मेक्सिकोले आइतबार ४० वर्षे ओचोआलाई समेट्दै विश्वकप खेल्ने अन्तिम टोली घोषणा गरेको छ । उनी हाल साइप्रसको टोली एईएल लिमासोलबाट खेल्छन् ।
What you should know
म्याड्रिड — मेक्सिकोका स्टार गुइलेर्मो ओचोआ ६ विश्वकप फुटबल खेल्ने पहिलो गोलरक्षक बन्ने भएका छन् । मेक्सिकोले आइतबार ४० वर्षे ओचोआलाई समेट्दै विश्वकप खेल्ने अन्तिम टोली घोषणा गरेको छ । उनी हाल साइप्रसको टोली एईएल लिमासोलबाट खेल्छन् ।
सुपरस्टारद्वय पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनेल मेसी पनि छैटौं पटक विश्वकप फुटबलमा सहभागिता जनाइरहेका छन् । मेसीको कप्तानीमा चार वर्षअघि अर्जेन्टिनाले कतारमा तेस्रो पटक विश्वकप उपाधि जितेको थियो ।
रोनाल्डो र मेसीले स्वतः पहिलो रोजाइमा खेल्ने निश्चित जस्तै छ भने ओचोआले हालैका वर्षमा गरेको प्रदर्शनका आधारमा उनी मेक्सिकोका नम्बर एक गोलरक्षक नहुन सक्छन् । टोलीमा भए पनि उनले खेल्ने सम्भावना कम रहेको छ । ओचोआले २००६ मा जर्मनीमा आफ्नो पहिलो विश्वकप खेलेका थिए ।
मेक्सिकोले इंग्लिस प्रिमियर लिगमा फुलहमका लागि खेलिरहेका राउल जिमिनेज र एसी मिलानका सान्टियागो गिमेनेजलाई समेट्दै घरेलु मैदानमा हुने विश्वकप खेल्ने टोली घोषणा गरेको हो । मेक्सिकोसहित अमेरिका र क्यानडामा जुन–जुलाईमा संयुक्त विश्वकप आयोजना हुँदै छ ।
टोलीमा समावेश दुई खेलाडीमा स्पेनमा जन्मिएका अल्भारो फिडाल्गो र कोलम्बियामा जन्मेका फरवार्ड जुलियन क्विनोनेज मेक्सिकोका स्थानीय खेलाडी बनेयता उनीहरू प्रशिक्षक हाभियर अगुइरेको टोलीमा प्रमुख खेलाडी बन्दै आएका छन् । १७ वर्षे एट्याकिङ मिडफिल्डर गिल्बर्टो मोरा विश्वकप खेल्ने मेक्सिकोका सबैभन्दा कान्छा खेलाडी बन्ने दाउमा छन् ।
मेक्सिकोका प्रशिक्षकको रूपमा ६७ वर्षे अगुइरेको यो तेस्रो विश्वकप हो । यसअघि २००२ र २०१० को विश्वकपमा पनि उनी मेक्सिकोका प्रशिक्षक थिए । दुवै अवसरमा मेक्सिको समूह चरणबाटै बाहिरिएको थियो । तर यसअघि पनि १९७० र १९८६ मा आयोजक हुँदा जस्तै यसपटक कम्तीमा क्वाटरफाइनल पुग्ने लक्ष्य मेक्सिकोले बनाएको छ ।
मेक्सिकोले जुन ११ मा मेक्सिको सिटीमा दक्षिण अफ्रिकासँग खेलेर विश्वकपको सुरू गर्नेछ । त्यसपछि टोलीले दक्षिण कोरियासँग जुन १८ र चेक गणतन्त्रसँग जुन २४ मा खेल्नेछ ।
