अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपमा टोमस टचेल, कार्लो एन्सेलोट्टी, माउरिसियो पोचेटिनो, मार्सेलो बिएल्सा र जुलियन नागेल्समनजस्ता चर्चित प्रशिक्षकहरू सहभागी हुँदै छन्।
What you should know
लन्डन — एउटा प्रवृति छ, ठूला प्रशिक्षकहरूलाई विश्वकप फुटबलले लोभ्याउन सकेको छैन । ठूला नाम जति क्लब फुटबलमै बढी आकर्षित हुन्छन् । यो क्रमलाई धेरै हदसम्म यसपल्टको फिफा विश्वकपले भंग गरेको छ । अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपमा प्रशिक्षकका रूपमा देखिने ठूला पाँच नाम यस्ता छन् :
थोमस टचेल (इंग्ल्यान्ड)
अहिले इंग्लिस टिमका प्रशिक्षक रहेका टचेलले यसअघि बायर्न म्युनिख, चेल्सी र पेरिस सेन्ट जर्मेन (पीएसजी) जस्ता ठूला क्लब हेरिसकेका छन् । सन् १९६६ यता इंग्ल्यान्डले कुनै ठूलो प्रतियोगिता जितेको छैन । त्यसैले इंग्ल्यान्डले उनलाई भित्र्याएको हो । यसअघिका प्रशिक्षक गारेथ साउथगेटको नेतृत्वमा इंग्ल्यान्ड दुईपल्ट युरोको फाइनल पुगेको थियो ।
इंग्ल्यान्डले विश्वकपमा एकपल्ट क्वाटरफाइनल र एकपल्ट सेमिफाइनल पनि खेलेको थियो । तर, ठूला प्रतियोगितामा उनले जसरी टिमको व्यवस्थापन गरेका छन्, त्यसमा धेरैको विमति छ । चेल्सीका लागि युरोपेली च्याम्पियन्स लिग जितेका टचेलको क्लब सीभी निकै बलियो छ भन्दा हुन्छ ।
कार्लो एन्सेलोट्टी (ब्राजिल)
विश्वकपमा ब्राजिलले एउटा महसुस गरेको तथ्य हो, प्रतियोगिताको अन्तिम चरण पुग्दा युरोपेली प्रतिद्वन्द्वीसामु उसलाई गाह्रो भएको छ । अहिले ब्राजिल २४ वर्षयता पहिलो पटक विश्वकप जित्ने अभियानमा छ । यसका लागि ब्राजिलले साथ लिन खोजेको छ, अनुभवी कार्लो एन्सेलोट्टी ।
यी प्रशिक्षक युरोपेली च्याम्पियन्स लिगका सबैभन्दा सफल प्रशिक्षक हुन्, उनले पाँचपल्ट यो प्रतियोगिता जितेका छन् । अझ उनको सबैभन्दा ठूलो विशेषता भन्नु नै नटआउट चरणमा आफ्नो टिमलाई सफलतापूर्वक पार लगाउनु हो । उनी रियल म्याड्रिडमै छँदा ब्राजिलका भिनिसियस जुनियरले सबैभन्दा राम्रो प्रदर्शन गरेका थिए । ब्राजिलका लागि फेरि एकपल्ट एन्सेलोट्टीको नेतृत्वमा जुनियरले राम्रो खेल्नुपर्नेछ ।
माउरिसियो पोचेटिनो (अमेरिका)
पोचेटिनोसँग पछिल्लो दुई वर्षको माथिल्लो स्तरको प्रतियोगिताको अनुभव छैन भन्दा पनि हुन्छ । यसबीच उनी अमेरिकातिर गएका थिए । त्यहाँ गएयता स्थानीय पत्रकारसँग उनको समय–समयमा झगडा पनि हुने गर्थ्यो । यी अर्जेन्टिनी प्रशिक्षकको नेतृत्वमा अमेरिका आफैंले राम्रो खेल्न सकेको छैन ।
पछिल्ला गोल्डकप र कन्काकाफ प्रतियोगितामा पनि उनी आएयता प्रदर्शन राम्रो रहेन । यसक्रममा अमेरिका आफ्नै घरेलु मैदानमा पानामा, मेक्सिको र क्यानडासँग पराजित भएको थियो । तर, पछि उरुग्वे र जापानविरुद्ध प्राप्त जितले ती हारलाई धेरै हदसम्म छोपेको छ । उनले युरोपका क्लबमध्ये साउथह्याम्पटन, टोटनहम र पेरिस सेन्ट जर्मेन (पीएसजी) सम्हालेका छन् ।
मार्सेलो बिएल्सा (उरुग्वे)
धेरै प्रशिक्षकका लागि यी बिएल्सा स्रोत व्यक्ति हुन् । आधुनिक फुटबलबारे बुझ्न उनीसँग सल्लाह लिनेमा पोचेटिनोदेखि पेप ग्वार्डिओला पनि पर्छन् । अनुभवी बिएल्सासामु पनि विश्वकपमा राम्रो प्रदर्शन गर्ने अन्तिम मौका छ भन्दा हुन्छ । उनी तेस्रो देशको प्रतिनिधित्व गरेर विश्वकपमा सहभागी हुँदै छन् ।
ब्राजिल र अर्जेन्टिनाविरुद्धको दक्षिण अमेरिकी छनोटमा उरुग्वे विजयी रहेपछि टिम उत्तिकै उत्साही छ । तर टिम एक प्रकारले विवादमा छ, खेलाडीसँग उनको मतभेद सुरु भइसकेको छ र यो खासमा उनको प्रशिक्षक जीवनको विशेषता पनि हो । लुइस स्वारेजले त अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने क्रममा उनको चर्को आलोचना गरेका थिए ।
जुलियन नागेल्समन (जर्मनी)
दुई वर्षअगाडि जर्मनीले युरो खेल्दा स्पेनको हातबाट पराजित भएर क्वाटरफाइनलमै रोकिएको थियो । जसले गर्दा नागेल्समन जर्मनीका लागि ठूलो सफलता चुम्न असफल रहे । अबको विश्वकप सम्भवतः जर्मनीबाट उनको अन्तिम हुनसक्छ, किनभने उनी अबदेखि क्लब फुटबलमा प्रवेश गर्न सक्छन् ।
उनी भर्खर ३८ वर्षका भए, त्यसैले उनको प्रशिक्षक जीवनमा अरू बेला पनि धेरै अवसर आउने छन् । सन् २०१८–०२४ बीच जर्मनीले कुनै पनि नकआउट चरणको खेल जित्न सकेको थिएन । त्यही स्थितिमा यी बायर्न म्युनिख प्रशिक्षकले जर्मनी टिमको अभिमान फर्काएका थिए । जर्मनी पछिल्ला विश्वकपमा लिग चरणबाटै बाहिरिएको स्थितिमा उनीसामु ठूलो चुनौती पनि छ ।
