विश्वकप डीगोले नेपाली दर्शक लक्षित गर्दै मोबाइलमार्फत खेल हेर्न सकिने विशेष प्याकेज ल्याएको जनाएको छ ।
काठमाडौँ — नेपालमा फिफा विश्वकपको आधिकारिक डिजिटल प्रसारण साझेदार डीगोले विश्वकप हेर्न चाहने दर्शकका लागि नयाँ ‘मोबाइल–ओन्ली’ पास सार्वजनिक गरेको छ ।
कम्पनीले मंगलबार प्रेस विज्ञप्तिमार्फत उक्त पासको मूल्य करसहित ५४९ रुपैयाँ निर्धारण गरिएको जनाएको हो ।
विश्वकप डीगोले नेपाली दर्शक लक्षित गर्दै मोबाइलमार्फत खेल हेर्न सकिने विशेष प्याकेज ल्याएको जनाएको छ । कम्पनीका अनुसार दर्शकले डीगो एपमार्फत विश्वकपका सबै १०४ खेल नेपाली वा अंग्रेजी कमेन्ट्री (दुबै) मा प्रत्यक्ष हेर्न सक्नेछन् ।
मोबाइल–ओन्ली पास खरिद गरेपछि प्रयोगकर्ताले १०८० पी (फुल एचडी) गुणस्तरमा खेल प्रत्यक्ष प्रसारण हेर्न पाउनेछन् । डीगोले एपभित्रै केही क्लिकमा पास सक्रिय गर्न सकिने व्यवस्था गरिएको पनि जनाइएको छ ।
विज्ञप्तिमा डीगोले दर्शकलाई अनाधिकृत स्ट्रिमिङ लिंक तथा नक्कली प्लेटफर्मबाट सावधान रहन आग्रह गरेको छ । यस्ता माध्यम प्रयोग गर्दा व्यक्तिगत तथा बैंकिङ जानकारी जोखिममा पर्न सक्ने भन्दै कम्पनीले आधिकारिक डीगो एपमार्फत मात्र विश्वकप हेर्न अनुरोध गरेको छ ।
नेपालमा विश्वकप २०२६ का खेल टेलिभिजनतर्फ हिमालय स्पोर्ट्स च्यानलमार्फत प्रसारण हुनेछ । फिफाले नेपालका लागि दिएको विशेष प्रसारण अधिकारका कारण विदेशी टेलिभिजन च्यानल वा स्ट्रिमिङ प्लेटफर्मले नेपालभित्र विश्वकप प्रसारण गर्न नपाउने व्यवस्था छ ।
विश्व फुटबलको महाकुम्भ बिहीबार मध्यराति सुरु हुँदै छ । उद्घाटन खेलमा आयोजक राष्ट्रमध्ये एक मेक्सिकोले दक्षिण अफ्रिकासँग खेल्नेछ । खेल नेपाली समयानुसार राति १२:४५ बजे हुनेछ ।
