प्रशिक्षक कार्लो एन्सेलोट्टीले अर्को महिना सुरु हुने विश्वकपका लागि घोषित टोलीमा समावेश गरेको हो ।
What you should know
रियो दी जेनेरियो — ब्राजिली सुपर स्टार नेयमरले सोमबार विश्वकपका लागि घोषित राष्ट्रिय टोलीमा नाटकीय पुनरागमन गरेका छन् । तीन वर्षको अनुपस्थितिपछि उनलाई राष्ट्रिय टोलीमा फिर्ता बोलाइएको हो । प्रशिक्षक कार्लो एन्सेलोट्टीले अर्को महिना सुरु हुने विश्वकपका लागि घोषित टोलीमा समावेश गरेको हो । पछिल्लो समय लगातार चोटग्रस्त रहेका नेयमरसामु अब विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा खेल्ने अवसर जुरेको छ ।
एन्सेलोट्टीले घोषणा गरेको २६ सदस्यीय टिममा नेयमरको उपस्थिति सबैभन्दा आश्चर्यजनक बनेको छ । उनी ब्राजिलका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले ब्राजिलका लागि १ सय २८ खेलमा ७९ गोल गरेका छन् । रियो दी जेनेरियोमा आयोजित विशेष कार्यक्रमबीच नेयमरको नाम सुनाइएको थियो । एन्सेलोट्टीको टोली घोषणासँगै त्यहाँ खुसीको माहोल बनेको थियो ।
बार्सिलाना र पेरिस सेन्ट जर्मेन (पीएसजी) का पूर्व खेलाडी ३४ वर्षीय नेयमर ब्राजिली टोलीमा पर्नेछन् वा छैनन् भनेर लाामो समयदेखि बहस छेडिएको थियो । नेयमरले सन् २०१४, २०१८ र २०२२ को विश्वकप खेलेका थिए । तर पछिल्लो विश्वकप छनोटमा चोटग्रस्त भएयता उनी ब्राजिली टोलीमा थिएनन् । सन् २०२३ मा उरुग्वेविरुद्धको छनोटमा उनी घाइते भएका थिए ।
त्यही चोट र खराब लयका कारण उनी ब्राजिली टिमबाहिर रहेका थिए । मार्चमा फ्रान्स र क्रोएसियाविरुद्धको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा फिटनेस अभाव देखाएर एन्सेलोट्टीले नेयमरलाई टिमबाहिर राखेका थिए । साउदी अरेबियामा चोटग्रस्त समय बिताएपछि उनी जनवरीमा आफ्नो पहिलो क्लब सान्तोसमा फर्केका थिए । अब उनका लागि अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकप खेल्ने बाटो खुलेको हो ।
टोली घोषणा कार्यक्रममा प्रशिक्षक एन्सेलोट्टीले भनेका छन्, ‘हामीले पछिल्लो समय उनको खेल नजिकबाट हेरिरहेका छौं । यसक्रममा उनको खेलमा सुधार आएको छ र शारीरिक रूपमा पनि उनको स्थिति ठीक देखिएको छ । हामीलाई के पूरा विश्वास छ भने उनी ब्राजिली टोलीका लागि महत्त्वपूर्ण खेलाडी हुन् ।’ सन् २०२६ मा सान्तोस आएयता नेयमरले ३१ खेलमध्ये १५ मा मात्र खेलेका छन् ।
ब्राजिल कीर्तिमान छैटौंपल्ट विश्वकप उपाधि जित्ने होडमा छ । टोलीले यसपल्टको प्रतियोगिताको आफ्नो पहिलो खेलमा मोरक्कोको सामना गर्नेछ । ब्राजिल रहेको समूह ‘सी’ मा हाइटी र स्कटल्यान्ड पनि छ । अब ब्राजिली आक्रमणमा नेयमरसँगै बार्सिलोनाका राफिन्हा र रियल म्याड्रिडका भिनिसियस जुनियर रहनेछन् ।
