इरानी सरकारी सञ्चार माध्यमका अनुसार इरानी फुटबल संघ प्रमुख, उपप्रमुख र मिडिया डिरेक्टरलगायतका स्टाफलाई अमेरिकाले प्रवेश अनुमति दिएको छैन ।
What you should know
काठमाडौँ — अमेरिकाले विश्वकप खेल्ने खेलाडीहरूलाई भिसा दिए पनि टोलीका महत्त्वपूर्ण सदस्यहरूलाई भने नदिएको इरानले आरोप लगाएको छ । अमेरिकाले इरानी खेलाडीलाई भिसा जारी गरेको केही घण्टापछि इरानले सपोर्ट स्टाफहरूलाई प्रवेश अनुमति नदिएको आरोप लगाएको हो ।
अमेरिकी अधिकारीहरूले भने सबै खेलाडी र 'आवश्यक सपोर्ट स्टाफ' हरूलाई भिसा जारी गरेको जनाएका छन् । इरानले जुन १६ मा लस एन्जलसमा समूह चरणको पहिलो खेलका रूपमा न्युजिल्यान्डको सामना गर्दैछ । अमेरिकी अधिकारीहरू भने कुनै पनि बहानामा इरानलाई आफ्नो भूमिमा 'आतंकवादी' छिर्न नदिने बताएका छन् ।
टर्कीस्थित इरानी राजदूतावासले भने टोलीका व्यवस्थापकीय र कार्यकारी जिम्मेवारीमा रहेका धेरै सदस्यलाई भिसा नदिएर अमेरिकाले राजनीतिक पूर्वाग्रह देखाएको आरोप लगाएको छ । इरानी सरकारी सञ्चार माध्यमका अनुसार इरानी फुटबल संघ प्रमुख, उपप्रमुख र मिडिया डिरेक्टरलगायतका स्टाफलाई अमेरिकाले प्रवेश अनुमति दिएको छैन । इरानी टोली शनिबार नै मेक्सिको प्रस्थान गरिसकेको छ ।
मेक्सिकोका लागि इरानी राजदूतका अनुसार इरानी टोलीले खेल हुने दिनमै अमेरिकामा प्रवेश गर्नुपर्ने र खेलपछि सोही दिन अमेरिका छाड्नुपर्ने भिसा सर्त राखिएको छ । इरानी अधिकारीले फिफाले यसबारेमा हस्तक्षेप गर्नुपर्ने पनि बताएका छन् ।
जुन १२ देखि सुरू हुने विश्वकप-२०२६ अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन् । अमेरिकासँग द्वन्द्व सुरू हुनुपूर्व नै मार्च २०२५ मा इरान विश्वकपमा छनोट भएको थियो । प्रतियोगिताको इतिहासमै पहिलो पटक आयोजक राष्ट्रले आफू युद्धमा रहेको देशको टोलीलाई आतिथ्यता दिँदैछ ।
मेको अन्त्यतिर इरानले आफ्नो प्रशिक्षण शिविर अमेरिकाको एरिजोनास्थित टक्सनबाट सारेर मेक्सिकोको टिजुआनामा लगेको थियो ।
इरानी राष्ट्रिय टिमले सन् १९७८ मा अर्जेन्टिनाबाट आफ्नो विश्वकप यात्रा सुरू गरेको थियो । डेब्यूपछि उसले सन् १९९८, २००६, २०१४, २०१८ र २०२२ को विश्वकप खेलिसकेको छ । महादेशीयस्तरमा तीन पटक एसियन कप च्याम्पियन इरान फिफा विश्वकपमा भने समूह चरणमै सीमित हुँदै आएको छ । सन् २०२६ को विश्वकपका लागि इरानको छनोट यात्रा प्रभावशाली रह्यो ।
दोस्रो चरणमा हङकङ र तुर्कमेनिस्तानलाई हराउँदै अघि बढेको इरानले तेस्रो चरणको निर्णायक खेलमा २५ मार्च २०२५ मा उज्बेकिस्तानसँग २-२ को बराबरी खेल्दै आफ्नो स्थान सुरक्षित गरेको हो ।
-एजेन्सीहरूको सहयोगमा
