फ्रान्सेली समाचार संस्था एएफपीले त्यस्ता पाँच खेलाडीको सूची तयार पारेको छ, जुन अबको विश्वकपमा सबैभन्दा बढी पछ्याउन लायक हुनेछ ।
What you should know
लन्डन —
फिफा विश्वकप फुटबल सुरु हुन तीन साता बाँकी रहेका बेला केही प्रमुख खेलाडीको फिटनेसलाई लिएर अझै पनि प्रश्न कायम छ । यसबीच फ्रान्सेली समाचार संस्था एएफपीले त्यस्ता पाँच खेलाडीको सूची तयार पारेको छ, जुन अबको विश्वकपमा सबैभन्दा बढी पछ्याउन लायक हुनेछ । अझ भनौं अमेरिका, क्यानडा र मेक्सिकोमा हुने यस विश्वकपमा सहभागी हुने ४८ देशका धेरै खेलाडीमध्ये यिनै पाँच स्टारमाथि सबैको नजर हुनेछ ।
अब हामी यिनै पाँच खेलाडीको चर्चा गर्नेछौं ।
केलियन एमबाप्पे (फ्रान्स)
एमबाप्पेसामु एउटा गजबको मौका छ, विश्वकप इतिहासमै सबैभन्दा बढी गोल गर्ने खेलाडी बन्ने । तर यो अवसर तयार भएको छ, रियल म्याड्रिडका लागि उनले पछिल्लो समय बिताएको तनावपूर्ण स्थितिमा । रियल आएयता यी २७ वर्षीय खेलाडीले अहिलेसम्म एउटै उपाधि जित्न सकेका छैनन् । स्पेनी महारथी क्लबसँग जोडिएयता उनी दुई सिजन खाली हात भइसकेका छन् ।
पछिल्लो समय एमबाप्पेको खेलप्रतिको समर्पणलाई लिएर पनि प्रश्न उठेका छन् । चोटग्रस्त स्थितिमा उनले जसरी बिदा मनाए, त्यसको उत्तिकै चर्को आलोचना भइरहेको छ । तर, अहिले जुन अन्तर्राष्ट्रिय विश्राम आउन लागेको छ, सायद एमबाप्पेका लागि ठीक अवसरमा पाएको छ । उनलाई चाहिएको पनि यही हुनसक्छ ।
सन् २०१८ को विश्वकपमा फ्रान्सको प्रतिनिधित्व गर्दै खेल्दा उनी किशोर खेलाडी मात्र थिए । त्यही अवसरमा उनले सबैभन्दा पहिले ठूलो ख्याति कमाए । त्यतिबेला फ्रान्स च्याम्पियन पनि बनेको थियो । चार वर्षअगाडि भने फ्रान्स फाइनलमै अर्जेन्टिनाको हातबाट पेनाल्टी शुटआउटमा पराजित भयो । जर्मनकीका मिरोस्लाभ क्लोजको नाममा रहेको कीर्तिमान १६ गोलबाट एमबाप्पे चार गोलमात्र टाढा छन् ।
इर्लिङ हालान्ड (नर्वे)
नर्वेले २८ वर्ष लामो पर्खाइ पनि यसपल्ट फेरि एकपल्ट विश्वकप खेल्दै छ । यसैक्रममा हालान्ड जत्तिको खेलाडीले पनि पहिलोपल्ट ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने मौका पाएका छन् । म्यानचेस्टर सिटीका यी स्ट्राइकरले नर्वेका लागि युरोपेली छनोटका ८ खेलमा १६ गोल गरेका छन् । यसमा नर्वेले इटालीविरुद्ध हात पारेको दुई जित पनि समावेश छ ।
यस्तै प्रदर्शनमा टिकेर हालान्डले अन्तर्राष्ट्रिय ४९ खेलमा गरेको गोलसंख्या ५५ पुगिसकेको छ । नर्वेली स्वर्णिम पुस्ताका अहिलेका खेलाडीमध्ये उनी नै पूरा विश्वले जित्ने अनुहार हुन् । नर्वेली टिममा मार्टिन ओडगार्ड जत्तिको अर्को खेलाडी पनि छन् । त्यसैले नर्वेली टिमलाई यसपल्टको विश्वकपमा ‘डार्क हर्स’ मान्ने पनि धेरै नै छन् ।
तर यो छविलाई न्याय गर्न हालान्डले आफ्नो खेल जीवनकै उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ । त्यसमाथि नर्वे यसपल्ट गाह्रो समूहमा परेको छ । त्यो भनेको फ्रान्स र अफ्रिकी च्याम्पियन सेनेगलसम्मिलित समूह ‘आई’ । यही कारण पनि नर्वेका लागि यसपल्ट पहिलो लक्ष्य भनेको यही समूह काटेर नकआउट चरणमा पुग्नु हुनेछ ।
भिनिसियस जुनियर (ब्राजिल)
ब्राजिली टिममा नेयमारको पुनरागमनपछि अहिले चारैतर्फ उनकै चर्चा छ भन्दा हुन्छ । तर ब्राजिलका लागि जुनियर प्रमुख खेलाडी हुनेछन् । नेयमर वा जुनियरमध्ये कसले बढी मौका पाउनेछन्, त्यो भने धेरै हदसम्म प्रशिक्षक कार्लो एन्सेलोट्टीमा निर्भर हुनेछ । तर धेरैको अनुमान के छ भने नेयमरको तुलनामा उनका लागि जुनियर नै प्रिय हुनेछन् ।
रियलका लागि यो सिजन सबैभन्दा राम्रो खेल्नेमा जुनियर नै अगाडि छन्, सम्भवतः एमबाप्पे भन्दा पनि अगाडि । उनका लागि यसपल्टको विश्वकपमा ब्राजिलका लागि सर्वकालीन नायक हुने अवसर छ । यस्तो हुन सके, उनी नै अबको बालोन डी’अर जित्नका लागि प्रत्याशी हुनेछन् । फेरि यो नै यस्तो अवार्ड हो, जसका लागि जुनियर लालयित छन् ।
दुई वर्ष अगाडि उनको स्थानमा म्यानचेस्टर सिटीका लागि रोड्रीलाई यो अवार्ड जित्दा रियल र टिमका अन्य खेलाडी अवार्ड कार्यक्रम नै बहिस्कार गरेका थिए । त्यति बेला उनले युरोपेली च्याम्पियन्स लिगमा राम्रो प्रदर्शन गरेका थिए । तर अहिलेसम्म ब्राजिलका लागि जुनियरको प्रदर्शनले उनको प्रतिष्ठालाई न्याय गर्न सकेका छैन । उनले ब्राजिलका लागि जितेका ४७ क्यापमा ८ गोलमात्र रहेको छ ।
ह्यारी केन (इंग्ल्यान्ड)
केन इंग्लिस टिमका कप्तान मात्र होइनन्, सर्वकालीन सर्वाधिक गोलकर्ता हुन् । सम्भवतः उनी यसपल्ट आफ्नो खेल जीवनको अन्तिम ठूलो प्रतियोगिता खेलिरहेका छन् । त्यस्तो होइन भने विश्वकप जित्ने अहिले नै उनका लागि अन्तिम अवसर हुनसक्छ । यो सिजन बायर्नका लागि उनी खुबै लयमा रहे भन्दा हुन्छ ।
उनले बायर्नका लागि बुन्डेसलिगा जित्नेक्रममा ५० खेलमा ५८ गोल गरेका छन् । बायर्न आफैं भने च्याम्पियन्स लिगको फाइनल पुग्न सकेन, सेमिफाइनलमै रोकियो । पछिल्लो समय इंग्ल्यान्ड पनि ठूला प्रतियोगिता अगाडि उपाधिको प्रत्याशी बनेको छ, तर ६० वर्षयता टोलीले अहिलेसम्म एउटै ठूलो. उपाधि जित्न सकेको छैन ।
सन् १९६६ मा इंग्ल्यान्डले आफ्नै घरेलु मैदानमा विश्वकप जितेयता उपाधिविहीन छ । केनलाई लिएर अहिले एउटा डर के हुनसक्छ भने यी खेलाडी लामो समयको लगातार खेलले थाकेका हुन सक्छन् । बायर्नले पनि यो कुरा बुझेर नै हुनुपर्छ, उनलाई मैदानमा कम समय उतारेको छ । यसको एउटा कारण त बुन्डेसलिगा जित्ने निश्चित भएर नै हो ।
लामिन यामल (स्पेन)
सन् २०२४ को युरोबाट केही एक खेलाडीले ठूलो स्टारको रूप धारण गरेका खेलाडी हुन् यामल । उनले त्यस प्रतियोगितामा स्पेनका लागि तहल्का मच्चाउने खेल नै प्रदर्शन गरेका थिए । तर पछिल्लो समय यी खेलाडी चोटग्रस्त छन् । अहिले उनी पूर्णतः ‘ह्यामस्ट्रिङ’ चोटमुक्त हुने प्रयासमा छन् । २२ अप्रिलयता यी १८ वर्षीय खेलाडीले बार्सिलोनाका लागि समेत खेलेका छैनन् ।
तय के मानिएको छ भने स्पेनको लिग चरणको दुई खेलमा उनी उपस्थित हुने छैनन् । यो खेल हुनेछ केप भार्डे र साउदी अरेबियाविरुद्ध । त्यसैले स्पेनका लागि यो धेरै तनावको विषय नहुन सक्छ । बार्सिलोनाका लागि सिजनको सुरुमा लामिन लयमै रहेका थिए । बार्सिलोनाले लगातार जितेको दोस्रो लिग उपाधिमा उनको २४ गोलको योगदान महत्त्वपूर्ण रह्यो ।
सम्भवतः स्पेनका लागि यस विश्वकपमा नकआउट चरण खासै गाह्रो हुने छैन । तर टोलीको खास चिन्ता सुरु हुने भनेकै नटआउट चरणबाट हो । त्यति बेलासम्म यामल पूर्णतः फिट भइसक्ने छन् र टिमका लागि महत्त्वपूर्ण योगदान दिन सक्छन् । स्पेनलाई यसपल्टको विश्वकप उपाधिको बलियो दाबेदार मान्ने हो भने त्यसमा उनको बलियो उपस्थिति आवश्यक रहने नै छ ।
