सन् अस्सी र नब्बेको दशकमा काठमाडौंले बटुलेको विश्वकप अनुभव कस्तो थियो त ? १९८६ नै त्यो पहिलो अवसर थियो, जति बेला काठमाडौंले पहिलो पटक विश्वकप फुटबलसँग आत्मसात् गरेको थियो भन्दा हुन्छ ।
What you should know
काठमाडौँ — ‘मेक्सिकोमा हुन लागेको विश्वकपको तयारीबारे राम्रोसँग समाचार प्रकाशित गर्नु भएकोमा धन्यवाद’ क्षेत्रपाटी काठमाडौंका ललित श्रेष्ठले सम्पादकलाई लेखेको पत्रको अंश हो यो । सन् १९८६ को मे २७ मा द राइजिङ नेपालमा प्रकाशित यस पत्रको शीर्षक रहेको छ, ‘मेक्सिको ८६’ । त्यस पत्रमा अगाडि लेखिएको छ, ‘विभिन्न टिम, तिनको उद्देश्य, शक्ति र कमजोरीबारे प्रत्येक दिन जस्तो केही न केही समाचार आइरहेको छ । यिनीहरू सबै जानकारीमूलक छन् । जति बेला मे ३१ बाट प्रतियोगिता सुरु हुनेछ, त्यति बेला पनि यस्तै समाचार आउने विश्वास लिएका छौं । हामीसँग घरमा टीभी छैन्, त्यसैले द राइजिङ नेपालमै आउने समाचारमा भर पर्नेछौं ।’
अहिले विश्वकप २०२६ सुरू हुनै लागेको छ । समर्थक आफूलाई मन परेको जर्सी किनिरहेका छन् । केही आफ्नो प्रिय खेलाडीको ‘हेयरस्टाइल’ नक्कल गरिरहेका छन् । आम प्रशंसक अचेल ठूला–ठूला टीभीमा विश्वकप हेर्ने गर्छन्, अझ त्यो पनि सार्वजनिक स्थलमै । अनि रेस्टुरेन्टतिर पनि । आजभोलिका टिभी पनि ‘स्मार्ट’ छन् । अझ ‘स्मार्ट फोन’ मै पनि त विश्वकप हेर्न सकिन्छ । ट्विटर, फेसबुक र टिकटक चारैतिर विश्वकपबारे चर्चा छ । प्रत्येक टिमबारे सानासाना जानकारी पनि सजिलै उपलब्ध छन् । तर सन् अस्सी र नब्बेको दशकमा काठमाडौंले बटुलेको विश्वकप अनुभव कस्तो थियो त ? १९८६ नै त्यो पहिलो अवसर थियो, जति बेला काठमाडौंले पहिलो पटक विश्वकप फुटबलसँग आत्मसात् गरेको थियो भन्दा हुन्छ ।
काठमाडौंमा भर्खर भर्खर टिभीले प्रवेश पाएको थियो र त्यो विलाशीमै गनिन्थ्यो । यस्तोमा पत्रपत्रिका नै विश्वकपका लागि समाचारको प्रमुख स्रोत हुने गर्थ्यो । १९८२ देखि १९९८ का पत्रपत्रिकाका पाना अहिले पल्टाउनु पर्छ, त्यस्तै आशयका ‘सम्पादकलाई चिठ्ठी’ पाउने गर्छौं । अनि ती सबै स्थिति अहिलेको जस्तो पटक्कै थिएन । यी त सबै इन्टरनेट र डिजिटल युग अगाडिका कुरा हुन् । काठमाडौंमा जम्मा दुई दैनिक थिए, तिनमा विश्वकपबारे खासै समाचार हुने गर्दैन थिए । एनटीभीले विश्वकपका खेल प्रसारण गरेर काठमाडौंलाई रोमाञ्चित भने पारेको थियो । तर त्यसबेलाका मुद्दा बेग्लै थिए, लोडसेडिङका कारण खेलको प्रसारणमा अवरोध हुन्थ्यो ।
म्याराडोना आफ्नै प्रतिबन्धमा परेका थिए । यसले काठमाडौंमा फुटबल प्रशंसक स्तब्ध जस्तै थिए, तिनीहरूलाई यो समाचारमा विश्वास भइरहेको थिएन । केहीलाई विश्वासघातको अनुभव भइरहेको थियो । काठमाडौंलाई विश्वकपको प्रभावले छोपेको थियो, तर काठमाडौंका महिलालाई खासै चासो थिएन ।
कम समाचारमा निराश फुटबल समर्थक
१९८२ सम्म गोरखापत्र र द राइजिङ नेपालनै समाचारको एक मात्र स्रोत हुने गर्थ्यो, तर तीनले विश्वकपबारे खासै समाचार दिएनन् । काठमाडौंका फुटबल प्रेमीका लागि यो निराशाबाहेक अरू केही थिएन । १९२० ताका नै फुटबलले काठमाडौंमा प्रवेश गरिसकेको थियो, अनि नेपालको पहिलो र सरकारी स्वामित्वको गोरखापत्र १९०१ मै प्रकाशित हुन पनि सुरू गरिसकेको थियो । तर, १९३० को पहिलो विश्वकपबारे केही पनि समाचार छापिएका थिएनन् । १९५८ को विश्वकपबारे छापिएको एउटा छोटो समाचार नै सम्भवतः पहिलो ऐतिहासिक अवसर हुन सक्छ । त्यसलाई छाडेर १९८२ सम्म विश्वकपबारे कि त केही पनि समाचार हुन्थेनन् कि एकदमै न्यून हुन्थे ।
१९८२ आइपुग्दा विश्वकपबारे रुचि ह्वात्तै बढ्न थालेको थियो । तर त्यसलाई सुहाउने गरेर गोरखापत्र र द राइजिङ नेपालले समाचार दिने गरेका थिएनन् । द राइजिङ नेपाल आफैं सन् १९६५ देखि सुरु भएको हो । इन्द्रचोकका जेपी रौनियार एक फुटबल प्रशंसक थिए, त्यसैले उनी यो प्रवृत्तिलाई लिएर निराश थिए । उनले पनि द राइजिङ नेपालमा सम्पादकलाई पत्र लेखेका छन्, शीर्षक रहेको छ, ‘फुटबलको ज्वरो’ । १९८२ को जुलाई २ मा प्रकाशित त्यस पत्रमा भनिएको छ, ‘फुटबल नेपालमा सर्वाधिक लोकप्रिय खेल हो । अन्तर्राष्ट्रिय मिडियामा विश्वकपबारे व्यापक समाचार आइरहेका छन् । प्रत्यक्ष प्रसारण, रेडियो कमेन्ट्रीबारे उत्तिकै चर्चा छ । तर द राइजिङ नेपाल भने अपवाद जस्तै छ, किन होला ?’
१९८६ सम्म आइपुग्दा विश्वकपबारे पत्रपत्रिकामा धेरै समाचार आउन थालेको पाइन्छ र यो काठमाडौंका फुटबल प्रशंसकका लागि खुसीको कुरा थियो । त्यति बेला विश्वकपबारे विशेष समाचार मात्र थिएन, विश्वकपकै लागि भने विशेष स्थान छुटयाइएको थियो, अनि सम्पादकको ध्यान पनि विश्वकपले खिच्न थालेको थियो ।
विश्वकप प्रसारणले ल्याएको खुसी
१९८६ आइपुग्दा टीभीले काठमाडौंका घर घरमा विस्तारै प्रवेश पाइरहेको थियो । यो नै विश्वकपलाई लिएर हाम्रो एउटा ठूलो मोड रह्यो । नेपाल टेलिभिजनले पहिलो पटक विश्वकपका खेल प्रसारण गर्न सुरु गरेको थियो । यसले आम फुटबल प्रेमीमा अपार खुसी ल्याएको थियो । १९८६ जुन ३ को को द राइजिङ नेपालमा ठमेलका सुधीर सिग्देलको पत्र प्रकाशित भएको छ । त्यसमा उनले लेखेका छन्, ‘विश्वकपका खेल प्रसारण गर्ने निर्णय गरेकोमा नेपाल टेलिभिजनलाई हृदयदेखि धन्यवाद ।’ १९९४ देखि १९९८ बीचका विश्वकपको माहोल तयार पार्न नेपाल टेलिभिजन र यसले प्रसारण गर्ने खेल हाबी रहे ।
१९९८ को जुन ८ मा गोरखापत्रमा प्रकाशित एउटा समाचारको शीर्षक थियो, ‘विश्वकपको प्रत्यक्ष प्रसारण: दक्षिण एसियामै नेपाल टेलिभिजन अगाडि’ । नेपाल टेलिभिजन र विश्वकपले काठमाडौंमा टीभी हेर्ने संस्कृतिलाई स्थापित गरेको थियो । १९९० र त्यसपछिका विश्वकपताका टेलिभिजनको बिक्री पनि बढ्ने गरेको थियो ।
१९९८ को जुन ५ मा गोरखापत्रमा प्रकाशित समाचारको शीर्षकमा लेखिएको छ, ‘विश्वकप फुटबल हेर्न राजधानीका अधिकांश फुटबलप्रेमी टिभी किन्ने सुरमा'। यो समाचारमा लेखिएको छ, 'सन् १९९० [...] त्यतिखेर प्रत्येक मानिसको घर-घरमा टेलिभिजन थिएन, मानिसहरूले किनेर लैजान्थे तर यस पटक सबैका घरमा टेलिभिजन छ, अनि कहाँबाट बिक्री वितरण बढोस् त ?'
खासमा पत्रपत्रिकामा विश्वकप ताका टीभीको बिक्रीका विज्ञापन भरिएको हुन्थ्यो । १९९० को जुन ६ मा गोरखापत्रमा रोनिसोकिले एउटा विज्ञापन छापेको छ र त्यसमा भनिएको छ, ‘रोनिसोनिकले सन् १९९० को विश्वकप तपाईंको घरघरमा ल्याउँदै छ । रोनिसोनिकको १४ इन्चको टीभीको आवाज र दृष्य स्पष्ट मात्र छैन, प्राकृतिक पनि छ ।’ सामसुङले त्यही बेला घोषणा गरेको थियो, ‘१९९४ को विश्वकप सामसुङको कलर स्क्रिनमा’ । १९९४ को जुन २३ मा प्रकाशित यसो विज्ञापन २० इन्चको कलर तथा १४ र १७ इन्चको श्यामश्वेत टेलिभिजनबारे थियो । त्यसको दुई दिनपछि फिलिपले अर्को विज्ञापन छापेको छ । त्यसमा भनिएको छ, ‘फिलिपको पावरभिजन कलर टेलिभिजनमा फिफा विश्वकप हेर्न तयार हुनुहोला ।’
नेपाल टेलिभिजनमा प्रसारण हुने विश्वकपको रौनकतामा मात्र सीमित थिएन्, यी सबै घटना । आम दर्शकलाई खेल हुने समय र ती खेलको पुन:प्रसारणमा पनि उत्तिकै ध्यान थियो । सुधीर सिग्देलले १९८६ को जुन ३ मा पत्र लेखेका छन् । त्यसको सार हो, ‘म के सुझाव दिन चाहन्छु भने बिहान सात बजे नै खेलका पुन:प्रसारण गर्नुपर्छ । यो दर्शकका लागि नयाँ पनि हुनेछ । यही यही खेल फेरि दोहर्याएर बेलुका प्रसारण हुन्छ भने त्यति बेलासम्म दर्शकले खेलको नतिजा रेडियोबाटै थाहा पाइसकेका हुनेछ ।’
खेल हुने समयको अन्तरले धेरैलाई पिरोलेकै थियो । काठमाडौंमा मध्यरातमा खेलको प्रत्यक्ष प्रसारण हुन्थ्यो । आम दर्शकलाई फुटबल आउने समय र निन्द्राको सन्तुलन मिलाउनै गाह्रो हुने गर्थ्यो । त्यसैले १९९४ को जुलाई ६ मा ओमबहालको शरद प्रधानले द काठमान्डु पोष्टको सम्पादकलाई पत्र नै लेखेका छन् । त्यसमा भनिएको छ, ‘आम दर्शकको समस्या भनेकै खेलका लागि नसुतेर बस्नु हो । अझ पहिलो र दोस्रो खेलबीचको केही समयका अन्तरमा नसुतेर बस्नु गाह्रै हुन्छ । त्यसैले यो समयमा नेपाल टेजिभिजनले गीत, नृत्य, हास्य धारावाहिकका विशेष कार्यक्रम मात्र होइन, सिंगै टिभी सिनेमा देखाउँदा पनि राम्रो हुन्छ । अझ दुई खेलबीचको अन्तर तीन घण्टा हुन्छ भने हिन्दी अथवा नेपाली सिनेमा नै देखाउन सकिन्छ ।’
केही समर्थकलाई भने नेपाल टेलिभिजनले जसरी खेलको प्रशारण गरेको थियो, त्यसमा पनि आपत्ति थियो । कान्तिपुरमा १९९८ को जुलाई ९ मा प्रकाशित सम्पादकलाई पत्रमा काठमाडौंमा संजय, श्री कमल, वीरेन्द्र र साथीहरूले लेखेका छन्, 'बहुसङ्ख्या खेलप्रेमीहरूले निन्द्रा मारेर अत्यधिक उत्सुकतापूर्वक हेरिरहेको विश्वकप फुटबल अन्तर्गत जुलाई ७ मा ब्राजिल तथा हल्यान्डबीचको सेमिफाइनल खेलको प्रत्यक्ष प्रसारण हुँदाहुँदै नेपाल टिभीले खेलको उत्कर्षको समयमै विज्ञापन देखाई अति महत्त्वपूर्ण क्षण खेल हेर्नबाट वञ्चित तुल्याएकोमा हामी मर्माहत भएका छौं । नेपाल टिभीले यस शताब्दीकै अन्तिम महत्त्वपूर्ण खेलको प्रसारणमा पनि विज्ञापन देखाउने हेपाहा प्रवृत्ति देखाएकोमा हामी दुखित भएका छौँ। [...] आफ्नो राष्ट्रिय प्रसारण संस्थाले [...] हामीले गरेको विश्वासमाथि कुठाराघात गरेको महसुस गरेका छौँ ।'
लोडसेडिङको मार
जति बेला सन् १९९८ को विश्वकप सुरू हुने बेला भएको थियो, काठमाडौंका दैनिक जीवनमा लोडसेडिङको मार सुरू भइसकेको थियो । नेपाल टेलिभिजनले विश्वकपका खेलको प्रत्यक्ष प्रसारण गर्दा यसले बाधा पुर्याउने काम गरेको थियो । १९९८ को जुन ९ मा काठमाडौंका पोस्टका सुमन मल्लले लखेको समाचारमा भनिएको छ, ‘नेपाली फुटबल प्रशंसक बिजुली जाने हुनाले डराएका छन् । यस्तो नहोस् भनेर उनीहरू प्रार्थना पनि गरिरहेका छन् । डर के छ भने फ्रान्समा विश्वकप अगाडि बढ्दै जाँदा काठमाडौंका आधा टेलिभिजन सेट बन्द रहनेछन् ।’ अनि विजेश घिमिरेले त्यस समाचारमा भनेका छन्, ‘म अहिले अन्तिम वर्षको मेडिकल जाँचको तयारीमा छु र यसबीच पनि केही समय विश्वकपका लागि छुट्याएको छु । मलाई लाग्छ, यो समय अब खेर जानेछ ।’
लोडसेडिङले धेरैलाई कति दुःखी बनाएको थियो भने यो सम्पादकलाई लेखिएका पत्रबाट प्रस्ट हुन्छ । १९९८ को जुन २९ मा कान्तिपुरमा प्रकाशित पत्रमा मूलपानीका उपेन्द्र लामिछाने लेख्छन्, 'विश्वका करिब ४ अर्ब जनसङ्ख्याले टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण हेरी लाभ उठाइरहेको विश्वकप फुटबल '९८ नेपालमा चासो राख्नेहरूले लोडसेडिङका कारणले यसलाई हेर्न पाइरहेका छैनन् । त्यसकारण नेपाल विद्युत् प्राधिकरणले साँझ ५ बजेदेखि लोडसेडिङ गरे अहिले प्राय: जसो सबै खेलहरू ८:१५ मा सुरु भइरहेको प्रि-क्वार्टर फाइनल फाइनल खेल हेर्नबाट दर्शकहरू वञ्चित त हुने थिएनन् ।'
म्याराडोनाको प्रतिबन्धमा स्तब्ध, आक्रोश र प्रदर्शन
काठमाडौंले देखेको १९८६ देखि १९९४ को विश्वकपमा एउटा खेलाडीको वर्चश्व रहेको थियो । १९८६ को विश्वकपमा म्याराडोनाको प्रदर्शन उच्च रह्यो । त्यसैले उनको खेलमा धेरै काठमाडौंबासीको मन बस्यो । जतिले १९९० को विश्वकप फाइनलमा अर्जेन्टिना जर्मनीको हातबाट पराजित हुँदा म्याराडोना रोएको देखे, तिनको मन पनि रोएकै थियो । १९९४ को विश्वकपमा तिनै म्याराडोना प्रतिबन्धित औषधि सेवनको परीक्षणमा असफल भए, प्रतिबन्धमा परे । यो उनका समर्थकका लागि सह्य रहेन । त्यति बेलाका पत्रपत्रिकाले नेपाली समर्थकले देखाएको आक्रोश र दुःखलाई चित्रण गर्ने प्रयास गरेको पाइन्छ ।
१९९४ को जुलाई ३ मा काठमाडौं पोस्टमा आएको समाचारको शीर्षक थियो, ‘म्यारोडोना प्रतिबन्धमा परेपछि नेपाली समर्थक स्तब्ध’ । म्यारोडोनालाई विश्वकपबाट निकालिएपछि सारा विश्व भावनात्मक बनेको थियो, काठमाडौं मात्र अपवाद रहेन । यो घटनाले सबै उमेर समूहका समर्थकलाई दुःखी बनाएको थियो । म्याराडोना त्यति बेलासम्म सबैका लागि परिचित अनुहार थियो । त्यसैले धेरैको प्रतिक्रिया मिश्रित रह्यो, समाचारमा लेखिएको छ । राष्ट्रिय खेलकुद परिषद्का एक कर्मचारी बुद्धि सागरले भनेका छन्, ‘म्याराडोनाको घटनाले मलाई आघात पुर्याएको छ । म भावनात्मक भएँ, मैले आँसु रोक्न सकिनँ । मलाई के लाग्दैन भने म्याराडोनाले शक्तिवर्धक प्रतिबन्धित औषधि प्रयोग गरे । मैले अबदेखि विश्वकपका बाँकी खेल नहेर्ने निर्णय गरेको छु । मेरो लागि उनीबिनाको विश्वकप चिनीबिनाको चिया जस्तै रहेको छ ।’
म्याराडोनाका खास समर्थक रहेका सुधा लामाले पनि भनेका छन्, ‘म उनलाई असाध्यै माया गर्छु । उनी महान खेलाडी हुन् । उनलाई फिफाले गलत व्यवहार गरेको छ, त्यसैले म निराश छु ।’ पुल्चोकका विद्यार्थी पनि यो घटनालाई उत्तिकै भावनात्मक बनेका थिए । १९९४ को काठमाडौं पोस्टमा प्रकाशित एउटा समाचारको शीर्षकको आसय थियो, ‘पुल्चोक क्याम्पसका फुटबल प्रेमी म्याराडोनाका लागि रोइरहेका छन् ।’ त्यसमा लेखिएको छ, ‘अंकल म्याराडोना, हामी तपाईंलाई मिस गरिरहेका छौं । तपाई फिफाको षडयन्त्रको शिकार हुनु भएको छ । म्याराडोना छैन भने विश्वकप पनि छैन । फिफालाई लाज लाग्नुपर्ने हो । फिफा विघटन गरे हुन्छ, फिफा अध्यक्षलाई हटाए हुन्छ ।’
ती विद्यार्थीले फिफाका अध्यक्ष जाओ हाभेलेन्जको पुतला पनि जलाए । उनीहरूले म्याराडोना जत्तिको ठूलो स्टार खेलाडीविरुद्ध अन्याय गरेको आरोप पनि लगाए । अनि विरोधकै क्रममा आठ दिनका लागि कक्षा बहिस्कार गर्ने निर्णय पनि गरे । तर सबै म्याराडोनाकै पक्षमा मात्र पनि थिएनन् । १९९४ को जुलाई २ मा प्रकाशित पाठक पत्रमा एक जनाले लेखेका छन्, ‘अर्जेन्टिनाका लागि कोही पनि रुनु पर्दैन । अर्जेन्टिनाले खासमा हामीलाई निराश बनाएको छ । यो घटनाले प्रमाणित गरेको छ, अर्जेन्टिनाको प्रदर्शन एउटा मृगतृष्णा मात्रै थियो ।’ काठमाडौं पोस्टमै एउटा त्यस्तो तस्बिर पनि छापिएको छ, जसमा पाटनका एक अर्जेन्टिना समर्थकले पोस्टरको माध्यमबाट म्याराडोनाप्रति रिस पोखेका छन् । त्यसमा लेखिएको थियो, ‘ड्रग एडिक्ट । म्याराडोनाले हामीलाई दुखित बनाएका छन् ।’
विश्वकपमा महिलाका अरूचि
म्याराडोनाको घटनाले सबै काठमाडौंबासीलाई प्रभावित बनाएका थिएन । त्यो मात्र के हो र, पूरा विश्वकपप्रति नै काठमाडौंका महिलाको खासै रूचि रहेको थिएन । सुशील थापाले १९९४ को जुन २१ मा द काठमान्डु पोस्टमा लेखेका छन्, ‘महिलाका लागि फुटबल कहिले पनि रूचिको विषय रहेन ।’ त्यस समाचारमा लेखिएको छ, ‘विश्वकपले विश्वभरीका महिलालाई आकर्षिक गरेको छ । यो कुरा नेपाली महिलामा भने लागू हुन्न । काठमाडौं पोस्ट गरेको सामान्य सर्वेक्षणमा के देखिएको छ भने ९० प्रतिशत महिलालाई विश्वकपमा रुचि छैन र यो स्तब्धपूर्ण रहेको छ । अधिकांश महिलालाई फुटबल हेर्नेसम्ममा पनि रुचि रहेको छैन ।’ त्यस समाचारमा प्रतिमा प्रधान भन्छिन्, ‘टेलिभिजनमा ९० मिनेट फुटबल हेर्नु असाध्यै नरमाइलो लाग्छ ।’
फेरिएको स्थिति
१९९८ यता २००० र २०१० तिर इन्टरनेट र मोबाइल फोन अस्तित्वमा आइसकेका थिए । यसले काठमाडौंको विश्वकप अनुभवलाई पनि फेर्ने काम गरेको थियो । काठमाडौं पोस्टमा २०१० को जुन २० मा प्रकाशित दिनेश वाग्लेको समाचारको एउटा शीर्षक थियो, ‘ट्विटर विश्वकप’ । यसको अर्थ थियो, काठमाडौं डिजिटल विश्वकपतर्फ अग्रसर रहेको थियो । उनले लेखेका छन्, ‘२००२ मा मैले विश्वकप अनुभव इमेलबाट साटेको थिएँ । आफूलाई मन पर्ने केही खेलाडीको तस्बिर पनि डाउनलोड गरें । खेल तालिकाका लागि वेबसाइट हेरें । अनलाइनतिर आफ्ना विचार पनि पोखें । त्यसको चार वर्षपछि २००६ मा मैले विश्वकपबारे वेब साइटमा आफ्नो ब्लग लेखें ।’
अब पत्रपत्रिका र टेलिभिजन नै सबथोक रहेन । डिजिटल र सामाजिक सञ्जालमा सबै खाले समाचार उपलब्ध छन्, ती ‘टेक्स्ट’ का रूपमा मात्र होइन्, श्रव्यदृष्यमा पनि उपलब्ध छन् । यसले काठमाडौंको विश्वकप अनुभवलाई पक्कै फरक बनाएको छ । पत्रपत्रिका, रेडियो र टेलिभिजन सबै एउटै सानो यन्त्रमा समेटिएको छ, मोबाइल फोन र त्यसमा उपलब्धि इन्टरनेटका प्लेटफर्ममा । अब त विश्वकप हेर्न पनि पहिले जस्तो सबै एकै स्थानमा भेट्न आवश्यक छैन, जसरी सन् अस्सी र नब्बेको दशकमा हुने गर्थ्यो । अब त लोडसेडिङको मार पनि रहेन, न त दोहोर्याएर प्रशारण हुने खेलको रौनकता रह्यो । काठमाडौंलाई मन पर्ने कोही खेलाडी प्रतिबन्धमा पर्छ भने अब प्रदर्शनको पनि आवश्यकता छैन् ।
ट्विटर, फेसबुक र अन्य सामाजिक सञ्जालमा लेखे पुग्छ । अनि सबैको हात हातमै मोबाइल फोन भएको स्थितिमा कोही कसैले खेल तालिकाबारे कसैलाई सोधिरहन पनि आवश्यक छैन ।
