८० र ९० को दशकमा काठमाडौंमा यस्तो हुन्थ्यो विश्वकपको माहोल

सन् अस्सी र नब्बेको दशकमा काठमाडौंले बटुलेको विश्वकप अनुभव कस्तो थियो त ? १९८६ नै त्यो पहिलो अवसर थियो, जति बेला काठमाडौंले पहिलो पटक विश्वकप फुटबलसँग आत्मसात् गरेको थियो भन्दा हुन्छ ।

जेष्ठ २७, २०८३

प्रवास गौतम

This is what the World Cup atmosphere was like in Kathmandu in the 80s and 90s

What you should know

काठमाडौँ — ‘मेक्सिकोमा हुन लागेको विश्वकपको तयारीबारे राम्रोसँग समाचार प्रकाशित गर्नु भएकोमा धन्यवाद’ क्षेत्रपाटी काठमाडौंका ललित श्रेष्ठले सम्पादकलाई लेखेको पत्रको अंश हो यो । सन् १९८६ को मे २७ मा द राइजिङ नेपालमा प्रकाशित यस पत्रको शीर्षक रहेको छ, ‘मेक्सिको ८६’ । त्यस पत्रमा अगाडि लेखिएको छ, ‘विभिन्न टिम, तिनको उद्देश्य, शक्ति र कमजोरीबारे प्रत्येक दिन जस्तो केही न केही समाचार आइरहेको छ । यिनीहरू सबै जानकारीमूलक छन् । जति बेला मे ३१ बाट प्रतियोगिता सुरु हुनेछ, त्यति बेला पनि यस्तै समाचार आउने विश्वास लिएका छौं । हामीसँग घरमा टीभी छैन्, त्यसैले द राइजिङ नेपालमै आउने समाचारमा भर पर्नेछौं ।’

अहिले विश्वकप २०२६ सुरू हुनै लागेको छ । समर्थक आफूलाई मन परेको जर्सी किनिरहेका छन् । केही आफ्नो प्रिय खेलाडीको ‘हेयरस्टाइल’ नक्कल गरिरहेका छन् । आम प्रशंसक अचेल ठूला–ठूला टीभीमा विश्वकप हेर्ने गर्छन्, अझ त्यो पनि सार्वजनिक स्थलमै । अनि रेस्टुरेन्टतिर पनि । आजभोलिका टिभी पनि ‘स्मार्ट’ छन् । अझ ‘स्मार्ट फोन’ मै पनि त विश्वकप हेर्न सकिन्छ । ट्विटर, फेसबुक र टिकटक चारैतिर विश्वकपबारे चर्चा छ । प्रत्येक टिमबारे सानासाना जानकारी पनि सजिलै उपलब्ध छन् । तर सन् अस्सी र नब्बेको दशकमा काठमाडौंले बटुलेको विश्वकप अनुभव कस्तो थियो त ? १९८६ नै त्यो पहिलो अवसर थियो, जति बेला काठमाडौंले पहिलो पटक विश्वकप फुटबलसँग आत्मसात् गरेको थियो भन्दा हुन्छ ।

काठमाडौंमा भर्खर भर्खर टिभीले प्रवेश पाएको थियो र त्यो विलाशीमै गनिन्थ्यो । यस्तोमा पत्रपत्रिका नै विश्वकपका लागि समाचारको प्रमुख स्रोत हुने गर्थ्यो । १९८२ देखि १९९८ का पत्रपत्रिकाका पाना अहिले पल्टाउनु पर्छ, त्यस्तै आशयका ‘सम्पादकलाई चिठ्ठी’ पाउने गर्छौं । अनि ती सबै स्थिति अहिलेको जस्तो पटक्कै थिएन । यी त सबै इन्टरनेट र डिजिटल युग अगाडिका कुरा हुन् । काठमाडौंमा जम्मा दुई दैनिक थिए, तिनमा विश्वकपबारे खासै समाचार हुने गर्दैन थिए । एनटीभीले विश्वकपका खेल प्रसारण गरेर काठमाडौंलाई रोमाञ्चित भने पारेको थियो । तर त्यसबेलाका मुद्दा बेग्लै थिए, लोडसेडिङका कारण खेलको प्रसारणमा अवरोध हुन्थ्यो ।

म्याराडोना आफ्नै प्रतिबन्धमा परेका थिए । यसले काठमाडौंमा फुटबल प्रशंसक स्तब्ध जस्तै थिए, तिनीहरूलाई यो समाचारमा विश्वास भइरहेको थिएन । केहीलाई विश्वासघातको अनुभव भइरहेको थियो । काठमाडौंलाई विश्वकपको प्रभावले छोपेको थियो, तर काठमाडौंका महिलालाई खासै चासो थिएन ।  

कम समाचारमा निराश फुटबल समर्थक

१९८२ सम्म गोरखापत्र र द राइजिङ नेपालनै समाचारको एक मात्र स्रोत हुने गर्थ्यो, तर तीनले विश्वकपबारे खासै समाचार दिएनन् । काठमाडौंका फुटबल प्रेमीका लागि यो निराशाबाहेक अरू केही थिएन । १९२० ताका नै फुटबलले काठमाडौंमा प्रवेश गरिसकेको थियो, अनि नेपालको पहिलो र सरकारी स्वामित्वको गोरखापत्र १९०१ मै प्रकाशित हुन पनि सुरू गरिसकेको थियो । तर, १९३० को पहिलो विश्वकपबारे केही पनि समाचार छापिएका थिएनन् । १९५८ को विश्वकपबारे छापिएको एउटा छोटो समाचार नै सम्भवतः पहिलो ऐतिहासिक अवसर हुन सक्छ । त्यसलाई छाडेर १९८२ सम्म विश्वकपबारे कि त केही पनि समाचार हुन्थेनन् कि एकदमै न्यून हुन्थे । 

१९८२ आइपुग्दा विश्वकपबारे रुचि ह्वात्तै बढ्न थालेको थियो । तर त्यसलाई सुहाउने गरेर गोरखापत्र र द राइजिङ नेपालले समाचार दिने गरेका थिएनन् । द राइजिङ नेपाल आफैं सन् १९६५ देखि सुरु भएको हो । इन्द्रचोकका जेपी रौनियार एक फुटबल प्रशंसक थिए, त्यसैले उनी यो प्रवृत्तिलाई लिएर निराश थिए । उनले पनि द राइजिङ नेपालमा सम्पादकलाई पत्र लेखेका छन्, शीर्षक रहेको छ, ‘फुटबलको ज्वरो’ । १९८२ को जुलाई २ मा प्रकाशित त्यस पत्रमा भनिएको छ, ‘फुटबल नेपालमा सर्वाधिक लोकप्रिय खेल हो । अन्तर्राष्ट्रिय मिडियामा विश्वकपबारे व्यापक समाचार आइरहेका छन् । प्रत्यक्ष प्रसारण, रेडियो कमेन्ट्रीबारे उत्तिकै चर्चा छ । तर द राइजिङ नेपाल भने अपवाद जस्तै छ, किन होला ?’

१९८६ सम्म आइपुग्दा विश्वकपबारे पत्रपत्रिकामा धेरै समाचार आउन थालेको पाइन्छ र यो काठमाडौंका फुटबल प्रशंसकका लागि खुसीको कुरा थियो । त्यति बेला विश्वकपबारे विशेष समाचार मात्र थिएन, विश्वकपकै लागि भने विशेष स्थान छुटयाइएको थियो, अनि सम्पादकको ध्यान पनि विश्वकपले खिच्न थालेको थियो ।

विश्वकप प्रसारणले ल्याएको खुसी

१९८६ आइपुग्दा टीभीले काठमाडौंका घर घरमा विस्तारै प्रवेश पाइरहेको थियो । यो नै विश्वकपलाई लिएर हाम्रो एउटा ठूलो मोड रह्यो । नेपाल टेलिभिजनले पहिलो पटक विश्वकपका खेल प्रसारण गर्न सुरु गरेको थियो । यसले आम फुटबल प्रेमीमा अपार खुसी ल्याएको थियो । १९८६ जुन ३ को को द राइजिङ नेपालमा ठमेलका सुधीर सिग्देलको पत्र प्रकाशित भएको छ । त्यसमा उनले लेखेका छन्, ‘विश्वकपका खेल प्रसारण गर्ने निर्णय गरेकोमा नेपाल टेलिभिजनलाई हृदयदेखि धन्यवाद ।’ १९९४ देखि १९९८ बीचका विश्वकपको माहोल तयार पार्न नेपाल टेलिभिजन र यसले प्रसारण गर्ने खेल हाबी रहे ।

१९९८ को जुन ८ मा गोरखापत्रमा प्रकाशित एउटा समाचारको शीर्षक थियो, ‘विश्वकपको प्रत्यक्ष प्रसारण: दक्षिण एसियामै नेपाल टेलिभिजन अगाडि’ । नेपाल टेलिभिजन र विश्वकपले काठमाडौंमा टीभी हेर्ने संस्कृतिलाई स्थापित गरेको थियो । १९९० र त्यसपछिका विश्वकपताका टेलिभिजनको बिक्री पनि बढ्ने गरेको थियो ।

१९९८ को जुन ५ मा गोरखापत्रमा प्रकाशित समाचारको शीर्षकमा लेखिएको छ, ‘विश्वकप फुटबल हेर्न राजधानीका अधिकांश फुटबलप्रेमी टिभी किन्ने सुरमा'। यो समाचारमा लेखिएको छ, 'सन् १९९० [...] त्यतिखेर प्रत्येक मानिसको घर-घरमा टेलिभिजन थिएन, मानिसहरूले किनेर लैजान्थे तर यस पटक सबैका घरमा टेलिभिजन छ, अनि कहाँबाट बिक्री वितरण बढोस् त ?'

खासमा पत्रपत्रिकामा विश्वकप ताका टीभीको बिक्रीका विज्ञापन भरिएको हुन्थ्यो । १९९० को जुन ६ मा गोरखापत्रमा रोनिसोकिले एउटा विज्ञापन छापेको छ र त्यसमा भनिएको छ, ‘रोनिसोनिकले सन् १९९० को विश्वकप तपाईंको घरघरमा ल्याउँदै छ । रोनिसोनिकको १४ इन्चको टीभीको आवाज र दृष्य स्पष्ट मात्र छैन, प्राकृतिक पनि छ ।’ सामसुङले त्यही बेला घोषणा गरेको थियो, ‘१९९४ को विश्वकप सामसुङको कलर स्क्रिनमा’ । १९९४ को जुन २३ मा प्रकाशित यसो विज्ञापन २० इन्चको कलर तथा १४ र १७ इन्चको श्यामश्वेत टेलिभिजनबारे थियो । त्यसको दुई दिनपछि फिलिपले अर्को विज्ञापन छापेको छ । त्यसमा भनिएको छ, ‘फिलिपको पावरभिजन कलर टेलिभिजनमा फिफा विश्वकप हेर्न तयार हुनुहोला ।’

नेपाल टेलिभिजनमा प्रसारण हुने विश्वकपको रौनकतामा मात्र सीमित थिएन्, यी सबै घटना । आम दर्शकलाई खेल हुने समय र ती खेलको पुन:प्रसारणमा पनि उत्तिकै ध्यान थियो । सुधीर सिग्देलले १९८६ को जुन ३ मा पत्र लेखेका छन् । त्यसको सार हो, ‘म के सुझाव दिन चाहन्छु भने बिहान सात बजे नै खेलका पुन:प्रसारण गर्नुपर्छ । यो दर्शकका लागि नयाँ पनि हुनेछ । यही यही खेल फेरि दोहर्‍याएर बेलुका प्रसारण हुन्छ भने त्यति बेलासम्म दर्शकले खेलको नतिजा रेडियोबाटै थाहा पाइसकेका हुनेछ ।’

खेल हुने समयको अन्तरले धेरैलाई पिरोलेकै थियो । काठमाडौंमा मध्यरातमा खेलको प्रत्यक्ष प्रसारण हुन्थ्यो । आम दर्शकलाई फुटबल आउने समय र निन्द्राको सन्तुलन मिलाउनै गाह्रो हुने गर्थ्यो । त्यसैले १९९४ को जुलाई ६ मा ओमबहालको शरद प्रधानले द काठमान्डु पोष्टको सम्पादकलाई पत्र नै लेखेका छन् । त्यसमा भनिएको छ, ‘आम दर्शकको समस्या भनेकै खेलका लागि नसुतेर बस्नु हो । अझ पहिलो र दोस्रो खेलबीचको केही समयका अन्तरमा नसुतेर बस्नु गाह्रै हुन्छ । त्यसैले यो समयमा नेपाल टेजिभिजनले गीत, नृत्य, हास्य धारावाहिकका विशेष कार्यक्रम मात्र होइन, सिंगै टिभी सिनेमा देखाउँदा पनि राम्रो हुन्छ । अझ दुई खेलबीचको अन्तर तीन घण्टा हुन्छ भने हिन्दी अथवा नेपाली सिनेमा नै देखाउन सकिन्छ ।’

केही समर्थकलाई भने नेपाल टेलिभिजनले जसरी खेलको प्रशारण गरेको थियो, त्यसमा पनि आपत्ति थियो । कान्तिपुरमा १९९८ को जुलाई ९ मा प्रकाशित सम्पादकलाई पत्रमा काठमाडौंमा संजय, श्री कमल, वीरेन्द्र र साथीहरूले लेखेका छन्, 'बहुसङ्ख्या खेलप्रेमीहरूले निन्द्रा मारेर अत्यधिक उत्सुकतापूर्वक हेरिरहेको विश्वकप फुटबल अन्तर्गत जुलाई ७ मा ब्राजिल तथा हल्यान्डबीचको सेमिफाइनल खेलको प्रत्यक्ष प्रसारण हुँदाहुँदै नेपाल टिभीले खेलको उत्कर्षको समयमै विज्ञापन देखाई अति महत्त्वपूर्ण क्षण खेल हेर्नबाट वञ्चित तुल्याएकोमा हामी मर्माहत भएका छौं । नेपाल टिभीले यस शताब्दीकै अन्तिम महत्त्वपूर्ण खेलको प्रसारणमा पनि विज्ञापन देखाउने हेपाहा प्रवृत्ति देखाएकोमा हामी दुखित भएका छौँ। [...] आफ्नो राष्ट्रिय प्रसारण संस्थाले [...] हामीले गरेको विश्वासमाथि कुठाराघात गरेको महसुस गरेका छौँ ।'

This is what the World Cup atmosphere was like in Kathmandu in the 80s and 90s

लोडसेडिङको मार

जति बेला सन् १९९८ को विश्वकप सुरू हुने बेला भएको थियो, काठमाडौंका दैनिक जीवनमा लोडसेडिङको मार सुरू भइसकेको थियो । नेपाल टेलिभिजनले विश्वकपका खेलको प्रत्यक्ष प्रसारण गर्दा यसले बाधा पुर्‍याउने काम गरेको थियो । १९९८ को जुन ९ मा काठमाडौंका पोस्टका सुमन मल्लले लखेको समाचारमा भनिएको छ, ‘नेपाली फुटबल प्रशंसक बिजुली जाने हुनाले डराएका छन् । यस्तो नहोस् भनेर उनीहरू प्रार्थना पनि गरिरहेका छन् । डर के छ भने फ्रान्समा विश्वकप अगाडि बढ्दै जाँदा काठमाडौंका आधा टेलिभिजन सेट बन्द रहनेछन् ।’ अनि विजेश घिमिरेले त्यस समाचारमा भनेका छन्, ‘म अहिले अन्तिम वर्षको मेडिकल जाँचको तयारीमा छु र यसबीच पनि केही समय विश्वकपका लागि छुट्याएको छु । मलाई लाग्छ, यो समय अब खेर जानेछ ।’

लोडसेडिङले धेरैलाई कति दुःखी बनाएको थियो भने यो सम्पादकलाई लेखिएका पत्रबाट प्रस्ट हुन्छ । १९९८ को जुन २९ मा कान्तिपुरमा प्रकाशित पत्रमा मूलपानीका उपेन्द्र लामिछाने लेख्छन्, 'विश्वका करिब ४ अर्ब जनसङ्ख्याले टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण हेरी लाभ उठाइरहेको विश्वकप फुटबल '९८ नेपालमा चासो राख्नेहरूले लोडसेडिङका कारणले यसलाई हेर्न पाइरहेका छैनन् । त्यसकारण नेपाल विद्युत् प्राधिकरणले साँझ ५ बजेदेखि लोडसेडिङ गरे अहिले प्राय: जसो सबै खेलहरू ८:१५ मा  सुरु भइरहेको प्रि-क्वार्टर फाइनल फाइनल खेल हेर्नबाट दर्शकहरू वञ्चित त हुने थिएनन् ।'

म्याराडोनाको प्रतिबन्धमा स्तब्ध, आक्रोश र प्रदर्शन

काठमाडौंले देखेको १९८६ देखि १९९४ को विश्वकपमा एउटा खेलाडीको वर्चश्व रहेको थियो । १९८६ को विश्वकपमा म्याराडोनाको प्रदर्शन उच्च रह्यो । त्यसैले उनको खेलमा धेरै काठमाडौंबासीको मन बस्यो । जतिले १९९० को विश्वकप फाइनलमा अर्जेन्टिना जर्मनीको हातबाट पराजित हुँदा म्याराडोना रोएको देखे, तिनको मन पनि रोएकै थियो । १९९४ को विश्वकपमा तिनै म्याराडोना प्रतिबन्धित औषधि सेवनको परीक्षणमा असफल भए, प्रतिबन्धमा परे । यो उनका समर्थकका लागि सह्य रहेन । त्यति बेलाका पत्रपत्रिकाले नेपाली समर्थकले देखाएको आक्रोश र दुःखलाई चित्रण गर्ने प्रयास गरेको पाइन्छ ।

१९९४ को जुलाई ३ मा काठमाडौं पोस्टमा आएको समाचारको शीर्षक थियो, ‘म्यारोडोना प्रतिबन्धमा परेपछि नेपाली समर्थक स्तब्ध’ । म्यारोडोनालाई विश्वकपबाट निकालिएपछि सारा विश्व भावनात्मक बनेको थियो, काठमाडौं मात्र अपवाद रहेन । यो घटनाले सबै उमेर समूहका समर्थकलाई दुःखी बनाएको थियो । म्याराडोना त्यति बेलासम्म सबैका लागि परिचित अनुहार थियो । त्यसैले धेरैको प्रतिक्रिया मिश्रित रह्यो, समाचारमा लेखिएको छ । राष्ट्रिय खेलकुद परिषद्का एक कर्मचारी बुद्धि सागरले भनेका छन्, ‘म्याराडोनाको घटनाले मलाई आघात पुर्‍याएको छ । म भावनात्मक भएँ, मैले आँसु रोक्न सकिनँ । मलाई के लाग्दैन भने म्याराडोनाले शक्तिवर्धक प्रतिबन्धित औषधि प्रयोग गरे । मैले अबदेखि विश्वकपका बाँकी खेल नहेर्ने निर्णय गरेको छु । मेरो लागि उनीबिनाको विश्वकप चिनीबिनाको चिया जस्तै रहेको छ ।’

म्याराडोनाका खास समर्थक रहेका सुधा लामाले पनि भनेका छन्, ‘म उनलाई असाध्यै माया गर्छु । उनी महान खेलाडी हुन् । उनलाई फिफाले गलत व्यवहार गरेको छ, त्यसैले म निराश छु ।’ पुल्चोकका विद्यार्थी पनि यो घटनालाई उत्तिकै भावनात्मक बनेका थिए । १९९४ को काठमाडौं पोस्टमा प्रकाशित एउटा समाचारको शीर्षकको आसय थियो, ‘पुल्चोक क्याम्पसका फुटबल प्रेमी म्याराडोनाका लागि रोइरहेका छन् ।’ त्यसमा लेखिएको छ, ‘अंकल म्याराडोना, हामी तपाईंलाई मिस गरिरहेका छौं । तपाई फिफाको षडयन्त्रको शिकार हुनु भएको छ । म्याराडोना छैन भने विश्वकप पनि छैन । फिफालाई लाज लाग्नुपर्ने हो । फिफा विघटन गरे हुन्छ, फिफा अध्यक्षलाई हटाए हुन्छ ।’

ती विद्यार्थीले फिफाका अध्यक्ष जाओ हाभेलेन्जको पुतला पनि जलाए । उनीहरूले म्याराडोना जत्तिको ठूलो स्टार खेलाडीविरुद्ध अन्याय गरेको आरोप पनि लगाए । अनि विरोधकै क्रममा आठ दिनका लागि कक्षा बहिस्कार गर्ने निर्णय पनि गरे । तर सबै म्याराडोनाकै पक्षमा मात्र पनि थिएनन् । १९९४ को जुलाई २ मा प्रकाशित पाठक पत्रमा एक जनाले लेखेका छन्, ‘अर्जेन्टिनाका लागि कोही पनि रुनु पर्दैन । अर्जेन्टिनाले खासमा हामीलाई निराश बनाएको छ । यो घटनाले प्रमाणित गरेको छ, अर्जेन्टिनाको प्रदर्शन एउटा मृगतृष्णा मात्रै थियो ।’ काठमाडौं पोस्टमै एउटा त्यस्तो तस्बिर पनि छापिएको छ, जसमा पाटनका एक अर्जेन्टिना समर्थकले पोस्टरको माध्यमबाट म्याराडोनाप्रति रिस पोखेका छन् । त्यसमा लेखिएको थियो, ‘ड्रग एडिक्ट । म्याराडोनाले हामीलाई दुखित बनाएका छन् ।’

विश्वकपमा महिलाका अरूचि

म्याराडोनाको घटनाले सबै काठमाडौंबासीलाई प्रभावित बनाएका थिएन । त्यो मात्र के हो र, पूरा विश्वकपप्रति नै काठमाडौंका महिलाको खासै रूचि रहेको थिएन । सुशील थापाले १९९४ को जुन २१ मा द काठमान्डु पोस्टमा लेखेका छन्, ‘महिलाका लागि फुटबल कहिले पनि रूचिको विषय रहेन ।’ त्यस समाचारमा लेखिएको छ, ‘विश्वकपले विश्वभरीका महिलालाई आकर्षिक गरेको छ । यो कुरा नेपाली महिलामा भने लागू हुन्न । काठमाडौं पोस्ट गरेको सामान्य सर्वेक्षणमा के देखिएको छ भने ९० प्रतिशत महिलालाई विश्वकपमा रुचि छैन र यो स्तब्धपूर्ण रहेको छ । अधिकांश महिलालाई फुटबल हेर्नेसम्ममा पनि रुचि रहेको छैन ।’ त्यस समाचारमा प्रतिमा प्रधान भन्छिन्, ‘टेलिभिजनमा ९० मिनेट फुटबल हेर्नु असाध्यै नरमाइलो लाग्छ ।’

फेरिएको स्थिति

१९९८ यता २००० र २०१० तिर इन्टरनेट र मोबाइल फोन अस्तित्वमा आइसकेका थिए । यसले काठमाडौंको विश्वकप अनुभवलाई पनि फेर्ने काम गरेको थियो । काठमाडौं पोस्टमा २०१० को जुन २० मा प्रकाशित दिनेश वाग्लेको समाचारको एउटा शीर्षक थियो, ‘ट्विटर विश्वकप’ । यसको अर्थ थियो, काठमाडौं डिजिटल विश्वकपतर्फ अग्रसर रहेको थियो । उनले लेखेका छन्, ‘२००२ मा मैले विश्वकप अनुभव इमेलबाट साटेको थिएँ । आफूलाई मन पर्ने केही खेलाडीको तस्बिर पनि डाउनलोड गरें । खेल तालिकाका लागि वेबसाइट हेरें । अनलाइनतिर आफ्ना विचार पनि पोखें । त्यसको चार वर्षपछि २००६ मा मैले विश्वकपबारे वेब साइटमा आफ्नो ब्लग लेखें ।’

अब पत्रपत्रिका र टेलिभिजन नै सबथोक रहेन । डिजिटल र सामाजिक सञ्जालमा सबै खाले समाचार उपलब्ध छन्, ती ‘टेक्स्ट’ का रूपमा मात्र होइन्, श्रव्यदृष्यमा पनि उपलब्ध छन् । यसले काठमाडौंको विश्वकप अनुभवलाई पक्कै फरक बनाएको छ । पत्रपत्रिका, रेडियो र टेलिभिजन सबै एउटै सानो यन्त्रमा समेटिएको छ, मोबाइल फोन र त्यसमा उपलब्धि इन्टरनेटका प्लेटफर्ममा । अब त विश्वकप हेर्न पनि पहिले जस्तो सबै एकै स्थानमा भेट्न आवश्यक छैन, जसरी सन् अस्सी र नब्बेको दशकमा हुने गर्थ्यो । अब त लोडसेडिङको मार पनि रहेन, न त दोहोर्‍याएर प्रशारण हुने खेलको रौनकता रह्यो । काठमाडौंलाई मन पर्ने कोही खेलाडी प्रतिबन्धमा पर्छ भने अब प्रदर्शनको पनि आवश्यकता छैन् ।

ट्विटर, फेसबुक र अन्य सामाजिक सञ्जालमा लेखे पुग्छ । अनि सबैको हात हातमै मोबाइल फोन भएको स्थितिमा कोही कसैले खेल तालिकाबारे कसैलाई सोधिरहन पनि आवश्यक छैन ।

प्रवास गौतम स्वतन्त्र अनुसन्धाता हुन् । उनी सामाजिक इतिहासमा रुचि राख्छन् ।

Link copied successfully