हरि खड्का, नीराजन रायमाझी र अञ्जन विष्ट नेपालको विश्वकप छनोट यात्राका सम्झनलायक खेलाडी।
What you should know
काठमाडौँ — विश्वकप फुटबल छनोट नै त्यस्तो अवसर रहेको छ, जहाँ नेपाली फुटबलले अहिलेसम्मकै सबैभन्दा ठूला चुनौती सामना गरेको छ । विश्वकपमा जत्तिको बलिया प्रतिद्वन्द्वी नेपालले बिरलै मात्र अरू प्रतियोगितामा सामना गरेको छ । त्यसैले त्यस्ता टिमविरुद्ध खेल्दाका कथा खुबै रोमाञ्चक हुने गर्छ ।
रोमाञ्चक के पनि अर्थमा भन्दा नेपालले त्यस्तो बलियो प्रतिद्वन्द्वीविरुद्ध नमज्जाको हार मात्र बेहोरेको छैन, खासमा उत्तिकै सम्झनलायक खेल पनि खेलेको छ । विश्वकप छनोटमै पनि नेपालले आफ्नो समान हैसियतका टिममाथि पनि प्रभावशाली नतिजा निकालेको छ । यस्तोमा विश्वकप छनोटमा नेपालले अहिलेसम्म जति खेल खेलेको छ, त्यसमध्ये त्यस्ता पाँच खेलको सूची तयार पारेका छौं, जसलाई दोहोर्याएर सम्झिने गरिन्छ । तिनको चर्चा कहिल्यै पनि पुरानो हुने छैन ।
सन् १९८५, मलेसियाविरुद्ध
नेपालले खेलेको पहिलो विश्वकप छनोट सन् १९८५ मा थियो । त्यसमध्ये मलेसियाविरुद्ध दशरथ रंगशालामा खेलेको खेल त्यो पुस्ताका खेलाडीले प्रायः सम्झने गर्छन् । भएको के थियो भने मलेसियाली टिम त्यतिबेला आफैंमा बलियो थियो र काठमाडौं झरेयता टोलीको एउटै विश्वास थियो, नेपाललाई सजिलै र फराकिलो अन्तरले हराउने । यही खेल हेर्न मलेसियाली राजपरिवारका सदस्य निजी विमानबाट काठमाडौं आएका थिए । तर मलेसिया त्यतिबेला स्तब्ध रह्यो, जतिबेला खेल गोलरहित बराबरीमा टुंगियो । मलेसियाको विश्वकपमा छनोट हुने सपनामा आखिर यही नतिजाले बाधा पुर्याउने काम गरेको थियो ।
सन् १९९७, मकाओविरुद्ध
मस्कटमा भएको यो खेल त्यस्तो खेल हो, जहाँ नेपाल विश्वकप छनोटमा गोलको खाता खोल्न सफल रह्यो । गोल गर्ने खेलाडी थिए, हरि खडका । नेपाल खेल जित्न त सकेन, १–१ को बराबरी पनि एक प्रकारले राम्रै उपलब्धि थियो । हरिले गरेको यो नेपालका लागि चौथो व्यक्तिगत गोल थियो । उनले नेपालका लागि कुल १३ गोल गरेका छन् । उनी नीराजन रायमाझी र अञ्जन विष्टसँगै नेपालका लागि सर्वाधिक गोल गर्ने सूचीमा सबैभन्दा अगाडि छन् । संयोग के छ भने यी तीनै खेलाडी विश्वकप छनोटमा नेपालको उत्कृष्ट खेलमा कुनै न कुनै रूपमा जोडिन्छन् ।
सन् २००१, मकाओविरुद्ध
यो खेललाई विश्वकप छनोटमा नेपालले प्रदर्शन गरेको अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट खेलभन्दा हुन्छ । स्कोर आफैंले धेरै भन्छ । यसमा नेपाल ६–१ ले विजयी रह्यो । अहिले युरोपको कजाकस्तानको आल्माटीमा भएको खेलको एउटा अर्को ऐतिहासिक पक्ष पनि छ । यो नेपालले खेलेको सय अन्तर्राष्ट्रिय खेल थियो । यसमा नीराजन रायमाझीले ह्याट्रिक नै गरेका थिए । समय थियो ३८, ४९ र ५६ औं मिनेट । त्यति बेला टिमका प्रशिक्षक थिए, महेश्वर मुल्मी । नेपालले आल्माटी र बगदादमा गरेर दुई चरणको खेलमा राम्रो प्रदर्शन गरेको थियो । त्यसैले के भन्न सुरु भयो भने यी प्रशिक्षक नेपालका लागि भाग्यमानी छन् । केही समयका लागि मुल्मीको नामै रह्यो, ‘भाग्यमानी गुरु’ ।
सन् २०११, जोर्डनविरुद्ध
जोर्डनविरुद्धको पहिलो लेगको खेलमा ९–० को हार बेहोरेपछि नेपाली टिम स्तब्धको स्थितिमा थियो । साह्रै नमज्जाको हार थियो, त्यो । त्यसको दोस्रो लेग काठमाडौंमा भएको थियो । लागिरहेको थियो, एउटा अर्को ठूलो हारको नतिजा अगाडि छ । तर दशरथ रंगशालामा त्यस्तो केही पनि भएन, नेपाल बलियो टोली जोर्डनलाई १–१ को बराबरीमा रोक्न सफल रह्यो । गोल गर्ने खेलाडी थिए, भरत खवास । लगातारको वर्षाले पूरा मैदानमा पानी नै पानी थियो । जोर्डनको फिफा वरीयता त्यति बेला ८१ औं स्थानमा थियो । त्यस अर्थमा पनि भरतको त्यो गोलको आफ्नै महत्त्व छ । भरत नै त्यस्ता खेलाडी हुन्, जसले नेपालका लागि दशरथ रंगशालामा सबैभन्दा बढी गोल गरेका छन् ।
सन् २०१९, चाइनिज ताइपेईविरुद्ध
पछिल्लो समय विश्वकप छनोटमा नेपालको प्रदर्शन उति साह्रो राम्रो हुन सकेको छैन्, खालि चाइनिज ताइपेईविरुद्ध उसकै घरमा प्राप्त २–० को जित । विश्वकप छनोटमा नेपालले कुनै पनि प्रतिद्वन्द्वीलाई उसैको मैदानमा पराजित गरेको यो पहिलो खेल थियो । ताइपेई सिटीमा भएको खेलमा दुवै गोल गर्ने खेलाडी थिए, अञ्जन विष्ट । अहिले त अञ्जनको पनि १३ गोल पुगिसकेको छ । सबै उनको कीर्तिमानी गोल कहिले निस्कने छ भने पर्खिरहेका छन् । चाइनिज ताइपेईविरुद्धको त्यही खेलबाट नै अञ्जनले नेपालका लागि गोलको खाता खोलेका थिए । यसपछि त उनी एकाएक लयमा देखिए अनि लगातार गोल गरिरहे । यसरी नेपालले पाएका तीन उत्कृष्ट खेलाडी हरि, नीराजन र अञ्जन विश्वकप छनोटसँग सम्झनलायक हुने गरेर जोडिएका छन् ।
