काठमाडौं प्रहरीका अनुसार, बिहीबार दिउँसोसम्म गौरीघाट, स्युचाटार, गोकर्णेश्वर बेँसीगाउँ, लाजिम्पाट, नयाँ बानेश्वर, बुढानीलकण्ठ र गैरीधारामा सार्वजनिक रूपमा खेल देखाउने अनुमति जारी भएको छ ।
What you should know
काठमाडौं — विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव आजबाट सुरु हुँदैछ । अबको एक महिना विश्वको ध्यान अमेरिका, क्यानडा र मेक्सिकोका खेल मैदानमा केन्द्रित हुनेछ ।
विश्वकपका खेलहरू ७ समुन्द्र पारि हुने भए पनि काठमाडौंका सडक, क्लब, रेस्टुरेन्ट, लाउन्ज र सार्वजनिक स्थलहरूमा पनि रौनक सुरु भइसकेको छ ।
विश्वभरका करोडौं समर्थकझैं नेपाली दर्शक पनि रातभर जाग्राम बसेर मनपर्ने टोलीलाई समर्थन गर्ने तयारीमा छन् । तर, यसपटक फुटबलको उत्साहसँगै सुरक्षा, सार्वजनिक शिष्टता र कानुनी व्यवस्थाको प्रश्न पनि उत्तिकै महत्वपूर्ण बन्ने सुरक्षा अधिकारीहरूले बताएका छन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआईजी अविनारायण काफ्लेका अनुसार विश्वकपमा नेपाल सहभागी नभए पनि हरेक पटक प्रतियोगिताको प्रभाव काठमाडौंसहित देशभर स्पष्ट देखिन्छ । विशेषगरी काठमाडौं उपत्यकामा दर्जनौं क्लब, होटल, पार्टी प्यालेस, लाउन्ज र खेलकुदप्रेमी समूहहरूले ठूलो पर्दामा खेल देखाउने गरेका छन् । उनका अनुसार प्रहरीले उत्सवलाई अनुशासित बनाउन विशेष निगरानी र सुरक्षा योजना लागु गरेको छ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार फुटबलप्रेमीहरूले खेल हेर्न र देखाउन पाउने भए पनि सार्वजनिक सुरक्षा, ध्वनि प्रदूषण र कानुनी व्यवस्थामा कुनै सम्झौता गरिने छैन । ‘सुरक्षा मापदण्ड उल्लंघन नगरी खेल हेर्न र देखाउन सकिन्छ । ठूलो स्क्रिन राख्दा दर्शक तथा सर्वसाधारणको सुरक्षामा ध्यान दिनुपर्छ । होहल्ला गर्न पाइँदैन, वरपर सुतिरहेका स्थानीयलाई असर पर्ने गरी चर्को आवाज वा अत्यधिक प्रकाश प्रयोग गर्न पाइँदैन,’ उनले बिहीबार दिउँसो कान्तिपुरसँग भने ।
उनका अनुसार होटल, रेस्टुरेन्ट, बार तथा क्लबहरूले आफ्नै परिसरमा खेल देखाउन सक्नेछन् तर त्यसले अन्य नागरिकलाई असुविधा पुर्याउन पाइने छैन । ठूलो मोनिटर, प्रोजेक्टर वा पर्दा राखेर खेल देखाउने स्थानहरूले पार्किङ व्यवस्थासमेत मिलाउनुपर्ने प्रहरीले जनाएको छ । काठमाडौं प्रहरीले विश्वकप अवधिभर नियमित अनुगमन गर्ने तयारी गरेको छ । प्रत्येक दिनको अनुभवका आधारमा सुरक्षा रणनीति समीक्षा गर्दै आवश्यक परे थप व्यवस्थापन गरिने भट्टराईले बताए । उनका अनुसार बिहीबार दिउँसोसम्म गौरीघाट, स्युचाटार, गोकर्णेश्वर बेँसीगाउँ, लाजिम्पाट, नयाँ बानेश्वर, बुढानीलकण्ठ र गैरीधारामा सार्वजनिक रूपमा खेल देखाउन अनुमति जारी भइसकेको छ ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेले विश्वकपका खेल प्रदर्शन गर्न चाहने क्लब, पार्टी प्यालेस तथा अन्य संस्थाहरूले जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने बताए । ‘फुटबल हेर्ने नाममा बाजी–बेटिङ गर्न पाइँदैन । होहल्ला गर्न पाइँदैन । सडक अवरोध गर्न पाइँदैन । प्रचलित कानुनको पालना अनिवार्य छ,’ उनले भने । उनका अनुसार आयोजकहरूलाई स्वयंसेवक परिचालन गर्न पनि भनिएको छ । जसले भीड व्यवस्थापन र सुरक्षा निगरानीमा सहयोग पुर्याउने छन् ।
काठमाडौंको पर्यटकीय क्षेत्र ठमेल विश्वकपको मुख्य आकर्षणमध्ये एक बन्ने देखिएको छ । यहाँ २५० भन्दा बढी रेस्टुरेन्ट, डाइनिङ, पब, क्याफे, लाउन्ज र क्लब सञ्चालनमा छन् । ठमेल पर्यटन विकास परिषदका अध्यक्ष ध्रुव अधिकारीका अनुसार सबै व्यवसायीलाई सट्टेबाजी र बेटिङ जस्ता क्रियाकलापबाट टाढा रहन, यदि कसैले यस्सो क्रियाकलाप गराएमा स्थानीय प्रशासनलाई जानकारी दिन औपचारिक रूपमा आग्रह गरिएको छ ।
‘ठमेल पहिले जस्तो झैंझगडा र होहल्ला छैन । अधिकांश आउटलेट अहिले पारिवारिक वातावरणमा सञ्चालन भइरहेका छन्,’ अध्यक्ष अधिकारीले भने । उनका अनुसार झण्डै ४ हजार मानिस अटाउने क्षमताको नोभा क्लब, १ हजार क्षमताको एलओडीसहित ठमेलका ५० भन्दा बढी ठूला स्क्रिन भएका क्लब र लाउन्जहरूले विश्वकपका खेल प्रत्यक्ष प्रदर्शन गर्ने तयारी गरेका छन् । अध्यक्ष अधिकारीका अनुसार अधिकांश ठूला क्लबमा साउन्डप्रुफ प्रणाली जडान भएकाले ध्वनि प्रदूषणको समस्या न्यून रहने अपेक्षा छ । प्रशासनसँग निरन्तर समन्वय भइरहेको भन्दै उनले विश्वकप अवधिभर व्यवस्थित मनोरञ्जन सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे । ठमेलले विश्वकप अवधिमा विशेष चहलपहल देख्ने अर्को कारण यसको २४ घण्टा सञ्चालन अनुमति हो । पूर्वगृहमन्त्री रवि लामिछानेको कार्यकालमा पर्यटकीय क्षेत्रका रूपमा ठमेललाई २४सैं घण्टा सञ्चालन गर्न अनुमति दिइएको थियो । त्यसैले मध्यरात र बिहान हुने खेलहरू पनि यहाँका अधिकांश आउटलेटले प्रत्यक्ष प्रदर्शन गर्न सक्छन् ।
ललितपुरमा भने हालसम्म सार्वजनिक रूपमा विश्वकप प्रदर्शनका लागि अनुमति जारी भएको छैन । ललितपुर प्रहरी परिसरका एसएसपी तुलबहादुर कार्कीले कानुनको पालना गर्दै खेल हेर्न र देखाउन सर्वसाधारणलाई आग्रह गरिएको बताए । साथै मातहतका प्रहरी इकाइलाई पनि आवश्यक निर्देशन दिइसकिएको उनले जानकारी दिए ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार विश्वकप प्रदर्शन गर्न चाहने संस्था तथा आयोजकहरूलाई कबुलियत गराएर मात्र अनुमति दिइनेछ । ‘केही निवेदन प्राप्त भएका छन् । विश्वकप प्रदर्शनका क्रममा पालना गर्नुपर्ने नियमहरूको स्पष्ट टेम्प्लेट पनि प्रशासनले जारी गर्ने तयारी गरिरहेको छ,’ उनले भने ।
नेपाल प्रहरी मुख्यालयले पनि विश्वकप अवधिलाई उच्च सतर्कताको समयका रूपमा लिएको छ । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार देशभरका प्रहरी इकाइलाई विशेष निर्देशन जारी गरिएको छ । ‘विश्वकप अवधिभर नेपाल प्रहरी हाई अलर्टमा छ । सट्टेबाजी, अनलाइन बेटिङ वा अन्य अवाञ्छित गतिविधि हुन नदिन सबै प्रहरी निकाय सक्रिय हुनेछन,’ उनले भने । प्रहरीका अनुसार विगतका विश्वकपमा देखिएका अनुभवका आधारमा यसपटक मादक पदार्थ सेवन, लागु पदार्थ प्रयोग, झगडा, अवाञ्छित भीडभाड तथा सट्टेबाजी नियन्त्रणलाई विशेष प्राथमिकतामा राखिएको छ । स्थानीय सुरक्षा समितिसँग समन्वय गरेर सादा पोसाकका प्रहरी परिचालन र गस्ती समेत बढाइने भनिएको छ ।
विश्वकप सुरु भएसँगै काठमाडौंमा फुटबलको उत्साह बढेको छ । तर, प्रहरी प्रशासनले कानुनको सीमाभित्र रहेर उत्सव मनाउन भनेको छ । यसपटकको फिफा विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करण हो । पहिलो पटक ४८ राष्ट्र सहभागी हुने यो प्रतियोगिता उत्तर अमेरिकाका ३ देश संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुँदैछ । ती देशका १६ वटा सहरका रंगशालामा हुने प्रतियोगितामा कुल १ सय ४ खेल खेलिनेछन् ।
