विश्वकप २०२६ : रंगियो रंगशाला, फैलियो ‘सकर’ को चर्चा   

अमेरिकाबाहिर 'सकर' शब्द नौलो लागेजस्तै अमेरिकामा 'फुटबल' सुन्दा अमेरिकनले नौलो मान्छन् ।

जेष्ठ २४, २०८३

सुदीप शिवाकोटी

World Cup 2026: Stadiums are painted, talk of 'soccer' spreads

What you should know

अमेरिका — विशेषतः अमेरिकामा फुटबललाई ‘सकर’को नामले चिनिन्छ । यहाँ ‘अमेरिकन फुटबल’ बढी खेलिने र अधिकांश अमेरिकनले रुचाउने खेल हो । फुटबलभन्दा अमेरिकामा ‘अमेरिकन फुटबल’ बुझिन्छ । त्यसकारण पनि विश्वभर फिफा विश्वकप कपलाई फुटबल प्रतिस्पर्धाका रूपमा चिनिए पनि अमेरिकनले ‘सकर’को नामले चिन्छन् । 

अमेरिकाको फुटबल लिग पनि ‘मेजर लिग सकर’ को नामले आयोजना हुँदै आएको छ । विश्व फुटबलका सुपर स्टार अर्जेन्टिनाका लियोनल मेसी मायामीबाट ‘मेजर लिग सकर’ खेलिरहेका छन् र यसले सकरलाई अमेरिकामा थप लोकप्रिय बनाएको छ । अमेरिकन फुटबल, बेसबल, बास्केटबल, टेनिस, एथ्लेटिक्सलगायतका खेलपछिमात्र अमेरिकामा लोकप्रिय खेलको सूचीमा सकरको पालो आउँछ । 

अबको ७२ घडीपछि अर्थात जुन ११ बाट फिफा विश्वकप २०२६ सुरू हुँदा मेसीसहित क्रिस्टियानो रोनाल्डो, किलियन एमबाप्पेलगायतका सुपर स्टारहरू अमेरिकनहरूका लागि चासो बन्नेछन् । मेसीको अर्जेन्टिना ४ वर्षअघि कतारमा जितेको उपाधि रक्षा गर्ने दाउमा छ । रोनाल्डो पोर्चुगललाई पहिलो पटक विश्वकपको उपाधि दिलाएर बिदा हुने प्रयासमा छन् भने एम्बापेको फ्रान्स ३ संस्करणमा दोस्रो पटक च्याम्पियन बन्ने होडमा छ । 

अमेरिकाको ११ ठूला सहरसहित क्यानडा र मेक्सिकोमा हुने विश्वकप प्रतिस्पर्धाका लागि चार वर्षदेखि प्रतीक्षारत खेल प्रेमीका लागि एउटा पर्वको आरम्भ हुँदैछ । र, भन्दैछन् ‘विश्वकप फुटबल हेर्न हामी आतुर छौं ।’ तर अमेरिकन खेलप्रेमी भन्दैछन् ‘आई एम लुकिङ फरवार्ड टु वाचिङ सकर ।’ अमेरिकाबाहिर 'सकर' शब्द नौलो लागेजस्तै अमेरिकामा 'फुटबल' सुन्दा अमेरिकनले नौलो मान्छन् ।

अमेरिकाको ११ सहरका रंगशालामा हुन गइरहेको विश्वकपको प्रचारका लागि राखिएको डिजिटल होडिङ बोर्डमा समेत ‘आर यु रेडी फर सकर’ लेखिएको देख्न सकिन्छ । अमेरिकी सञ्चारमाध्यमले पनि विश्वकपका लागि अमेरिका आइपुगेका खेलाडीबारे ‘सकर टिम’ नाम दिएर समाचार सार्वजनिक गरिरहेको छ । 

यसैगरी फिफा विश्वकपको तयारी पूरा भएको अवस्थामा रंगशाला रंगिएका छन् । विश्वकपका खेल हुने १६ मध्ये १५ वटा नाम परिवर्तन गरिएको रंगशालामा नाम परिवर्तनसहित फरक पहिचान दिइएको छ । विश्वकपका खेल हुने १६ रंगशालामध्ये १५ वटा रंगशालाको नाम परिवर्तनसँगै ‘फिफा विश्वकप २०२६’ लेखिएको ठूला रंगिन ब्यानर बोर्ड राखिएको छ । विश्वकप खेल हुने सहरका मुख्य सडकमा विज्ञापनलाई जोड दिँदै फिफाले डिजिटल होर्डिङ बोर्ड र ब्यानर राखेको छ । 

World Cup 2026: Stadiums are painted, talk of 'soccer' spreads

फिफाले १६ वटै सहरको रंगशालामा फरकफरक रंग छनोटसमेत गरेको छ । १६ वटै रंगशालालाई फरक रुपमा चिनाउन र दर्शकका लागि नौलो महसुस गराउने उद्देश्यले रंगिन स्वरूप दिने उद्देश्यले फरक रंगले रंगशालालाई सजाइएको फिफाले जनाएको छ ।

अमेरिकी सञ्चारमाध्यम फक्स सकरले उख्खेल गरेअनुसार सहरलाई चिनाउने त्यो सहरले रोजे अनुसार फिफाले विश्वकपका लागि फरक सहरका रंगशालामा फरक रंगका पोस्टर, ब्यानरहरू प्रयोग गरेको छ । ३९ दिनसम्म हुने यस वर्षको विश्वकपमा पहिलो पटक ४८ देशले प्रतिस्पर्धा गर्दैछन् । १६ वटा रंगशालामा हुने १ सय ४ खेललाई १२ समूहमा विभाजन परिएको छ । प्रत्येक समूहमा ४ वटा टिमबीच प्रतिस्पर्धा हुनेछ ।

धमाधम मेटाइँदै रंगशालाको नाम

फिफाले विश्वकप अवधिभरका लागि १६ मध्ये १५ रंगशालाको नाम परिवर्तन गर्ने निर्णय गरेसँगै पुरानो नाम धमाधम मेटाउन थालिएको छ । रंगशालाहरूमा रहेको पुरानो नामलाई छोप्दै फिफाले सहर, राज्यको नाममा नामकरण गरेको ब्यानर राख्न थालेको हो । 

फिफाले तीन वटै देशका १६ वटा रंगशालामा हुने खेलका लागि १५ वटा रंगशालाको नाम नै परिवर्तन गरेको थियो । ठूला व्यापारिक कम्पनीहरूले सञ्चालन गरिरहेको ती रंगशालाहरूमा कम्पनीकै नाम राखिएको र विश्वकप २०२६ मा ती कम्पनी प्रायोजक नभएका कारण कम्पनीको नाम रहेका रंगशालालाई खेल अवधिभरका लागि फिफाले अलग नाम दिएको दाबी गरेको छ । फिफाले अमेरिकामा हुने खेलका लागि छनोट गरेको ११ वटै रंगशालाको नाम परिवर्तन गरेको छ । 

यसैगरी मेक्सिकोमा हुने खेलका लागि चयन गरिएको तीन वटा रंगशालामध्ये दुई रंगशालाको नाम परिवर्तन गरिएको छ । मेक्सिकोको मेक्सिको सिटीमा अवस्थित इटाडिओ एज्टिका रंगशालाको नाम यथावत राखिएको हो । क्यानडामा खेल हुने दुई रंगशालाको नाम पनि परिवर्तन गरिएको छ । अमेरिकासँगै क्यानडा र मेक्सिकोमा खेल हुने रंगशालाको नाम परिवर्तनसँगै त्यहाँ पनि नयाँ ब्यानर राखिएको र मुख्य सहरहरूमा प्रचारप्रचारका क्रममा परिवर्तित रंगशालाको नाम उल्लेख गरिएको फिफाले जनाएको छ ।

सुदीप शिवाकोटी कान्तिपुरका अमेरिका संवाददाता हुन् ।

Link copied successfully