विश्वकप फुटबल हेर्न भन्दै जथाभावी आउने ‘एपीके’ फाइल वा शंकास्पद लिंक प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ ।
What you should know
काठमाडौँ — विश्वकप फुटबलको मिति नजिकिएसँगै प्रतियोगिताका खेलहरू नि:शुल्क हेर्न सकिने भन्दै सामाजिक सञ्जालमा भ्रमपूर्ण स्क्याम विज्ञापन फैलिरहेका छन् । आकर्षक अफर देखाएर प्रयोगकर्ताहरूलाई बहकाउने यस्ता विज्ञापनमा रहेका लिंक क्लिक गर्दा र अनधिकृत एप डाउनलोड गर्दा सर्वसाधारणको मोबाइल तथा कम्प्युटर ह्याक हुने र बैंक खाताबाट रकम चोरी हुने घटना बढेको छ ।
चाबहिलका अनिल डंगोल महर्जनले गत आइतबार साँझ फेसबुक चलाउँदै गर्दा ‘एनबीटीभी’ मार्फत नि:शुल्क विश्वकप फुटबल हेर्न सकिने विज्ञापन देखे । विश्वकपप्रतिको रुचि र मोबाइलमा नि:शुल्क हेर्न पाउने सुविधाका कारण उनले तुरुन्तै विज्ञापनमा रहेको लिंक थिचेर एप डाउनलोड गर्न खोजे । लिंक क्लिक गर्नासाथ उनको मोबाइल ह्याङ भयो । धेरैबेर मोबाइल अड्किएजस्तो भएपछि उनले रिस्टार्ट गरिहेरे तर फोन ‘स्लो’ नै भइरह्यो ।
‘किन ह्याङ भइरहेको छ, सुरुमा थाहै पाइनँ,’ उनले कान्तिपुरसँग भने, ‘केहीबेरपछि मेरो घडीमा बैंक खाताबाट पैसा काटिएको म्यासेज आयो । त्यसपछि पो खंग्रङ्ङ परेँ, ह्याक्ड भएछ भन्ने बल्ल बुझेँ । फोन चलिरहेको थिएन, घडी फोनमा जोडिएको हुनाले लगातार तीनवटा म्यासेज आएको देखेँ । तीनपटकमा तीन लाख रूपैयाँ काटियो ।’
हडबडाएर फोन अफ गरे पनि माछापुच्छ्रे बैँकबाट १ लाख र नेपाल बैंक लिमिटेडबाट २ लाख रुपैयाँ काटिइसकेको थियो । भोलिपल्ट बिहान यसबारे साइबर ब्युरोमा उजुरी दिएको र बैँकहरूलाई पनि अनलाइन बैँकिङ सेवा बन्द गरिदिन जानकारी गराएको उनले बताए ।
एक साता बितिसक्दा पनि डंगोलको फोनमा अझैसम्म ‘डाउनलोड कम्प्लिट, प्लिज रिस्टार्ट’ भन्ने म्यासेज आउने गरेका छन् । ‘रिस्टार्ट गरेपछि मोबाइल खोल्नका लागि पासवर्ड हाल्दा ह्याकरले बैंकबाट पैसा निकाल्ने अवसर पाउँदा रहेछ,’ उनले भने, ‘हामीले यता फिंगर प्रिन्ट वा फेसियल रिकग्निसबाट मोबाइल अनलक गर्दा ह्याकरले उता बैँकिङ एपमा पर्मिसन पाउँदा रहेछन् । मलाई त मेरो मोबाइलको रिमोट नै अर्काको हातमा पुगेजस्तो अनुभव भयो ।’
हाल फोनमा डाउनलोड भएका सबै ‘एपीके’ फाइल हटाएर फोन चलाइरहे पनि ‘डाउनलोड’ भन्ने शब्ददेखि डर लाग्न थालेको उनको भनाइ छ । ‘अब त म कुनै आधिकारिक डाउनलोडसमेत गर्न सक्दिनँ होला,’ उनले भने, ‘डालउनलोडदेखि डर लाग्छ । विश्वकप भएकाले म लोभिएछु । ’
विश्वकप फुटबल सुरु हुन एक साता बाँकी छँदा सामाजिक सञ्जालमा यस्ता ठगी र साइबर अपराधका घटनाहरू व्यापक रूपमा बढेका छन् । पछिल्लो १० देखि १२ दिनमा मात्रै विश्वकपको नाममा ७५ लाख रुपैयाँ ठगी भइसकेको प्रहरीको तथ्यांक छ ।
साइबर ब्युरोमा यस अवधिमा ५० वटा उजुरी परिसकेको प्रवक्ता दिलिपकुमार गिरीले जानकारी दिए । उनका अनुसार फेसबुकमा ‘वर्ल्ड कप लाइभ फ्री’ भन्दै विज्ञापन राखेर मानिसहरूलाई फिसिङ लिंकमा क्लिक गराउने प्रवृत्ति देखिएको छ । यस्ता स्क्यामबारे सतर्क गराउँदै ब्युरोले हालै मात्र सामाजिक सञ्जालमा सचेतनामूलक भिडियोसमेत सार्वजनिक गरेको छ ।
‘ह्याकरहरूले पठाएको लिंकमा अलाउ गर्दा (स्विकृति दिँदा) उनीहरूले तपाईंको मोबाइलमा पहुँच पाउँछन् र बैंक खाता खाली गरिदिन्छन्,’ प्रवक्ता गिरीले भने, ‘प्रहरीले अहिले बैंकहरूसँग समन्वय गरी ठगीमा संलग्न व्यक्तिहरूको खोजी र रकम फिर्ताको प्रयास गरिरहेको छ । एकैसाथ धेरै उजुरी परेको र साना-साना रकम धेरैवटा खाताबाट चोरी गरेर धेरैवटा खातामा जम्मा गरिएको हुँदा ट्र्याक गर्न समय लाग्छ । तर, प्रहरीले विस्तारै पत्ता लगाइहाल्छ ।’
काभ्रेका एक युवाले पनि बिहीबार दिउँसो यस्तै नियति भोगे । उनका दाइले फेसबुकमा विश्वकप हेर्ने लिंकमा क्लिक गरेर एप इन्स्टल र अपडेट गर्दा मोबाइल तातेर आफैँ बन्द भयो । ‘मोबाइल रिस्टार्ट भएर सिधै आफैँ मोबाइल बैंकिङ एप खुल्यो,’ उनले भने, ‘हेर्दाहेर्दै खाताबाट ३ लाख रुपैयाँ काटियो । अहिले पनि दाइको मोबाइल पूर्ण रूपमा ह्याकरको नियन्त्रणमा छ । अझै पैसा काटिएला वा फाइलहरू दुरुपयोग होला भन्ने डरले फोन स्विच अफ गरेर राखेका छौँ । अब साइबहर ब्युरोमा जान्छौँ ।’
यी घटनामा प्रयोगकर्ताको दैनिक कारोबार सीमा १ लाख वा २ लाख रूपैयाँ भएकाले यति चोरी भएको हो । प्रहरीका अनुसार कारोबार सीमा धेरै हुनेमध्ये कतिपयको १५ लाख रूपैयाँसम्म अनलाइन चोरी भएको छ ।
विश्वकप फुटबल हेर्न भन्दै जथाभावी आउने ‘एपीके’ फाइल वा शंकास्पद लिंकहरू प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ । आधिकारिक प्रसारणकर्ताका टेलिभिजन च्यानल वा इजाजतप्राप्त आधिकारिक मोबाइल एप प्रयोग गर्नुपर्ने साइबर ब्युरोले आफ्नो भिडियोमा भनेको छ । नि:शुल्क हेर्ने प्रलोभनमा परेर अनधिकृत एप डाउनलोड गर्दा मोबाइलमा रहेका व्यक्तिगत विवरण र बैंक खाता जोखिममा पर्ने प्रहरीले औँल्याएको छ ।
नेपालमा हिमालय स्पोर्ट्स एचडी टेलिभिजन च्यानल र डीजीगो मोबाइल एपबाट फिफा विश्वकप २०२६ का खेलहरू आधिकारिक रूपमा हेर्न सकिन्छ । नेपालका लागि आधिकारिक प्रसारण अधिकार एसप्रो मिडियाले पाएको छ भने खेलहरू दर्शकमाझ पुर्याउन उसले हिमालय टेलिभिजन र डिगो प्लाटफर्मसँग व्यावसायिक साझेदारी गरेको हो । यसपटक अन्य कुनै च्यानल वा डिजिटल प्लाटफर्ममा विश्वकप उपलब्ध हुने छैन ।
विश्वकपका सबै १०४ वटा खेलहरू प्रत्यक्ष हेर्न हिमालय स्पोर्ट्समा ९९९ रुपैयाँ शुल्क लाग्छ भने मोबाइल वा ल्यापटपमा हेर्न डिसहोमको डिगो एप प्रयोग गर्न सकिन्छ । यसमा एउटा मोबाइल स्क्रिनका लागि ५४९ रुपैयाँ र मोबाइल तथा ल्यापटप दुवैमा हेर्न मिल्ने प्याकेजका लागि ९९९ रुपैयाँ शुल्क तोकिएको छ ।
नेपाल प्रहरीको पछिल्लो त्रैमासिक (२०८२ माघ १ देखि २०८२ चैत ३० सम्म) कार्यप्रगति प्रतिवेदन अनुसार सामाजिक सञ्जालसम्बन्धी कुल ४ हजार ८ सय १० वटा उजुरी दर्ता भएका छन् । त्यसमा फेसबुक र म्यासेन्जरसँग सम्बन्धित १ हजार ९ सय १९ र टिकटकसँग सम्बन्धित १ हजार ५ सय ७७ उजुरी रहेका छन् । यीमध्ये साइबर ब्युरोमा मात्रै ३ हजार ८ सय १४ वटा निवेदन परेका छन् । ब्युरो प्रवक्ता गिरीले अनावश्यक र अपरिचित लिंकहरूमा क्लिक नगर्न र सानो लोभमा परेर आफ्नो गोपनीयता र सम्पत्ति जोखिममा नपार्न सुझाव दिएका छन् ।
डिजिटल ठगी गर्ने गिरोहले फुटबलप्रेमीहरूको रुचि र भावनाको फाइदा उठाउँदै खेल सुरु हुनुअगावै लाखौँ रुपैयाँ ठगी गरिसकेकाले साइबर सुरक्षा विज्ञ तथा प्रहरीले अपरिचित लिंकहरू क्लिक नगर्न र सचेत रहन आग्रह गरेका छन् ।
