अर्टनलाई आफ्नो देशमा प्रवेश गर्न रोक्नुको कारण दिँदै अमेरिकी स्टेट डिपार्टमेन्टका एक अधिकारीले एएफपीसँग ‘आतंकवादी संगठनका शंकास्पद सदस्यसँग सम्बन्धित’ रहेको कारण अमेरिका छिर्न अयोग्य रहेको जनाएका थिए । त्यसपछि फिफाले उनी विश्वकपबाट बाहिरिएको जनाएको थियो ।
What you should know
पेरिस — अमेरिकामा प्रवेश गर्न नदिइएपछि विश्वकप फुटबल खेलाउन वञ्चित सोमालियाका रेफ्री ओमार अर्टनले यूईएफए सुपर कप खेलाउने भएका छन् । युरोपेली फुटबलको सर्वोच्च संस्था (यूईएफए) ले बिहीबार यस्तो घोषणा गरेको हो । मायामी एयरपोर्ट पुगेपछि उनलाई अध्यागमनले अमेरिका छिर्न दिएको थिएन ।
युरोपेली च्याम्पियन्स लिग विजेता फ्रान्सको पेरिस सेन्ट जर्मेन र युरोपा लिग विजेता एस्टन भिल्लाबीच अस्ट्रियाको साल्जबर्गमा यूईएफए सुपर कप आयोजना हुँदै छ । त्यसमा सोमाली रेफ्री अर्टनलाई निर्णायकको भूमिका दिइएको यूईएफएले जनाएको हो ।
यूईएफएका अध्यक्ष एलेक्सान्डर सेफेरिनले विश्वकप सुरु हुनु ठीकअघि सोमाली रेफ्री अर्टनको प्रशंसा गर्दै जिम्मेवारी तोकेका हुन् । ‘ओमार अर्टन उत्कृष्ट युवा हुन्, तर उनी अनुभवी रेफ्री छन्, जसले अफ्रिकी फुटबलको उच्च प्रतियोगिता काफमा आफूलाई प्रमाणित गरिसकेका छन्,’ सेफेरिनले भनेका छन्, ‘फुटबल मानिसहरूलाई जोड्न बनाइएको हो, यूईएफए ओमार र उनको असाधारण स्किलको सम्मान गर्दछ, जसले उनलाई यति प्रतिष्ठित स्थितिमा ल्याएको छ ।’
अर्टनको विषयसहित धेरै घटनाले फिफा विश्वकपलाई विवादिन बनाएको छ । आर्टनको नियुक्ति यूईएफए र अफ्रिकी फुटबल संघ (काफ) बीचको सहकार्यलाई प्रोत्साहन गर्ने सम्झौताको मापन भएको यूईएफएले जनाएको छ । ‘यूईएफए र काफ फुटबललाई हरेक स्तरमा विकास गर्ने तथा एकता, समानता र भेद्भावरहित मूल्य मान्यतालाई बढावा दिने साझा प्रतिबद्धताबाट जोडिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
आर्टनले सोमालिया र अफ्रिकन महादेशका मानिसलाई निकै गर्व महसुस गराएको काफ अध्यक्ष प्याट्रिस मोट्सेपेले जनाए । मोट्सेपेले भने, ‘उनले २०२५ मा काफ पुरुष वर्षको उत्कृष्ट रेफ्री अवार्ड पाएका थिए, विश्वकपमा उनको मनोनयन विश्वस्तरीय रेफ्री क्षमता र अन्तर्राष्ट्रिय सम्मानको प्रमाण हो ।’
अर्टनलाई आफ्नो देशमा प्रवेश गर्न रोक्नुको कारण दिँदै अमेरिकी स्टेट डिपार्टमेन्टका एक अधिकारीले एएफपीसँग ‘आतंकवादी संगठनका शंकास्पद सदस्यसँग सम्बन्धित’ रहेको कारण अमेरिका छिर्न अयोग्य रहेको जनाएका थिए । त्यसपछि फिफाले उनी विश्वकपबाट बाहिरिएको जनाएको थियो ।
उनी विश्वकप खेलाउन छानिएका ५२ रेफ्रीमध्ये एक थिए । मायामीबाट फर्काइएपछि बुधबार उनलाई मोगादिसुमा उनलाई नायकको रूपमा स्वागत गरिएको थियो । उनले अबको लक्ष्य २०३० को विश्वकप खेलाउनु रहेको जनाएका छन् ।
