अब के विश्वकप २०२६ को आयोजनाले उत्तर अमेरिकामा फुटबललाई उकास्ने छ त ? पछिल्लो दशकमा एक दर्जन जति मेजर लिग सकरका रंगशाला निर्माण भएका छन् । यसमै एउटा पर्छ, मियामीको नु स्टेडियम ।
लस एन्जलस — उत्तर अमेरिकालाई त्यस्तो क्षेत्र मानिएको छ, जसलाई सायद धेरै हदसम्म विश्व फुटबलले छुन सकेको छैन । पछिल्ला केही दशक यो क्षेत्रमा फुटबलको जग त बसेको छ, यस्तोमा अब के विश्वकप २०२६ को आयोजनाले उत्तर अमेरिकामा फुटबललाई उकास्ने छ त ? पछिल्लो दशकमा एक दर्जन जति मेजर लिग सकरका रंगशाला निर्माण भएका छन् । यसमै एउटा पर्छ, मियामीको नु स्टेडियम ।
यो लियोलन मेसीको नयाँ घर हो भन्दा पनि हुन्छ । यहाँ फुटबलप्रतिको उत्साह अगाध देखिन्छ । लस एन्जलसकै स्पोटर््स बारतिर छिर्नुपर्छ, बिहान सबेरै हुने इंग्लिस प्रिमियर लिगका समर्थक अपार भेटिन्छन् । यसमध्ये धेरै अमेरिकी नै छन् । सन् ९० को दशकतिर अमेरिकाले महिला विश्वकप जित्दाकी प्रमुख खेलाडी हुन्, मिया हाम । अमेरिकातिर आफूलाई मनपर्ने क्लबको जर्सी लगाउनेको संख्या धेरै बढेको देखेर उनी मख्ख छिन् ।
उनी भन्छिन्, ‘जतिबेला मैले भर्खर फुटबल खेल्न सुरु गरेकी थिएँ, त्यतिबेला यस्तो थिएन । त्यो बेला थोरै संख्याका फुटबल समर्थक हुन्थे, तर अब भने लस एन्जलसको बाटोतिर हिँड्नुपर्छ, त्यहाँ भेटिने अधिकांशलाई विश्व फुटबलमा के भइरहेको छ, थाहा हुन्छ ।’ केही अगाडिसम्म अमेरिकी खेलप्रेमीलाई उनको सबैभन्दा मनपर्ने एउटा खास खेलबारे सोध्नुपर्छ, फुटबल सम्भवतः तेस्रो स्थानमा आउने गर्थ्यो ।
सुरुका दुई स्थानमा हुने अमेरिकी फुटबल र बास्केटबल नै हो । सन् २०२१ सम्म आइपुग्दा फुटबलले बास्केटबललाई उछिनेको छ । फुटबल अगाडि त बेसबल धेरै पछाडि परिसकेको छ । यसरी अमेरिकामा फुटबल लोकप्रिय हुनुको आर्थिक अर्थ पनि छ । यसपल्टको विश्वकपबाट फिफाले केही नभएपछि ११ मिलियन आम्दानी गर्ने विश्वास छ । अमेरिकामा विश्व सुरु हुनु अगाडि पनि फुटबलले कमाउने भने थालेको थियो ।
मेजर लिग सकर, अमेरिकी राष्ट्रिय टिमसम्मिलित खेल र युरोपका विभिन्न ठूला लिगको टेलिभिजन प्रसारणले जति रकम जुट्ने गर्छ, त्यसले बेसबललाई उछिनेको धेरै भइसक्यो । ओप्टाका अनुसार अमेरिकाका घरेलु लिगको पहिलो साता प्रत्यक्ष खेल हेर्नेको संख्या चार लाख थियो । सन् २०२४ मा मात्रै १२ मिलियनले रंगशालामै पुगेर फुटबल हेरे, जुन इंग्लिस प्रिमियर लिगपछि दोस्रो स्थानमा आउँछ ।
युरोपमा जत्तिको महँगो भाउमा खेलाडी किनबेच त हुँदैन तर, मेजर लिग सकरले पनि गत वर्ष मात्रै नयाँ खेलाडी अनुबन्धमा ३ सय ३६ मिलियन डलर खर्चेको छ । उत्तर अमेरिकामा नयाँ रंगशाला र प्रशिक्षणस्थलको निर्माणका लाग मात्रै पछिल्लो समय ११ विलियन डलर लगानी गरिएको छ । अब त न्युयोर्क सिटी एफसी, सिकागो फायर एफसी र न्यु इंग्ल्यान्ड रिभोलुसनका पनि आफ्नै उत्कृष्ट रंगशाला बन्ने क्रममा छ ।
खासमा अमेरिकामा वास्तविक रूपमा फुटबलको जग बसेको भनेको सन् १९९४ को विश्वकपपछि हो भन्दा हुन्छ । त्यतिबेला अमेरिकाले विश्वकपको आयोजना गरेको थियो, जतिबेला फुटबल अमेरिकाका लागि नयाँ जस्तै थियो । तर त्यही विश्वकप हेर्नेको संख्याले कीर्तिमान बनाएको थियो, ३५ लाख दर्शकले प्रत्यक्ष खेल हेरेपछि । त्यसपछि अमेरिकाले पनि आफ्नो लिग फुटबललाई माथिल्लो स्तरको बनाउने सक्दो प्रयास गरेको थियो ।
ठीक त्यही बेला अमेरिकी महिला टिमले सन् १९९६ को ओलम्पिकमा स्वर्ण मात्र जितेन, सन् १९९९ मा आफ्नै घरेलु मैदानमा विश्वकप पनि जितेको थियो । यसले पनि सबै खाले दर्शकमा फुटबल लोकप्रिय हुन थाल्यो । हाम भन्छिन्, ‘त्यतिबेला जति अभिभावकले फुटबल खेल्न सुरु गरे, अब तिनका सन्तानले फुटबललाई अझ धेरै विस्तार गरेका छन् ।’
