलाई उत्तर अमेरिकाको त्रिकोणीय सांगीतिक महोत्सवको रूपमा पूर्णता दिनेछ । अमेरिका र पाराग्वेबीचको खेलअघि हुने यस कार्यक्रममा केटी पेरी, युचर, अनिट्टा, एलआईएसए, रिमा र टाइला जस्ता अन्तर्राष्ट्रिय कलाकारहरूले विश्व संगीतको बहुरंगी स्वरलाई एउटै लयमा बाँध्नेछन् ।

यस विश्वकपमा शाकिरा केवल उद्‌घाटनको मात्र होइन, समापनको पनि केन्द्र बन्नेछिन् । उनले 'डाइ डाइ'मार्फत उद्‌घाटन समारोहमा जादू छर्नेछिन् भने फाइनल खेलको हाफटाइम शोमा पुनः आफ्नो प्रस्तुति दिँदै सम्पूर्ण प्रतियोगितालाई थप भब्य बनाउने छिन् । न्यूयोर्क-न्यु जर्सी स्टेडियममा जुलाई १९ मा हुने फाइनल कार्यक्रममा म्याडोना र के-पप समूह बीटीएसको प्रस्तुति रहने छ ।

यो सम्पूर्ण कार्यक्रम प्रसिद्ध संगीत निर्देशक क्रिस मार्टिन कोल्डप्लेको संयोजनमा तयार गरिएको छ । जसले यस विश्वकपलाई, मानवता, संगीत र एकताको साझा कथा बनाउने लक्ष्य राखेका छन् । साथै, यस महोत्सवबाट प्राप्त हुने योगदानलाई शिक्षा र फुटबल विकासका लागि समर्पित कोष निमार्ण गरिने छ ।

विनयज्योति

Link copied successfully