सन् २०२२ को कतार विश्वकपमा छनोट हुन नसकेको पीडालाई शक्तिमा बदल्दै कोलम्बिया फेरि एक पटक विश्वमञ्चमा आफ्नो जादु देखाउन तयार छ ।
What you should know
काठमाडौं — फिफा विश्वकप-०२६ सुरू हुन ३ दिनमात्र बाँकी छ । विश्वका करोडौं फुटबल फ्यानहरू विश्वकपको उद्घाटन अवसरको व्यग्र प्रतिक्षा गरिरहेका छन् । उनीहरू विश्वकपमा सहभागी हरेक खेलाडी, टोली र उनीहरूका रणनीति कस्तो होला भनेर मिहिन रुपमा विश्लेषण गर्दै पुलकित भइरहेका छन् ।
कतिपय फ्यान अघिल्लो विश्वकपमा खेल्न नपाएका कुन कुन देश यसपटक खेल्दैछन् ? कुन कुन देश बाहिरिए ? कस्ता नयाँ अनुहार थपिए ? भनेर चर्चा गरिरहेका छन् । यस्तै चर्चामा रहेको मध्ये एक टिम हो दक्षिण अमेरिकी टोली कोलम्बिया । सन् २०२२ को कतार विश्वकपमा छनोट हुन नसक्दा पीडामा रहेका आफ्ना फ्यानलाई कोलम्बियाले ब्याजसहित खुसी दिने लक्ष्यसहित मैदानमा उत्रिँदै छ ।
यस पटक दक्षिण अमेरिकी टोली कोलम्बियालाई 'डार्क हर्स' का रुपमा हेरिएको छ । कतार विश्वकपमा छनोट हुन नसकेको पीडालाई शक्तिमा बदल्दै 'लस क्याफेतेरोस' फेरि एक पटक विश्व मञ्चमा आफ्नो जादु देखाउन तयार छन् ।
कोलम्बियाको विश्वकप यात्रा गौरवपूर्ण क्षणहरूले भरिएको छ, जसको सुरुवात भएको थियो- सन् १९६२ को चिली विश्वकपबाट । त्यतिबेला मार्कोस कोलले सोभियत संघका लेजेन्ड गोलकिपर लेभ याशिनविरुद्ध कर्नरबाट सिधै गोल गर्दै 'ओलम्पिक गोल'को विश्व कीर्तिमान रचेका थिए ।
सन् १९९० मा पश्चिम जर्मनीविरुद्ध फ्रेडी रिन्कोनले इन्जुरी समयमा गरेको बराबरी गोल र सन् १९९३ को छनोटमा अर्जेन्टिनालाई ५-० ले पराजित गरेको क्षण कोलम्बियाली फुटबलको स्वर्णिम इतिहास हो । यद्यपि, सन् १९९४ को विश्वकपपछि एन्ड्रेस एस्कोबारको हत्याले कोलम्बियाली फुटबलमा एउटा कहिल्यै निको नहुने घाउ पनि छाडेको छ ।
कोलम्बियाको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन सन् २०१४ को ब्राजिल विश्वकपमा रह्यो । कप्तान जेम्स रोड्रिग्वेजको ६ गोलको मद्दतले टोली पहिलो पटक क्वार्टरफाइनलसम्म पुग्न सफल भएको थियो । उक्त प्रतियोगितामा जेम्सले उरुग्वेविरुद्ध गरेको उत्कृष्ट 'भली गोल'ले फिफा पुस्कास अवार्डसमेत जितेको थियो ।
सन् २०१८ को रुस विश्वकपमा पनि टोलीले अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो । तर, इंग्ल्यान्डसँग पेनाल्टी सुटआउटमा पराजित बन्न पुग्यो । सन् २०२२ मा छनोट हुन नसक्नु टोलीका लागि ठूलो धक्का थियो, जसलाई २०२६ मा उनीहरू सुधार्न चाहन्छन् । सन् २०२६ को विश्वकपका लागि कोलम्बियाको छनोट यात्रा निकै प्रभावशाली रहेको छ । प्रशिक्षक नेस्टर लोरेन्जोको नेतृत्वमा टोलीले १८ खेलमा ७ जित, ७ बराबरी र ४ हारको नतिजा निकाल्दै २८ अंकका साथ दक्षिण अमेरिकी छनोट तालिकाको तेस्रो स्थान हासिल गर्यो ।
कोलम्बियाले ब्राजिल, पाराग्वे र उरुग्वेजस्ता बलिया टोलीहरूलाई पछि पार्दै सेप्टेम्बर २०२५ मै बोलिभियाविरुद्धको जितसँगै आफ्नो स्थान सुरक्षित गरेको थियो । १८ खेलमा २८ गोल गर्दै टोलीले पुरानो आक्रामक लय फेरि प्राप्त गरेको छ ।
यस पटकको विश्वकपमा कोलम्बियाका मुख्य हतियार लुइस डियाज हुन् । बायर्न म्युनिखका यी विंगरले छनोट चरणमा ७ गोल गर्दै आफ्नो क्षमता साबित गरिसकेका छन् । उनको गति र ड्रिब्लिङ कौशल विपक्षी डिफेन्डरहरूका लागि टाउको दुखाइ बन्ने निश्चित छ ।
उनीसँगै १२५ भन्दा बढी क्याप जितिसकेका अनुभवी कप्तान जेम्स रोड्रिग्वेज टोलीको मेरुदण्डका रूपमा रहनेछन् । डिफेन्समा डेभिन्सन सान्चेज र गोलकिपिङमा कीर्तिमान १३० क्याप पुर्याएका डेभिड ओस्पिनाको अनुभव टोलीका लागि महत्त्वपूर्ण हुनेछ ।
प्रशिक्षक लोरेन्जोले टोलीलाई ४-२-३-१ को फर्मेसनमा खेलाउने गरेका छन्, जसले मिडफिल्ड नियन्त्रण र द्रुत काउन्टर अट्याकमा जोड दिन्छ । फिफा विश्वकप २०२६ मा कोलम्बिया समूह 'के' मा छ । यस समूहमा पोर्चुगल, उज्बेकिस्तान र कङ्गोजस्ता टोली छन् ।
कोलम्बियाले विश्वकपमा पहिलो खेल १८ जुनमा उज्बेकिस्तानविरुद्ध मेक्सिको सिटी स्टेडियममा खेल्नेछ । आफ्नो दोस्रो खेलमा उसले २४ जुनमा कङ्गोविरुद्ध खेल्नेछ । कोलम्बियाले आफ्नो समूह चरणको अन्तिम खेलमा पोर्चुगलको सामना गर्नेछ ।
पछिल्लो विश्वकपमा छनोट हुन नसकेको कोलम्बिया यस पटक क्वार्टरफाइनलको इतिहासलाई तोड्दै सेमिफाइनल वा त्यसभन्दा माथि पुग्ने दाउमा छ । नेस्टर लोरेन्जोको रणननीति र लुइस डियाजको आक्रामक शैलीले कोलोम्बियालाई यो विश्वकपको 'डार्क हर्स'को रूपमा उभ्याएको छ ।
