विश्वकप : मैदानभित्र खेल, बाहिर राजनीतिक दाउपेच

मैदानभित्र खेलाडीहरू बल दौडाउन तयार भएका बेला बाहिर भने राजनीतिक संघर्ष र कूटनीतिक दाउपेच चर्किएको छ ।

जेष्ठ २८, २०८३

सुवास रोकाया

World Cup: Sports on the field, political maneuvering outside

What you should know

काठमाडौं — सन् २०२६ को फिफा विश्वकप इतिहासकै महँगो प्रतियोगिता बन्ने अवस्था छ । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रुपमा आयोजना गरेको यस पटकको विश्वकममा ४८ देशका खेलाडी मात्रै सहभागी छैनन् । उनीहरूलाई समर्थन गर्न विश्वभरबाट दर्शकहरू अमेरिका, क्यानडा र मेक्सिको पुग्न थालिसकेका छन् ।    

विशेषगरी इरान-अमेरिका युद्धको असरले यो महाउत्सवलाई राजनीतिक शक्ति संघर्षको केन्द्रमा धकेलेको छ । मैदानभित्र खेलाडीहरू बल दौडाउन तयार भएका बेला बाहिर भने राजनीतिक संघर्ष र कूटनीतिक दाउपेच चर्किएको छ ।

लस एन्जलसको पश्चिमतर्फ रहेको वेस्टवुड लामो समयदेखि 'तेहरानगेल्स' भनेर चिनिन्छ, जहाँ इरानबाहिर विश्वकै सबैभन्दा ठूलो इरानी समुदायको बसोबास छ । यसै क्षेत्रमा इरानी मूलका अमेरिकी अभियन्ता तथा लस एन्जलस चेम्बर अफ कमर्सका प्रमुख कार्यकारी रुजबेह फराहानीपुरको पनि बसाइ छ । 

उनले यो विश्वकपमा इरानी टोलीले नभइ इस्लामिक गणतन्त्रको टोलीले सहभागिता जनाइरहेको अभिव्यक्ति दिएका छन् । सन् २००० मा राजनीतिका कारण इरान छाडेका फराहानीपुरसँग फुटबललाई राजनीतिबाट अलग गर्ने कुनै उपाय छैन ।

इरानी समुदायका लागि यो विश्वकप अझै जटिल बनेको छ । इरानले लस एन्जलस र सियाटलमा खेल्ने तयारी गरे पनि त्यहाँको राजनीतिक वातावरण अत्यन्त संवेदनशील छ । स्टेडियम बाहिर इरानी सरकारविरोधी प्रदर्शन भइरहेका छन्, जहाँ इरानको राजतन्त्रकालीन सिंह र सूर्यअंकित झन्डा फहराइँदैछ ।  

इरानी मूलका अमेरिकीहरू यसैलाई वास्तविक इरान मान्छन् । तर, फिफाले यो झन्डालाई राजनीतिक प्रतीक भन्दै स्टेडियमभित्र निषेध गरेको छ । इरानी फुटबल महासंघले प्रतियोगितामा सहभागी हुन 'आधिकारिक झन्डा र राष्ट्रिय प्रतीकको सम्मान' अनिवार्य गरेको छ, जसले समर्थक र खेलाडीहरूलाई थप दबाबमा पारेको छ । इरानी फ्यानहरूको टिकट कोटा रद्द गरिएको छ । अमेरिकी प्रतिबन्धका कारण वित्तीय लेनदेन रोकिएको छ ।

सोमाली रेफ्रीलाई अमेरिका प्रवेश नदिइएको घटनाले पनि विश्वकपमा विवाद थपेको छ । केही अन्य देशका खेलाडीहरूलाई पनि कडा जाँच र सोधपुछ गरिएको रिपोर्ट सार्वजनिक भएका छन् ।

इरानी टोलीका केही अधिकारीहरूलाई सुरक्षा कारण देखाउँदै भिसा दिइएको छैन । यसले इरानी पक्षलाई आक्रोशित बनाएको छ, इरानी पक्षले यसलाई खेलकुदमाथिको राजनीतिक हस्तक्षेप भनेको छ भने स्टेडियम बाहिरका प्रदर्शन पनि प्रायोजित भएको आरोप लगाएको छ । 

हाल इरानको टोली मेक्सिकोमा बसिरहेको छ । यो सामग्री तयार पार्दासम्म उनीहरूलाई खेल हुने दिनमात्र अमेरिकामा प्रवेश र बाहिरिने अनुमति छ । यस्तो नियम विश्वकप इतिहासमै दुर्लभ हो । तर, इतिहास हेर्ने हो भने फुटबल सधै शान्तिको प्रतीक बनेको छ । 

प्रथम विश्वयुद्धका बेला सन् १९१४ मा बेलायती र जर्मन सेनाले युद्ध रोक्दै फुटबल खेलेका थिए । सन् १९६९ मा महान फुटबलर पेले आबद्ध क्लब सान्तोस नाइजेरिया पुग्दा गृहयुद्धका दुवै पक्षले अस्थायी युद्धविराम गरेका थिए । २००५ मा आइभरी कोस्टका डिडिएर ड्राेग्बाले पनि आफ्नो देशको गृहयुद्ध रोक्न फुटबलमार्फत एकताको सन्देश दिएका थिए । 

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपलाई 'मानव इतिहासकै सबैभन्दा ठूलो उत्सव' भनेका छन् । यसैले फुटबलको सार एउटै हो विश्व शान्ति र एकता । जब ४८ राष्ट्रका खेलाडी एउटै लक्ष्यका लागि मैदानमा प्रवेश गर्नेछन्, त्यतिबेला राष्ट्रिय सीमाभन्दामाथि रहनुपर्छ- फुटबल, मात्र फुटबल ।

सुवास रोकाया कान्तिपुर टिभीका संवाददाता हुन् ।

Link copied successfully