अमेरिका, क्यानडा र मेक्सिकोमा एक महिनापछि हुने विश्वकप भारत र चीनमा कसले प्रत्यक्ष प्रसारण गर्ने हो, त्यो टुंगो लागेको छैन ।
काठमाडौँ —
यदि विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप फुटबल हो भने पनि हुन सक्छ, अबको संस्करण त्यसलाई एक तिहाइ विश्व जनसंख्याले हेर्न पाउने छैन । अमेरिका, क्यानडा र मेक्सिकोमा एक महिनापछि हुने विश्वकप भारत र चीनमा कसले प्रत्यक्ष प्रसारण गर्ने हो, त्यो टुंगो लागेको छैन ।
ती देशले प्रतियोगिताको प्रत्यक्ष प्रसारणलाई लिएर अहिलेसम्म विश्व फुटबलको सर्वोच्च संस्था फिफासँग सम्झौता हुन सकेको छैन । भारत र चीनमा विश्व जनसंख्याको एक तिहाइ भाग रहने हुनाले त्यहाँका फुटबल समर्थक विश्वकपको प्रत्यक्ष हेर्नबाट चुक्न सक्नेछन् । दुवै देशको जनसंख्या २ अर्ब ८८ करोड रहेको छ । विश्वकप जत्तिको ठूलो प्रतियोगिताको प्रत्यक्ष प्रसारण अहिलेसम्म पनि सम्झौता हुन नसक्नुलाई अस्वाभाविक मानिएको छ । यसअघिका विश्वकपको प्रत्यक्ष प्रसारण केही नभए पनि महिनौं अगाडि तय हुने थियो अथवा केही खास अवसरमा वर्षै अगाडिसमेत ।
एसियाका यी दुई ठूला देशका स्थानीय मिडियालाई विश्वास गर्ने हो भने फिफा र त्यहाँका प्रसारणकर्ताबीच अहिले पनि वार्ता चलिरहेको छ तर त्यसको मूल्यबारे भने अहिलेसम्म निर्णय हुन नसकेको हो । फिफाले पनि रोयटर्स र बीबीसी जस्ता संस्थालाई औपचारिक रूपमै भनेको छ, वार्ता चलिरहेको छ । कुराकानीका बुँदा गोप्य राखिएका छन् । तर त्यसभन्दा बढी फिफाले भन्न चाहेको छैन ।
फिफाका अनुसार उसले अहिलेसम्म १ सय ८० टेरेटोरीसँग प्रत्यक्ष प्रसारणलाई लिएर अनुबन्ध गरिसकेको छ । तर भारत र चीनसँगै अन्य केही प्रमुख देशसँग अझै अनुबन्ध हुन बाँकी छ । फिफाले चिनियाँ सेन्ट्रल टेलिभिजन (सीसीटीभी) बाट विश्वकप देखाउन चाहेको छ र उसले सुरुमा राखेको त्यसको मूल्य रहेको छ, ३० करोड डलर । तर अहिले फिफाले त्यो मूल्य घटाएर प्रस्ताव राखेको छ ।
अबको नयाँ मूल्य रहेको छ, १२ करोडदेखि १५ करोड डलर । बेइजिङ डेलीले शुक्रबार यस्तै आशयमा समाचार प्रकाशित गरेको छ । चीन यसपल्टको विश्वकपमा छनोट भएको छैन, त्यसैले चिनियाँ फुटबल समर्थकले यस विश्वकपमा खासै रुचि नराखिरहेको पनि पत्रिकाले जनाएको छ । त्यसैले उसका अनुसार प्रत्यक्ष प्रसारणको समयले पनि धेरैको रुचि नभएको हुन सक्छ ।
उत्तरी अमेरिकामा हुने यसपल्टको विश्वकपका खेल चीनको समयअनुसार मध्यरातमा हुनेछ । यसअघिका विश्वकपको प्रत्यक्ष प्रसारणका लागि फिफा र चीनबीच प्रतियोगिता सुरु हुन धेरै समय अगाडि नै अनुबन्ध भइसक्ने गरेको थियो । सन् २०१८ र २०२२ को विश्वकपको प्रत्यक्ष प्रसारणका लागि फिफाले सीसीटीभीसँग सन् २०१७ को नोभेम्बरमै अनुबन्ध भइसकेको जानकारी दिएको थियो ।
केही चिनियाँ मिडियाले भने अबको केही दिनमा अनुबन्धको घोषणा हुन सक्नेछ । भारतको स्थिति अझ कमजोर रहेको छ र त्यहाँ प्रत्यक्ष प्रसारणबारे वार्ता पनि अहिले नभइरहेको स्थिति भएको बताइएको छ । अफ्रिकाका केही देश इजिप्ट, अल्जेरिया र ट्युनिसियामा फुटबल असाध्यै लोकप्रिय रहे पनि विश्वकपका खेल मध्यरात हुने हुनाले पनि समस्या भएको मानिएको छ ।
नेपालमा हिमालयन स्पोर्ट्सबाट प्रसारण
नेपालमा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण हिमालयन स्पोर्ट्सबाट हुने भएको छ । यस च्यानलको शुक्रबार नै सुरु हुने आधिकारिक घोषणा गरिएको छ । यसले विश्वकप प्रत्यक्ष प्रसारणका लागि १७ लाख ७५ हजार डलरमा अनुबन्ध गरेको कार्यक्रममा बताइएको थियो । अबको विश्वकप जुन ११ देखि जुलाई १९ सम्म हुँदै छ र यसमा कुल ४८ देशको सहभागिता रहेको छ ।
