इरानको प्रशिक्षण स्थल अमेरिकाबाट मेक्सिकोमा

इरानी फुटबल संघले आइतबार जनाएअनुसार एरिजोनाको टक्सनमा रहेको स्थानलाई अब इरानले प्रयोग गर्ने छैन ।

जेष्ठ १०, २०८३

एएफपी

Iran's training site moves from US to Mexico

तेहरान — इरानले विश्वकप २०२६ को आफ्नो प्रशिक्षण केन्द्र अमेरिकाबाट मेक्सिको सार्ने निर्णय गरेको छ र फिफाले पनि त्यसलाई स्वीकृति दिएको छ । इरानी फुटबल संघले आइतबार जनाएअनुसार एरिजोनाको टक्सनमा रहेको स्थानलाई अब इरानले प्रयोग गर्ने छैन । 

त्यसको स्थानमा इरानले मेक्सिकोको सीमामा रहेको टिजुनालाई आफ्नो आधार स्थल बनाउनेछ । संघका अध्यक्ष मेहदी ताजले भनेका छन्, ‘फिफाका पदाधिकारीसँगको छलफलपछि यो निर्णय लिइएको हो । हामीलाई अझै पनि भिसाको समस्या भइरहेको छ, त्यसैले हाम्रा लागि मेक्सिको सहज गन्तव्य हुनेछ । यसलाई फिफाले पनि मानेको छ । अब हामी टिजुनामा केन्द्रित हुनेछौं । यो मेक्सिको र अमेरिकाको बीचमा छ ।’ ताजका अनुसार यो स्थानको चयनले यात्रालाई पनि सहज बनाउनेछ ।

अब इरानी टिम आफ्नै देशको विमान प्रयोग गरेर मेक्सिको पुग्न सक्नेछ । यसपल्टको विश्वकपमा इरानको सहभागितालाई लिएर धेरै लामो समयदेखि दुविधा रहँदै आएको छ । आयोजक देश अमेरिका र इरानबीच युद्धको स्थिति रहेको छ । अमेरिकाले इजरायलसँग मिलेर इरानमा बम प्रहार गरेको थियो र यससँग खाडी क्षेत्रमा तनाव सुरु भएको थियो । इरान प्रतियोगिताको समूह ‘सी’ मा रहेको छ ।

उसका सुरुआती दुई खेल लस एन्जलसमा हुनेछन् । जुन १५ मा इरानले न्युजिल्यान्डको सामना गर्नेछ । त्यसपछि जुन २१ मा बेल्जियमविरुद्ध मैदानमा उत्रनेछ । इजिप्टविरुद्ध जुन २६ मा हुने इरानको अन्तिम खेल भने सियाटलमा हुनेछ । अध्यक्ष ताजका अनुसार यी दुवै सहर टिजुनाबाट नजिक छन् । त्यसको अर्थ इरानी टिमलाई खेल स्थल पुग्नका लागि ५५ मिनेटमा हवाई उडान मात्र आवश्यक पर्नेछ ।

Iran's training site moves from US to Mexico

अहिलेका लागि इरानी टिम टर्कीको एनटालयमा रहेको छ । इरानका खेलाडी खेलाडीले भने आन्कारामा रहेको अमेरिकी राजदूतावासमा केही दिन अगाडि प्रवेशाज्ञाका लागि निवेदन पनि दिइसकेका छन् । इरानले भने आफ्ना खेलाडी र पदाधिकारीलाई अमेरिकामा भिसा दिनेमा ढुक्क हुन सकेको छैन । संघका उपाध्यक्ष मेहदी मोहमद नाबीले पनि सबै खेलाडी र पदाधिकारीले भिसा पाउनेमा अनिश्चितता रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘हामी अझै पनि भिसा आउनेमा दुविधामै छौं । तर फिफाले आवश्यक सबै प्रक्रिया मिलाउनेछ भन्नेमा पनि पूर्ण विश्वास छ ।’ टस्कनमा रहेको किनो स्पोर्ट्स कम्प्लेक्सले भने इरानको पछिल्लो निर्णयलाई लिएर केही पनि बोलेको छैन र सबै प्रक्रिया फिफाकै हुने बताएको छ । गत महिना भ्यान्कुभरमा भएको फिफाको कंग्रेसमा अध्यक्ष जियानी इन्फान्टिनोले इरानले विश्वकप खेल्ने निश्चित रहेको दाबी गरेका थिए ।

उनले त्यति बेला भनेका थिए, ‘म सिधा–सिधा के भन्न चाहन्छु भने इरानले यसपल्टको विश्वकपमा निश्चित रूपमा भाग लिनेछ । इरानले खेल्ने अमेरिकामै हो । यसको कारण पनि स्पष्ट छ, हामी एकढिक्का रहनुपर्छ र सबैलाई एकै स्थानमा ल्याउनु पनि पर्छ ।’ अमेरिकासँगै क्यानडा र मेक्सिकोमा हुने विश्वकप जुन ११ बाट सुरु हुँदै छ र यसमा ४८ देशको सहभागिता रहेको छ ।  

एएफपी

Link copied successfully